सपथग्रहण कार्यक्रममा आउँछु, प्रहरीले समात्यो भने उत्पन्न परिस्थितीका बारेमा सरकार पहिल्यै गम्भीर होस् : रेशम चौधरी

इनेप्लिज २०७४ पुष ३ गते ०:३८ मा प्रकाशित

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका हुन् । चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । अहिले चुनाव जितेपछि पनि चौधरीले कानुनी अड्चनका कारण प्रमाणपत्र लिन सकेका छैनन् । उनै चौधरीसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई कुन ठाउँमा लुकेर बस्नुभएको छ ?

म लुकेर बसेको छैन । म खुला आकाशमै छु ।

तपाईले भनेर हुन्छ ? जनताले पत्याउँदैनन् ।

लुकेर बसेको कुरा भन्नुपर्छ ? हिजोका दिनमा विपिले भनेका थिए ? अहिलेका सबै ठूला नेता कुनै बला फरार अभियुक्त होइन ? म पनि भोलीका दिनमा देशको नेता हुँ ।

तपाई सरकारको नजरमा फरार अभियुक्त हो । यो कुरा तपाई मान्न तयार हुनुहुन्छ ?

कानुनी रुपमा म फारर अभियुक्त हुँ । आरोपित व्यक्ति होला । तर म कानुनी रुपमा अपराधी होइन ।

तपाईलाई कैलाली १ का जनताले जिताए । तर जनताको माझमा जान सक्नुभएन नि ? चुनाव जितेर पनि प्रमाणपत्र लिन पाउनुभएको छैन ।
सारा जनताले र संचारमाध्यमले मलाई विजयी घोषणा गरिसकेका छन् । निर्वाचन आयोगले नै विजयी घोषणा गरिसक्यो ।

कैलालीमा भएको प्रहरी हत्याको योजनाकार तपाई हो ?

त्यस घटनाको मूख्य योजनाकार म हो कि होइन भन्ने कुरा मेराविरुद्ध मुद्दा हाल्नेलाई सोध्नुस् । छानविनको प्रतिवेदनले मलाई दोषी देखाएको छैन । स्थानीय ठाउँमा आएर बुझ्नुस् । जथाभावी आरोप लगाएर हुन्छ ? म जनताको माझमा गएर हजारौँ पटक चुनाव जित्न सक्छु ।

चुनाव जितेर मात्रै भएन नि । संसदीय व्यवस्थामा आउन सक्नुप¥यो नि ?

जनताले मलाई रमाइलो गर्नका लागि चुनाव जिताएका होइनन् । म नियम अनुसार सिंहदरबारमा हुने सपथग्रहण कार्यक्रममा आउँछु । राज्यले कानुनबमोजिम कारबाही गर्ला । मैले स्विकारेकै छु नि । म काठमाण्डौ आउँछु । संसदमा जान्छु ।

तपाईलाई सरकारले समात्यो भने के हुन्छ ? भन्नुस् ।

समात्यो भने त्यहीबेला थाहा हुन्छ । मेरो समर्थनमा देशभरीबाट उठ्छन् कि संसारभरीबाट उठ्छन्, त्यसबेलाको परिस्थितीको बारेमा पनि गम्भीर हुनुप¥यो नि । मलाई समातेर अन्याय गर्न यति सहज छैन । २१औँ शताब्दीमा दमन गर्न पाइदैन । राज्यले निकास गर्नुपर्छ । मैले त अहिलेसम्म मन थामेर बसेको छु । नत्र त त्यतिबेला नै अवस्था अर्कै भइसक्थ्यो । देशमा शान्ति होस्, सद्भाव कायम होस् भनेर बसेका छाँै । मलाई टिकापुरका थारु समुदायले मात्रै होइन, पहाडि समुदायका मतदाताले पनि भोट दिएका छन् ।

तपाईले टिकापुर घटनामा गल्ती गर्नुभएको होइन ?

कसले भन्यो ? त्यस क्षेत्रका कुन जनताले मलाई गल्ती ग¥यो भनेका छन् । टिकापुर घटनामा म निर्दोष छु ।

कानुनले तपाईलाई दोषी ठहर ग¥यो भने के गर्नुहुन्छ ?

कानुनले मलाई दोषी ठहर ग¥यो भने कानुनको सम्मान गर्छु । तर टिकापुर घटनापछि चार जना प्रधानमन्त्री भए । कसैले पनि मलाई न्याय दिएनन् । त्यसैले जनताको अदालतमा गएको हुँ । जनताको अदालतले मलाई न्याय दियो । अब सपथ लिन जान्छु । म दोषी छु भने त्यसबेला मलाई समातेर कारबाही गरोस् । म जेल जान पनि तयार छु । तर मलाई समातेपछि यो मान्छे दोषी हो भनेर फैसला गरिदिनुपर्छ । निर्दोश व्यक्तिलाई पुर्पक्षका लागि थुन्न पाइदैन ।

टिकापुर घटना जघन्य अपराध हो कि होइन ?

टिकापुर घटना जघन्य अपराध हो कि होइन भन्ने कुरा कानुनले व्याख्या गर्ने कुरा हो । टिकापुर घटनामा माग राख्दै आन्दोलनमा गएकालाई पररर गोली हानेको कसले देख्यो ? २ सयभन्दा बढि जनतालाई गोली लागेको थियो ।

प्रतिक्रिया