आर्थिक अभावका कारण मन्दिर निर्माण सम्पन्न गर्न कठिनाई

इनेप्लिज २०७४ माघ २९ गते २२:३५ मा प्रकाशित

शिशिर सिंखडा
खोलेसिमल, चितवन, २९ माघ ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ गुराउचौर स्थित भद्रेश्वर शिवालय मन्दिरको भवन निर्माण सम्पन्न गर्न आर्थिक अभावका कारण समस्या भएको छ । २०३१ सालमा स्थानीयहरुको पहलमा सो शिव मन्दिर स्थापना गरिएको थियो । ३ कठ्ठा क्षेत्रफलमा रहेको सो मन्दिर परिसरमा शिव, पार्वतीका अतिरिक्त गणेश, कुमार, विष्णुको समेत मूर्तिहरु राखिएको छ ।
सोही स्थानमा जीर्ण रहेको पूरानो मन्दिरको स्थानमा हाल २ वटा आकर्षक मन्दिर निर्माण भईरहेको मन्दिर निर्माण समितिका संयोजक हिमनिधि तिवारीले बताए । हालसम्म मन्दिर बनाउन २० लाख खर्च भईसकेको उनले बताए । सो मन्दिरलाई पूर्णता दिई प्रतिक्षालयको रुपमा रहेको सतल पनि भत्काई नयाँ भवन बनाउनु पर्ने भएको छ, तिवारीले भने । धार्मिक पर्यटकहरुलाई बस्नको लागि धर्मशालाको रुपमा विकास गर्ने समितिको योजना रहेको उनले बताए ।

मन्दिरमा रहेको पुराण मञ्च, मन्दिर र धर्मशाला निर्माण गर्न करिव १ करोड रुपैया लाग्ने समितिका कोषाध्यक्ष ऋषिराम पगेनीले बताए । स्थानीय वडा कार्यालय, उदयपुर सामुदायिक वन र स्थानीयवासीहरुको सहयोगबाट मन्दिर निर्माण काम भईरहेको छ । भएको कामको पनि आर्थिक अभावको कारण रकम भुक्तानी दिन सकिएको छैन, पगेनीले भने । हाल हामीले मन्दिर र धर्मशाला निर्माणको लागि वडा कार्यालयबाट तत्कालको लागि १ लाख रुपैया सहयोग गरेका छौं, सम्भव भएसम्म सो मन्दिरको लागि थप रकम पनि सहयोग गर्न नगरपालिकासँग समन्वय गर्ने पक्षमा रहेको कालिका ६ का वडा अध्यक्ष बिनोद रेग्मीले बताए ।
सो मन्दिर स्थानीयको सहयोगबाट मात्र सम्पन्न गर्न कठिनाई देखिएकोले स्वदेश तथा विदेशमा रहेका सहयोगीदाताहरुबाट सहयोगको अपेक्षा समेत गरेको समितिका संयोजक तिवारीले बताए । स्थानीयको आस्थाको धरोहरको रुपमा रहेको यस मन्दिरमा हरेक वर्ष शिवरात्रीमा विशेष मेला आयोजना गरी शिव पुराण, पुजाअर्चना गर्ने गरिएको उनले बताए । शिवरात्रीका अतिरिक्त हरेक चाडपर्वहरुमा पनि विशेष पुजा गरिदै आएको उनले बताए ।

प्रतिक्रिया