रत्ननगर महोत्सव उपराष्टपतिबाट उद्घाटन, देश अब आर्थिक समृद्धि तर्फ अगाडि बढछ :उपराष्टपति पुन

इनेप्लिज २०७४ पुष २७ गते २२:२८ मा प्रकाशित


शिशिर सिंखडा

रत्ननगर,चितवन,२७ पुस । उपराष्टपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धि तर्फ अगाडि बढेको बताएका छन । भर्खरै देशमा स्थानीय,प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भईसकेको र अब बन्ने स्थिर सरकारले देशको आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने बताए । आज विहीवारबाट पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा आयोजित नवौं रत्ननगर महोत्सवको उद्घाटन गर्दै उपराष्टपति पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताए । उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व सुरु भएको भन्द अबको युग आर्थिक समृद्धिको युग भएको बताए । लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताले मात्र मुलुक समृद्धि बन्ने उनको भनाई छ । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उनले बताए । उपराष्ट्रपति पुनले नेपालमा वैदेशिक लगानीको आवश्यकता औल्याए । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गरे । उनले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिल गरे ।

कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताए । उनले सरकार हस्तान्तरण छिटो गर्नुपर्ने भन्दै जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उनको भनाई थियोे । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य कृष्णप्रसाद खनाल,संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । रत्ननगर उद्योग बाणिज्य संघले आयोजना गरेको सो महोत्सव माघ ७ गते सम्म सञ्चालन हुनेछ ।

प्रत्येक दुई वर्षको अन्र्तरालमा हुने यस महोत्सवले चितवनको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसंग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिइएको छ । महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवद्र्धन, स्थानीय कला, संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवम् सेवाको परिचय गराउन करिव ४५० वटा स्टल रहेका छन । जिल्लाको सर्वपक्षिय मौलिक विशेषता झल्काउने विविध लोकसांस्कृतिक कार्यक्रम, चित्रकला तथा मूर्तिकलाको प्रतियोगितात्मक प्रदर्शनी समावेश गरिएको छ । यस पटकको महोत्सवमा ५ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब ५० करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।

कृषिलाई प्राथमिकता दिईएको सो महोत्सवमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनासंग सहकार्य गरिएको छ । बृहत व्यवसायिक कृषि प्रर्दशनी तथा प्रतियोगिता, ताजा तरकारी, च्याउ, पोली हाउस सहितको थोपा सिंचाई प्रविधि,फेमेली नेट हाउस,केरा, माछा, दुग्धजन्य पदार्थ, निःशुल्क माटो परीक्षण शिविर, पोल्ट्री, महसंगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको कृषि प्रर्बद्धन समितिका संयोजक इश्वरी प्रसाद अर्यालले जानकारी दिए । यस पटकको महोत्सवको मुख्य आकर्षणको रुपमा ७५ फिट अग्लो धरहरामा ३० फिटबाट दृश्यालोकन गर्न मिल्ने छ । महोत्सवको अर्को आर्कषणको रुपमा परापूर्वकालमा राजामहाराजाले चढने रथ (बग्गी),घोडा चढने व्यवस्था मिलाइएको छ । साथै महोत्सवमा सबैले चासोका साथ हेर्ने अस्टिज समेत राखिने छ । महोत्सव परिसरमा जातजातीका संस्कृति झल्कने घर निर्माण गरिएको छ । महोत्सवको उद्घाटनको अवसरमा विभिन्न जनजाती, धार्मिक, सांस्कृतीक, शैक्षिक तथा अन्य संघ संस्थाको सहभागितामा बाजा गाजा र झाकी सहितको शोभायात्रा शोभायात्रा निकालिएको थियो ।

प्रतिक्रिया