काँग्रेसको नेतृत्व विश्वप्रकाश, धनराज वा गगन मा हस्तान्तरण नभए काँग्रेसको अवशान हुनेछ – प्रकाश श्रेष्ठ

इनेप्लिज २०७४ मंसिर २६ गते २२:३८ मा प्रकाशित

काँग्रेस लामो ईतिहास बोकेको पार्टी र जनतालाई रैती बाट मालिक बनाउनु पर्छ भन्ने लडाई २००३ साल देखि लड्दै २००७, २०३६, २०४६, २०६३ का ठुला ठुला आन्दोलनको नेतृत्वदायी भुमिका खेलेको पार्टीमा पछिल्लो समयमा अधिकांश पुराना नेताहरु जनताहरु प्रति ज़िम्मेवार देखिएनन् बरु कसरी हुन्छ आफन्तलाई लाभको पद दिने, ठेक्कापट्टा मिलाएर ठेकेदारबाट मोटो रकम अशुल्ने, कर्मचारी सरुवा/बढुवा गर्दा मोटो भेटी रकम हात पार्ने, सांसद कोषको बजेट कागजीरुपमा फरफारक गराएर मिलाएर खाने जस्ता कार्यमा बढि केन्द्रित रहे ।

यस्तो काममा अन्य दलका नेता पनि अछुतो छैनन् तरपनि सतहमै आएर यसखाले काम गर्ने देखि प्रधानन्याधिशलाई महाअभियोग लगाउने देखि लोकमान कार्की विरुद्ध महाअभियोग लगाउने सन्दर्भमा त्यस्तै भारतको नाकाबन्दी विरुद्धमा पार्टीको गलत निर्णय एवं अस्पष्ट धारणा देखियो । साथै प्रहरी महानिरीक्षक नियुक्ति सन्दर्भ देखि भ्रष्टचारमा मुछिएकालाई संसदिय चुनावमा सहभागी दिने सम्बन्धमा गरिएका जे जति गलत निर्णय प्रकृयामा नेतृत्वबाट गतिशिल निर्णय बाहिर आउन नसक्नु जस्ता कारण अहिलेको नेतृत्व एक किसिमले निकम्पा देखियो ।

अर्को तर्फ हालसालै भएको प्रदेश एवं प्रतिनिधी सभाको चुनावमा समेत टिकट दिने सन्दर्भमा गरिएको भाईबन्धु व्यवहार जसमा आफन्त र आसेपासेलाई नोटको भरमा, चाकडीको भरमा टिकट बाँड्ने जसले निष्ठापूर्ण तवरमा पार्टी र जनहितमा काम गरेको छ तिनीहरुलाई पाखा लगाउने काम भयो जुन अत्यान्त गलत निर्णय थियो । अर्को तर्फ जनता सामु निश्चित कार्ययोजना भन्दा पनि केवल बामगठबन्धनले जिते ” अधिनायकवाद आउँछ, बोल्न पनि पाईदैन ” भन्ने एकोहोरो सुँगा रटाई भाषण सभापति/प्रधानमन्त्री जस्तो व्यक्तीले ठाउँ ठाउँमा भाषण गर्दै हिड्दा जनतामा विश्वास लागेन ।

त्यस्तै सधै जनता पार्टीको दाषी भईरहन्छन् हामीले जुनसुकै गल्ती गरेपनि भोट दिने बेलामा हामीलाई नै दिन्छन् भन्ने गलत पुर्वानुमान र बामगठबन्धनलाई कमजोर गठबंधन हो यिनीहरु वीच आपसमा अन्तरघात हुन्छ भन्ने सोच पनि एकदमै गलत अनुमान रह्यो शेरबहादुर, रामचन्द्र, कृष्ण सिटौला लगायतका नेताहरुको जसको फलस्वरूप बामगठबन्धनले जनता सामु लोकप्रिय नारा लगेर गए र जनताले उनीहरुको आवाज सुने ।

त्यस्तै बर्षौ देखि ” रुख ” मा भोट दिनेहरु पनि नेताहरुको आचरण र बढ्दो विलासिताको जीवन अनि जनता प्रति अनुउत्तरदायी भएको टुलुटुलु हेरेर बस्न सकेनन् । हो उनीहरुलाई थियो काँग्रेसका नेता मात्र भ्रष्ट हैनन् जनयुद्ध लडेका र देशका सच्चा राष्ट्रवादी भनिने कम्युनिस्ट पार्टीहरु, राजावादी एवं तराईवादी दलहरु पनि कम भ्रष्ट छैनन्, उनीहरुको पनि राजधानीमा आलिसान महल त्यसै ठडिएको छैन तापनि उनीहरु मिलाएर खान जान्ने भए तर काँग्रेसी नेताहरु हाँकाहाँकी खाने भए । यी सबै भेद पाएका जनताले एकपटक ५ बर्षका लागी स्थायी सरकार बन्छ र केही मिलाएर बजेट खाएपनि जनतालाई केही न केही त विकास निर्माण देलान् भन्ने भरोसा राखेर सधै ” रुख” मा आँखा चिम्लेर भोट दिनेहरुले पनि बामगठबन्धनलाई भोट दिएकै हुन् यसमा अन्यथा लिनु पर्दैन । यतिभनिरहदा सबै नेता खराव र भ्रष्ट भन्ने अर्थ नलागोस् ।

