आइतबार, माघ ७ २०७४ | Sun, January 21, 2018
नेपालको समय: १०:३५ | Washington DC: 23:50

देश विकासमा खेलकुदले उल्लेखनीय योगदान दिने– खेलकुदमन्त्री केसी

कीर्तिपुर, पुस २६ गते । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले देश विकासको लागि खेलकुद क्षेत्रले उल्लेखनीय योगदान दिनेसक्ने कुरा बताउनुभएको छ ।
यहाँस्थित बुधबार मङ्गल उच्च मावि र मङ्गल बहुमुखी क्याम्पसको १० औं मङ्गल खेलकुद सप्ताह उद्घाटन गर्नुहुँदै उहाँले देश विकासमा नेपाली खेलकुदले विशेष भूमिका खेलिरहेको चर्चा गर्दै उहाँले उक्त भनाई राख्नुभएको हो ।
‘निश्चित रुपमा पढाइको महत्वपूर्ण भूमिका हुने भए पनि शरीरलाई स्वस्थ राख्दै देश विकासको कामलाई अगाडि बढाउन खेल जीवन अपरिहार्य रहन्छ,’ उहाँले भन्नुभयो, ‘नेपालमा पनि महत्वपूर्ण विद्याको रुपमा खेलकुद बनाउन त्रिभुवन विश्वविद्यालयमा चाँडै केन्द्रीय खेलकुद विभाग स्थापना हुँदैछ ।’
त्रिभुवन विश्वविद्यालयमा विश्वस्तरको कभर्डहल निर्माणसँगै कीर्तिपुरका बासिन्दाको लागि दुई करोडको बजेट विनियोजन भइसकेकाले नयाँबजार मुनिको खुल्ला मैदानमा अर्काे कभर्ड हल निर्माण हुने उहाँले सो कार्यक्रममा बताउनुभयो ।
कीर्तिपुरबासीहरुले पुनः एकपटक प्रतिनिधिसभामा निर्वाचित गराएर पठाएकोमा धन्यवाद दिनुहुँदै मन्त्री केसीले चाँडै उपभोक्ता समिति गठन गरेर कभर्डहल निर्माण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।

हरेक विद्यालय र क्याम्पसले खेलकुदको लागि विद्यार्थीबाट वार्षिक शुल्क उठाए पनि खेलकुदका कार्यक्रम नगर्ने गरिएकोमा मन्त्री केसीले दुखेसो पोख्नुभयो ।
खेलकुदको विकासको लागि मन्त्री केसीले खेलकुद विकासको लागि खेल प्रशिक्षकहरुलाई बास्केटबल, फुटबल र भलिबल हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभाका लागि काठमाडौं १० नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएका पुकार महर्जनले देश विकासको सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्राचार्य लोकलाल महर्जन, क्याम्पस प्रमुख प्रदिप महर्जन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्राडा शिवशरण महर्जनले कार्यक्रममा खेलकुदको विकासबारे आ–आफ्ना धारणा राख्नुभयो ।
शिक्षा मन्त्रालयबाट नमूना विद्यालय घोषणा भइसकेको मङ्गल उच्च विद्यालयका विद्यार्थीहरुद्वारा एसियास्तरका कास्य पदकहरु जितिसेकेको जानकारी विद्यालयका शिक्षक रक्की महर्जनले गोरखापत्रलाई दिनुभयो ।
खेलकुद सप्ताहमा फुटसल, भलिबल, बास्केटबल, टेबुल टेनिस, एथ्लेटिक्सलगायतका खेलकुद समावेश गरिएको छ । –उपेश महर्जन

२०७४ पुष २६ गते १४:०१ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी