अब काठमाडौंका यी भित्री सडकमा चारपांग्रे चलाउन दिनभर निषेध

इनेप्लिज २०७४ पुष २६ गते १४:२८ मा प्रकाशित

काठमाडौं, पुस २६ । काठमाडौं महानगरपालिकाले सातओटा वडाका भित्री सडकमा माघ २ गतेदेखि चारपांग्रे सवारी–साधन प्रवेश गर्न निषेध गर्ने भएको छ ।कामपाले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ऐतिहासिक, साँस्कृतिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म भित्री सडकमा चारपांग्रे सवारी–साधन गुड्न रोक लगाउन लागेको जानकारी दिएको हो ।

कामपाका वडा नम्बर–१७, १८, १९, २२, २४, २५ र २७ भित्री क्षेत्रका सहर भएको हुँदा सो क्षेत्रभित्र रहेका सम्पदा बचाउन चारपांग्रे सवारी निषेध आवश्यक रहेको कामपाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन् ।

‘सम्पदाको संरक्षण गर्ने कार्य एकातिर छ भने अर्कोतर्फ बाटो साँघुरो, सर्वसाधारणको चाप बढी हुने भएकाले दुर्घटना पनि हुने गरेको छ, त्यसैले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म यात्रीको चाप कम हुने भएकाले उक्त समयमा भने चारपांग्रे यातायातका साधन उक्त स्थानमा सन्चालन गर्न सकिन्छ’–महानगरपालिकाका कार्यकारी प्रमुख धनीराम शर्माले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका ट्राफिक प्रहरी निरीक्षक विदुरकुमार थापाले चारपांग्रे सवारी–साधनका कारण भित्री सडकका पैदलयात्रीले कष्टपूर्वक यात्रा गर्नुपरेकाले सो क्षेत्रमा चारपांग्रे सवारी–साधन निषेध गर्न आवश्यक रहेको बताए ।

बिरामी, सुत्केरी ज्येष्ठ नागरिक बोकेको गाडी, एम्बुलेन्स र दमकललाई भने रोक नलगाइने कामपा वडा नम्बर–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

भोटाहिटीबाट असनचोकसम्म चारपांग्रे सवारी–साधनलाई एकतर्फी निषेधित क्षेत्र बनाइएको छ ।

यस्तै, नयाँ व्यवस्थाअनुसार नरदेवीबाट भेडासिङ हुँदै इन्द्रचोकसम्म तथा टेंगलबाट बांगेमुढा हुँदै भेडासिङ, इन्द्रचोकसम्म र क्षेत्रपाटीबाट थँहिटी हुँदै इन्द्रचोकसम्म एकतर्फी जान पाइनेछ ।

साथै, इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिङ, ज्याठाबाट त्यौड, थँहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुसम्म चारपांग्रे सवारी–साधनलाई पूर्णरुपमा निषेध गरिनेछ ।

बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म भने सबैखालका सवारी–साधन आवत–जावत गर्न पाउनेछन् ।

कोही व्यक्ति वा संस्थालाई निषेध गरिएकै समयमा सवारी–साधनको आवश्यक परी सन्चालन गर्न परेमा वडा कार्यालय वा ट्राफिक प्रहरीसँग सम्पर्क गर्नुपर्नेछ ।

प्रतिक्रिया