नागरिक सहभागिताबाटै दिगो विकास सम्भवः प्रमुख शाक्य

इनेप्लिज २०७४ मंसिर २९ गते १३:०८ मा प्रकाशित

काठमाडौँ,  मङ्सिर २९ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नागरिकको सहभागिताले मात्र दिगो विकास सम्भव हुने बताउनुभएको छ ।

तेइसौँँ महानगर दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नागरिकको सहभागितामा मात्र अपेक्षा अनुरुप विकास गर्न सकिने भएकाले उनीहरूको प्रत्यक्ष सहभागिताको आवश्यकता औँल्याउनुभएको हो ।

महानगरको संवृद्धिमा महानगरवासीलाई अपनत्व बोध गर्न आग्रह गर्दै महानगर प्रमुख शाक्यले प्राप्त उपलब्धिको रक्षा गर्न र महानगरसँगै उपत्यकालाई नयाँ स्वरुप दिन आफू लागिपर्नेमा जोड दिनुभयो ।

कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले एकिकृत विकासको अवधारणका साथ अघि बढ्न सकेमात्र दिगो विकासले गति लिने धारणा व्यक्त गर्नुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले हाल शहरी व्यवस्थापनमा देखिएका चुनौतीको सामना गर्न नयाँ आयामका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट करदातामा संस्थागततर्फ हिमालय बैँक र व्यक्तिगततर्फ वडा नंं २ की सुशीलादेवी बस्नेतलाई सम्मान गरिएको थियो ।
यसैगरी महानगरमा बीस वर्षभन्दा बढी सेवा गर्नुभएका अम्बिका खड्का, सुनमाया पौडेल, जयन्ती श्रेष्ठ, रामलाल देउला र नरबहादुर साउदलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।
कार्यक्रम शुरु हुनुअघि नागरिकलाई सहरी व्यवस्थापनमा साझेदार बन्न आह्वान सहित वसन्तपुरदेखि इन्द्रचोक, असन, रानीपोखरी हुँदै राष्ट्रिय सभागृहसम्म ¥याली निकालिएको थियो ।

प्रतिक्रिया