नर्थ क्यारोलाइनामा गोविन्द गिरी प्रेरणाको “गन्तव्य गणवहाल” को चर्चा

इनेप्लिज २०७४ पुष २१ गते ११:४६ मा प्रकाशित

 

४ जनवरी, वाशिंटन डिसी ,नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको घर दैलो साहित्य कार्यक्रमको डिसेम्वर महिनाको कार्यक्रम ३० डिसेम्वरका दिन इश्वर देवकोटाको निवासमा त्रैमासिक वुक क्लब पुस्तक छलफल, महिनाको साहित्यकारको चर्चा तथा रचना वाचनसहित सम्पन्न भयो ।

कार्यक्रमको पहिलो चरणमा त्रैमासिक वुक क्लब पुस्तक छलफलका लागि छानिएको कृति गोविन्द गिरी प्रेरणाको लामा कथाहरुको सङग्रह “गन्तव्य गणवहाल” माथि विषद चर्चा भयो । कार्यक्रमको शुरुमा कार्यक्रमका आथित्यता प्रदान गर्नुहुने इश्वर देवकोटाले स्वागत गर्दै कार्यक्रमको शुरुवात गर्नु भयो । त्यसपछि संस्थाका अध्यक्ष मनोज प्रधानले कार्यक्रमको रुपरेखा प्रस्तुत गर्नु भएको थियो । त्यसपछि विक्रम गौतम र शिशिर खनालले “गन्तव्य गणवहाल” कृतिमाथि लिखित विचार प्रस्तुत गर्नु भएको थियो ।

सोही कार्यक्रमका लागि भर्जिनियावाट अतिथिको रुपमा आउनु भएका “गन्तव्य गणवहाल”का श्रष्टाले विभिन्न सहभागीहरुले राख्नु भएका जिज्ञासाहरुको उत्तर दिनुभएको थियो । त्यसरी जिज्ञासा राख्नुहुनेहरु तथा आफ्नो रचना वाचन गर्नुहुनेहरुमा ऋषि वस्ताकोटी, शिखर दुलाल, मनोज प्रधान, निलम कार्की निहारिका, नम्रता गुरागाईं, डा.वटु शर्मा, ददीन पाण्डे, डा.महेन्द्र न्यौपाने लगायत हुनुहुन्थ्यो ।

कार्यक्रमको दोश्रो चरणमा महिनाको श्रष्टा अन्तरगत कमल दीक्षितको विषयमा चर्चा गरियो । सो अवसरमा इश्वर देवकोटाले कमल दीक्षितको जीवनलाई स्लाइड शो अन्तरगत प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा कमल दीक्षितका सुपुत्र कनक दीक्षितले फोनको माध्यमवाट आफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रमको अन्त रचना वाचनवाट भएको थियो ।

साँझ ५ वजे शुरु भएको कार्यक्रम राती १२ वजेसम्म चलेको थियो ।

(www.vpkonlinenews.com सँग सहकार्य)

प्रतिक्रिया