विद्यालयलाई सुशासनमुखी बनाउन ‘बायोमेट्रिक’ हाजिरी सुरु

इनेप्लिज २०७४ पुष २ गते १३:५३ मा प्रकाशित

कालीकोट, पुस २ । जिल्लाको रास्कोट नगरपालिकाको कालासिल्ला माविमा ‘बायोमेट्रिक’ हाजिरी प्रणाली सुरु भएको छ ।

रास्कोट नगरपालिका–६ मा रहेको कालासिल्ला मावि गोर्खालीगाउँमा एक कार्यक्रमबीच ‘बायोमेट्रिक’ हाजिरी प्रणालीको सुरुवात गरिएको हो ।

रास्कोट नगरपालिकाका उपप्रमुख मिमकोशा शाहीले बायोमेटिक हाजिरीको उद्घाटन गर्दै विद्यालयमा हुने समयको लापरबाहीको अन्त्य भएर सुशासनमुखी बनाउनका लागि ‘बायोमेट्रिक’ हाजिरी जरुरी रहेको बताए ।

उनले जिल्लाको रास्कोट नगरपालिकाले सबैभन्दा पहिले ‘बायोमेट्रिक’ हाजिरीको सुरुवात गरेकामा धन्यवाद दिँदै नगरका सबै विद्यालयमा बायोमेटिक हाजिरी सुरुवात गर्ने बताए ।

सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष धर्मराज शाहीले आफूले विद्यालयको प्रगतिका लागि विभिन्न क्षेत्रको सहयोगका कारण विद्यालयको प्रगति भएको बताउँदै आगामी दिनमा विद्यालयको स्तरोन्नतिका लागि आफू लागि पर्ने बताएका छन ।

जिल्लाको सबैभन्दा पछि स्थापना भएको कालासिल्ला मावि पाँच वर्षदेखि माध्यमिक तहसम्म निजी स्रोतमा सन्चालन गर्दै आएको छ । स्थानीयवासीले प्रत्येक घरबाट दुई हजार रकम संकलन गरेको विद्यालयमा पहिलोपटक ‘बायोमेट्रिक’ हाजिरी सुरुवात भएकामा विद्यालयका प्रधानाध्यापक सन्तराज शाहीले सबै अभिभावकको सहयोग र समुदाय प्रतिको चासोका कारण आफूहरुले नयाँ प्रविधिअनुसारको विद्यालयलाई अघि बढाउन खोजेको बताए ।

प्रधानाध्यापक शाहीका अनुसार प्राथमिक तहमा प्रोजेक्टरमार्फत अध्ययन गराउनका लागिसमेत सुरुवात गर्ने बताएका छन् ।

सान्नित्रिवेणी गाउँपालिकामा पनि ‘बायोमेट्रिक’ हाजिरीको सुरुवात गर्ने बताइएको छ । रासस

प्रतिक्रिया