वर्तमान अवस्था देशको लागि निकै पीडादायी : मन्त्री प्रभु साह

इनेप्लिज २०७४ पुष २८ गते ११:३४ मा प्रकाशित

 

सञ्जय मित्र,रौतहट
नेकपा माओवादीका नेता एवम मन्त्री प्रभु साह जितेका जनप्रतिनिधि जिम्मेवारीविहीन अवस्थामा सडकमा रहेको, शपथसमेत लिन नपाएको तर हारेकाहरुले सरकार संचालन गरेको वर्तमान अवस्था देशको लागि अत्यन्त पीडादायी भएको बताएका छन् । रौतहटको कहटहरिया नगरपालिकाको नगरसभाको प्रथम अधिवेशनको विहीवार उदघाटन गर्दै मन्त्री साहले मन्त्री परिषदको बैठक बस्दा अधिकांश मन्त्री चुनाव हारेका र केही मन्त्री मात्र चुनाव जितेको देखिँदा अलिक कस्तो कस्तो लाग्ने गरेको बताएका छन् ।

आफूलाई लोकतन्त्रको रक्षक भनेर नथाक्ने लोकतान्त्रिक पार्टी नेपाली काँग्रेस चुनाव हारेपछि पनि सरकार छोड्न तयार नरहेको अवस्था हेर्दा लोकतन्त्रको अर्थ बुझ्न सर्वसाधारणलाई गाह्रो भएको बताएका छन् । लोकतन्त्रको रखबार तथा जन्मदाता ठान्ने पार्टीका नेताहरुमा कुर्सी मोह देखेर आफूलाई आश्चर्य लागेको बताउँदै मन्त्री साहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको एक महिनाभन्दा बढी बितिसकेको भए पनि निर्वाचन आयोगले अहिलेसम्म समानुपातिक निर्वाचन प्रणालीको रिजल्ट ननिकाल्नु बिडम्बना रहेको बताएका छन् । देउवाले राजीनामा नदिएको देखेर माओवादी केन्द्रका मन्त्रीहरुले बरु देउवालाई सजिलोको लागि सरकार छोड्ने मानसिकता बनाइरहेको समेत मन्त्री साहले बताएका छन् ।

 

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विधान सभाका साँसद कुन्दन कुशवाहाले कटहरिया नगरपालिकालाई स्मार्ट सिटी बनाउन र आन्तरिक आयस्रोत बढाउने काममा ध्यान दिन सुझाव दिएका छन् । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहा फिरोजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कुशवाहाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ३८ करोड ९४ लाख ९५ हजार रुपैयाको आयव्यय विवरण प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति राम एकबाल यादव, जिल्ला विकास समिति रौतहटका पूर्व उपसभापति रजिउदीन आलम, पत्रकार सञ्जय मिश्र बिद्रोही, वडाध्यक्ष चन्दन कुशवाहा, नगरपालिकाका निमित्त कार्यकारी अधिकृत राजदेव मुखियासहित विभिन्न पार्टीका प्रतिनिधिलगायतकाले मन्तव्य व्यक्त गर्दै नगरको विकासको लागि सुझाव दिएका छन् ।

 

प्रतिक्रिया