सोमबार, पुष ३ २०७४ | Mon, December 18, 2017
नेपालको समय: १८:१७ | Washington DC: 07:32

भगौडाहरुले धानिएको मुलुक नेपालमा अव थप भगौडा कोही बन्न नपर्ने अवस्था आउन सकोस् – प्रकाश श्रेष्ठ

 

मानिस गतिशिल प्राणी हो र उ एक ठाउँमा स्थायीरुपमा बसिरहन सक्दैन । यसैले होला विगतलाई निहालेर हेर्ने हो भने पनि मानिसहरु विश्वको एक कुनाबाट अर्को कुनामा बसाई सर्दै सर्दै आएका छन् । अझै अमेरिकाको ईतिहास हेर्ने हो भने त यो मुलुक निकै पछि कोलम्बसले पत्ता लगाए त्यो पनि भुलवस एकातिर जाने भनेर हिडेको बाटो बिराएर अर्को तिर पुग्दा

अमेरिका भेटियो भन्ने हामीले स्कुलमा पढ्ने क्रममा ईतिहास बिषयमै पढेको कुरा हो । यसको अर्थ मानिसको विकासक्रम र सभ्यताको विकासलाई अध्ययन गर्दा संसारको एक कुनाबाट बसाई सर्दा सर्दै घुमन्ते युगबाट क्रमश: ढुंगे युग(जंगलमा बसोबास गर्ने पशुपंक्षी सिकार गरेर कन्दमुल खोजेर खाने युग ), पशुपालन युग, कृषि युग हुँदै उद्यमशिलताको युग सम्म आईपुग्न निकै समय लागेको देखिन्छ र कयौपटक विविध कारण विश्वयुद्ध विज्ञान र प्रविधीको विकास सँगै हुँदै आएको पनि हामीलाई थाहाँ छ । कयौ देशले छोटो समयमा आर्थिक विकासमा चरम विकास गरेको त कतिपय अझै पनि पुरानै ढुंगेयुग सरह अति विपन्न अवस्थामा रहेको पाईन्छ । यसमा सबै भन्दा ज़िम्मेवार राजनितिक कारण नै हो भन्दा दुईमत हुन सकिदैन ।

यसो त नेपालको सन्दर्भमा विगतको ईतिहासलाई हेर्दा पृथ्वी नारायण शाहले टुक्रिएको अनेक राज्यलाई जोडेर सिंगो मुलुक नेपाल बनाए तर पछि राणाहरुले १०४ बर्ष सम्म मनोमानी ढंगले राज गरे । यद्दपी राजनैतिक दल( विशेषगरि नेपाली काँग्रेसको ) अथक प्रयासमा २००७ मा राजा सहितको प्रजातन्त्र आएपनि २०१७ सालमा महेन्द्रले पंचायत लागु गरि ३० बर्ष एकछत्र निर्दलिय व्यवस्था चलाए अनि २०४७ मा राजनैतिक परिवर्तन आई संवैधानिक राजतन्त्र आयो तर जनताको समृद्धीलाई खासै महत्व दिईएन जसका फलस्वरुप त्यो समय भन्दा पहिला रोजगारीका लागी सर्वसाधरणहरु खासगरि मुग्लान अर्थात् भारत जानेहरु विस्तारै अन्य मुलुक खासगरि खाडी जाने क्रम बढ्यो र अझै २०५२ देखि संचालित जनयुद्ध पश्चात खाडीमुलुक बाहेक अन्य मुलुक जापान, युरोपियन मुलुक, अमेरिका, क्यानडा जाने चलनले प्राथमिकता पाउन थाल्यो । विशेषत देशमा अशान्तीको अवस्था र चरम बेरोज़गारीबाट मुक्ती पाउन युवाहरु विदेशिने क्रम बढ्यो र सरकारले पनि युवालाई विदेश पठाउन प्रोत्साहन गर्न विभिन्न मुलुक सँग श्रम संझौता गर्ने लगायतको काममा ध्यान दिन थाल्यो ।

विदेशबाट आएको आय/आम्दानी बाट विभिन्न तवरबाट राज्यले विदेशिएका व्यक्तीका परिवारबाट प्रत्यक्ष वा अप्रत्यक्ष कर, शुल्क पाउन थाल्यो जसबाट राजस्वमा वृद्दि आयो जसलाई राज्यले एउटा मुल आयस्रोतको रुपमा विदेश गएका युवाले पठाएको विप्रेषण/रेमिटेन्सलाई लिन थाल्यो । तर त्यस्तो आयलाई विकास निर्माणमा भन्दा पनि कानुनलाई आफु अनुकुल बनाएर र विभिन्न गैरकानुनी तवरबाट अवैध रुपमा धनसम्पत्ती आर्जन गर्ने अर्थात् भ्रष्टचार गर्ने काममा जनप्रतिनिधी र कर्मचारीहरु लागी परे । यस्तै क्रममा २०६२/६३ को जनआन्दोलनले संघिय लोकतान्त्रिक गणतन्त्र आएपनि लामो समय संविधान बनेन र राजनैतिक स्थायित्व नभएका कारण थप युवाहरु विदेशिन बाध्य भए र राज्य झन् रेमिटेन्सकै भरमा बजेट बनाउने र अझै बढि भ्रष्टाचार मौलाउँदा समेत राज्यका भ्रष्टचार नियन्त्रण गर्ने निकाय निकम्पा बनाउने काममै राज्यको जिम्मा लिनेवाला लागे । जनतालाई केवल खेलौनैको रुपमा प्रयोग गरियो विकास र निर्माण अनि उद्योगधन्दा, कलकारखाना स्थापनामा कुनै ध्यान पुगेन केवल सरकार बनाउने र ढाल्ने खेलमै लामो समय व्यतित भयो ।