यद्दपी देश यतिका बर्ष सम्म पछि पर्नुमा भ्रष्ट आचरणका नेताकै कारण हो भनेर भन्न डराउनु पर्ने अवस्था छैन । हिमम्त भए पुर्व सांसद, मन्त्री, प्रधानमन्त्री, उच्च कर्मचारीहरुले स्पष्ट हाम्रो सम्पत्ती छानविन गरि अवैध ठहरिएको राज्यकोषमा संकलन गर भन्ने हिम्मत राख्न सक्छन् ? यसबारे कुनै दलका नेता, कार्यकर्ताबाट कतै आवाज उठेको छ ? छैन किनकी उनीहरु पनि यसैका प्रत्यक्ष वा परोक्षरुपमा सहभागी वा सहकार्यमा लागेका थिए र छन् । अव पनि भ्रष्टचारमा शुन्यसहनशिलताको अवस्था नआउने हो भने ५ बर्षे स्थायी सरकारबाट पनि फलदायी नतिजा जनताले देख्न पाउने छैनन् ।

खासगरि अझै काँग्रेसमा त यस्तो तप्का र तह बन्यो की जसमा व्यक्तीको पछुलग्गु बन्ने र आफ्नो अभिष्ट पुरा गर्ने र हरेक व्यक्ती एउटा एउटा गुटको नजिक रहेर चाकडी गर्ने, गलत काम हुँदै गर्दा पनि मुख “सुपर गुलुले ” बन्द गरेर बस्ने परम्पराको विकास भयो । गलतलाई गलत भन्ने ” धनराज गुरुङ जस्ता ईमान्दार व्यक्तीहरु सधै पाखा लगाउन खोजिए र खोजिदैछ ” । साम, दामको भरमा नेता बनेका बालकृष्ण खाँडहरु अझै कुर्लदै छन् ” नेतृत्व परिवर्तन गर्नु पर्छ भन्ने गगनहरुलाई कार्यवाही गर्नु पर्छ ” संसदलिय दलको नेता समेत शेर बहादुर नै हुन्छन् भन्दै जनतालाई अझै दिग्भ्रमित पार्न खोजी रहेका छन् ।

राजनितीमा नैतिकता भन्ने चिज पनि बाँकी छ भने “भन्दैउ तिम्रा सम्माननिय सभापति महोदयलाई राजनितीबाट सन्यास लिएर काशी गएर बस” किनकी पार्टीले यस्तो लज्जासपद हार खाँदा र चारैतिरबाट काँग्रेस कार्यकर्ताले युवा नेतृत्व परिवर्तनको आवाज बोलिरहदा यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिन मिल्छ ? पार्टी कसैको गोजीबाट चल्छ भने अलग कुरा हो हैन सारा नेपालीको हितको लागी स्थापित र संचालित पार्टी हो भने जनताको आवाज र म्यान्डेटलाई स्विकार्नु पर्छ । छिमेकी देश भारतमा झै युवालाई नेतृत्व दिने साहस अहिलेका पहिलो वा बुढा पुस्ताका नेताहरु सामान्य पदमा रहेर काम गर्नु पर्छ । हैन भने भिरबाट लड्न लागेको गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन ।

त्यस्तैगरि बिपीले परिकल्पना गरेको समाजवाद स्थापना गर्ने र जनहितमा काम गर्ने नेतृत्वलाई ज़िम्मेवारी दिने भए अहिलेका चर्चित युवाहरु विश्व प्रकाश शर्मा, धनराज गुरुङ, गगन थापा मध्ये एकलाई काँग्रेसको पार्टी सभापति बनाएर नेपाली काँग्रेस आगामी दिनको लागी स्पस्ट भिजन बनाएर गाउँ तह देखि संगठन सुदृढ पारेर लाग्नु पर्छ । यसमा ढिलाई भएमा अर्को ५ बर्ष पछिको चुनावमा काँग्रेस राष्ट्रीय पार्टी नहोला की भन्ने पनि चिन्ता छ तसर्थ यसबारे खासगरी युवा नेताहरु र भातृसंगठनहरुको पहलकदमी अत्यान्त आवस्यक छ जसलाई जति सक्यो छिटो विशेष महाधिवेशन मार्फत नेतृत्व युवामा हस्तान्तरण गर्नु जरुरी छ । अव युवालाई कम आकलन गर्ने प्रवृती काँग्रेसबाट विस्थापित हुनु आजको आवस्यकता हो । अव पुरानो टेक्नोलोजी, रणनिती, कार्यनीति, कार्यशैली र विचारबाट न पार्टी अगाडी बढ्छ न त देशले नै विकासको गति लिनसक्छ ।

प्रतिक्रिया