ठमेलमा एकहुल साँढेहरु

इनेप्लिज २०७४ पुष २२ गते १४:३४ मा प्रकाशित
बिहानै-बिहानै ठमेलमा
एकहुल साँढेहरु भित्रिएका छन्
एकदुईरातको नाईटबस चढेर
पूर्व ताप्लेजुङ्देखि डडेलधुरासम्मका
उत्ताउला र  सानो जुरो पलाएका
उखरमाउला र उत्ताउला साँढेहरुको
ठमेलको कफीहाउसमा घचेटामचेट छ
केहीदिनसम्म त नाङ्गा साँढेहरु
एकअर्कालाई हेरेर दंग छन्
उचाई,नाक, रङ ,छाती र
कपालको आकार प्रकार र प्रभाव हेरेर
मनको तराजुमा आफूलाई
रागको,पुषटताको, लुच्चताको र तुच्छताको
सेन्टिमिटर,मिलिमिटर र किलोमिटरमा
नाप्दै आफ्नो जुरो फुर्फुराउन र
पाच्य,अपाच्य,भोज्य,अभोज्य शब्द फल्कार्न
तंछाडमछाडमा आफ्नो बैंश पोखिरहेछन्
जव सुर्यले पश्चिमतिर चन्द्रागिरी नाँघ्छ
तब-तब एकहुल नांगा साँढेहरु
ठमेल बजारको छेंउछाउँ र छिंडीमा
सलबलाउन थालिसक्छन् र
प्यालाको सोमरसले
ननभर्जिन कुमारी केटीका छातिमा लेख्छन –
“यो देश हाम्रो हो र हामी कर्मठ सिपाही”
मध्यरातको ठमेल बजारमा राष्ट्रियगानको
चित्कार बजिरहन्छ बजिरहन्छ
जबसम्म कुमारीका आँखा लोलाउँदैनन्
र नगरबधुहरु निदाउँदैनन्
स्वाभिमान र सम्पनता
ईज्जत , सम्मान र
राता गुलाब र पारिलो घामको सपना देख्दै
हरेकदिन बिहान साँढेहरु
देशका सपना, आमाका सपना
बदाम र बैंस बेच्नेका सपना बोकेर
मध्यरातको जितको दम्भ हुँकार्दै
सिंहदरबार,चोर दरबार  र छिंडिका कुनाकुनामा
देशको स्वाभिमानको फाईल नक्सा पल्टाउँदै
सम्पन्नता, स्वतन्त्रता र रास्ट्रियताको
कर्तव्य, जिम्मेवारी  र ईमानको
न्याय, समानता र आत्म-सम्मानको
मीठो रास्ट्रियगान गाउँछन झ्याउरे भाकामा
नयाँ र केही पुरानै सांढेहरुको उपस्थितीसंगै
परम्पराजस्तै कान्तिपुरी नगरीका
बजार, चोक  भट्टीहरु र नगरबधुहरु
चलिरहेछन र संगसंगै देशपनि
पुराना साँढेहरु त्यसैगरी ओरालो झर्थे र
उनै र उस्तै साँढेहरु
उहिले र अहिले एउटै गतिमा
ठमेल बजार  ,असन बजार,  रत्नपार्क
सिंहदरबार,बानेश्वर र चोकचोकमा
नाचिरहेका छन देश चलाउने नाममा

 

प्रतिक्रिया