प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ चयन

इनेप्लिज २०७४ माघ २८ गते १६:३८ मा प्रकाशित

काठमाडौं, माघ २८ । प्रदेश नम्बर ४ को एमाले संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ चयन भएका छन् ।

एमाले संसदीय दलको आज बसेको बैठकले सहमतिबाटै गुरुङलाई नेता चयन गरेको हो । योसँगै प्रदेश नम्बर ४ को मुख्य मन्त्री पनि गुरुङ बन्ने निश्चित भएको छ ।

यसअघि संसदीय दलको नेतामा किरण गुरुङले पनि दाबी प्रस्तुत गर्दै आएका थिए ।

तर उनलाई पार्टी संगठन विभागको प्रमुख बनाउने सहमति भएपछि उनले संसदीय दलको नेताको दाबी छाडेका हुन् ।

प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् ।

प्रदेश नम्बर ४ मा मुख्यमन्त्रीको भाग पाएको नेकपा एमालेले आफ्नो संसदीय दलको नेता चुनेसँगै सात वटै प्रदेशमा मुख्यमन्त्री बन्नेको टुंगो लागेको छ ।

सात प्रदेशमध्ये प्रदेश १, ३, ४ र ५ मा एमाले, २ मा संघीय समाजवादी फोरम तथा ६ र ७ मा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्दैछन् ।

जसअन्तर्गत एमालेबाट प्रदेश १ मा शेरधन राई, ३ मा डोरमणि पौडेल र प्रदेश ५ मा शंकर पोखरेल मूख्यमन्त्री हुने निश्चित भैसकेको छ ।

प्रदेश २ मा मधेसी गठबन्धनबाट संघीय समाजवादी फोरमका संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री हुने निश्चित छ ।

माओवादीको भागमा परेको प्रदेश ६ मा महेन्द्रबहादुर शाही र प्रदेश ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भएसँगै मूख्य मन्त्री बन्ने टुंगो लागेको हो ।

प्रतिक्रिया