लामो प्रयासबाट दोस्रो पटकको संविधान सभाको चुनाव पछि २०७२ असोजमा ३ मा नयाँ संविधान जारी भयो कतिपय असहमतिको विचमा पनि । तर दुर्भाग्यनै भन्नु पर्छ संविधान जारी हुनु भन्दा केही महिना पहिला २०७२ बैशाक १२ मा महाभुकम्प गएको थियो जसबाट धेरै धनजनको क्षति भयो । यसले गर्दा पनि थप युवाहरु विदेशिन बाध्य भए । अहिले भर्खरै स्थानिय चुनाव सम्पन्न भएर प्रतिनिधी सभाको र प्रदेशसभाको दोस्रो चरणको चुनाव चलिरहेको छ केही दिनमा दुवै चरणको नतिजाबाट संघिय वा केन्द्रीय सरकार र प्रादेशिक सरकार बन्ने छ । आशा छ यी दुवै संघिय र प्रदेश सरकार ५ बर्ष टिकाउ हुनेगरि बन्ने छन् । यसो भयो भने नयाँ संविधानको कार्यान्वयन उपयुक्त ढंगबाट हुनेछ ।

खासगरि यो स्तम्भकारलाई सधै एउटै प्रश्नले बारम्बार घच्घचाई रहन्छ । नेपालमा बस्ने हाम्रा बुद्धिजीवी मित्रहरु, महानुभावहरुले विदेशिएका हामी जस्ता व्यक्तीहरु जो आफ्नो परिवारको रोजीरोटीको खातिर बाध्यताले( कतिपय रहरले अध्ययन र आकर्षक सुविधा/अवसर पाएर पनि हुन सक्छ ) विदेशीभुमिमा तड्पिएर बसेरहेका छौ तिनीहरुलाई ” भगौडा” हुतिहारा, पलायनवादी भन्दै विभिन्न गालीगलौजमा उत्रेको पाईन्छ । त्यतिबेला सोध्न मन लाग्छ ” के ५० लाख युवा विदेशमा श्रम बेच्न नआएको भए अहिले नेपाल भित्र मान्छेले मान्छे खाने अवस्था राजनैतिक अस्थिरताको अवस्थामा आउने थियो की थिएन, भोकमरिले देश चरम आर्थिक संकटमा पर्ने थियो की थिएन र तिम्रा नेताहरुको यसै ठाउँ ठाउँमा महल ठडिने थियो ? के देशमा बजेट बनाउने आयस्रोत कहाँ बाट जुट्ने थियो ? तसर्थ यस्ता आरोप र शव्दहरु मुखबाट उच्चारण गर्दा एकपटक सोचेर बोल । तिमी हिड्ने सडक, तिम्रा छोराछोरीले पढ्ने स्कुल, स्वास्थ्यचौकी आदी नेताले भ्रष्टचार गर्दा गर्दै पनि केही बचेखुसेको रकमबाट संचालनमा छन् त्यसमा खाडीमा काम गर्नेहरुको रगत र पसिनाको अंश छ । साथै युरोप र अमेरिकामा बस्ने लाखौ पेपरबिहिनले परिवारलाई पठाएको पैसाको केही हिस्साले बनेको छ । तसर्थ आजैबाट बन्द गर यस्ता शव्दहरु र बरु तिम्रा हरेक दलका नेतालाई नैतिकवान बनेर भ्रष्ट नबनी देश विकास गर्न भन, विदेशबाट पठाएको रेमिटेन्सबाट प्राप्त राजस्वलाई सहि सदुपयोग गरि जलविद्युत, कलकारखाना, उद्योगधन्दा खोल्न लगाउ, शिक्षा र स्वास्थ्यमा सर्वसाधरणको पहुँच हुने अवस्था सृजना गर । यत्ति गर्ने साहस गर हामी विदेश बस्नेहरुले तिमीहरुलाई श्रदाका साथ पुजा गर्ने छौ दैनिक विहान उठेर भगवानको नाम संझिदा । अत: विदेशमा जानेलाई सराप्ने हैन आदर गर्न सिक आजै देखि । सबैको जय होस् !

२०७४ मंसिर २१ गते १:४० मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी