शुक्रबार, वैशाख ७ २०७५ | Fri, April 20, 2018
नेपालको समय: ०८:३८ | Washington DC: 22:53

कानूनी कागजपत्र नभएकालाई देश निकाला गर्ने ट्रम्प प्रशासनको निर्णयलाई अदालतले यसरी उल्टायो

युवा आप्रवासीहरुलाई देशनिकालाबाट जोगाउने एउटा कार्यक्रम अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णयलाई संघीय अदालतले अस्थायी रुपमा उल्टाइदिएको छ । क्यालिफोर्निया र अन्यवादीहरुले डीएसीए कार्यक्रम अन्त्य गर्नबाट राष्ट्रपति ट्रम्पलाई रोक्न अनुरोध गर्दै हालेको रिट निवेदनमाथि न्यायाधीश विलियम एल्सुपले यस्तो आदेश दिएका हुन् ।

डीएसीएको पक्षमा रहेका वकिलहरुले अदालतले कदम नचालेमा युवा आप्रवासीहरु गम्भीर र अपूरणीय हानीको शिकार हुन सक्ने सम्भावनालाई प्रष्टरुपमा व्यक्त गरेको एल्सुपले बताएका छन् ।

डीएसीएले बालबालिकाका रुपमा अवैध तरिकाले अमेरिका ल्याइएका वा परिवारसँग आएर भिसा अवधिभन्दा बढि बसेका ८ लाख युवालाई संरक्षण गरेको थियो । यो कार्यक्रमले हजारौं कलेज पढ्ने विद्यार्थीलाई समेत समेटेको थियो ।

अमेरिकी महान्यायधिवक्ता जेफ सेसन्सले पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो अधिकारक्षेत्रभन्दा बाहिर गएर २०१२ मा यो कार्यक्रम लागू गरेको भन्दै यसलाई फेज आउट गर्ने सेप्टेम्बरमा घोषणा गरेका थिए । यो घोषणा लगत्तै राष्ट्रव्यापी रुपमा मुद्दाको ओइरो लागेको थियो ।

एल्सुपले उत्तरी क्यालिफोर्नियामा दायर भएका पाँच वटा भिन्दाभिन्दै मुद्दामाथि निर्णय लिएका हुन्, जसमध्ये एउटा राज्यले र अर्को यूनिभर्सिटी अफ क्यालिफोर्निया स्कुल सिस्टमको बोर्डले दायर गरेका थिए ।

एल्सुपले कार्यक्रम अन्त्य गर्नुअघि ट्रम्प प्रशासनले वृहद पुनरावलोकन गरेको थियो कि थिएन भन्ने प्रश्न पनि गरेका छन् । न्याय मन्त्रालयका वकिल ब्राड रोजेनबर्गले डीएसीए अन्त्य गर्दाको प्रभावमाथि प्रशासनले अध्ययन गरेको र यसलाई तत्कालै खारेज गर्नुको साटो चरणबद्ध रुपमा फेज आउट गर्ने निर्णय लिएको बताएका छन् ।

डीएसीए प्राप्त गर्नेहरुले उनीहरुको दुई वर्षे अवधिको बाँकी समय अमेरिकामा बस्न अनुमति पाउनेछन् । ६ महिनाभित्र दर्जा (स्ट्याटस )अन्त्य हुन लागेकाहरुले पनि अर्को दुई वर्षे अवधिका लागि आवेदन दिन एक महिना समय पाउनेछन् ।

अदालती दस्तावेजमा न्याय मन्त्रालयले भनेको छ कि अदालतको आदेशद्वारा डीएसीए हठात अन्त्य हुन सक्ने सम्भावना औंल्याएका थिए, जुन तर्कलाई एल्सुपले खण्डन गरेका छन् ।

यूनिभर्सिटी अफ क्यालिफोर्निया बोर्डका एक वकिल जेफरी डेभिड्सनले डीएसीएको आधारमा धेरैले ऋण लिएको, विद्यालय भर्ना भएको र बिहे गरेर परिवार सुरु गर्ने निर्णयसमेत लिएको भन्दै कार्यक्रम खारेज हुँदा उनीहरु संकटमा पर्ने औंल्याए । ‘सरकारले कार्यक्रम खारेज गर्ने निर्णय लिँदा यी कुराहरु विचारै गरेन,’ अदालती सुनवाईमा उनले भने ।

साभार :अनलाइनखबर

२०७४ पुष २६ गते ११:०१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी