तिवारीको हत्यामा संलग्न पक्राउ

इनेप्लिज २०७४ पुष २९ गते १५:३५ मा प्रकाशित

काठमाडौँ, २९ पुस : नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई आज इन्टरपोल कतारमार्फत पक्राउ गरी नेपाल ल्याइएको हो । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेका अनुसार सिंजालीलाई इन्टरपोल नेपाल र इन्टरपोल कतारको समन्वयको आधारमा आज कतार एयरवेजको उडानद्वारा नेपाल ल्याइएको जानकारी दिनुभयो ।

उक्त घटनामा फरार रहेका सिंजालीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं र १६ नं को कसुर अपराध बमोजिम संगठित अपराध निवारण ऐनअनुरुप सजाय हुने गरी अदालतसमक्ष पेश गरेको थियो । उनलाई थप आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, बुटबल पठाउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया