एमाले र माओवादी केन्द्र कम्युनिष्ट होइनन् : मोहनविक्रम सिंह

इनेप्लिज २०७४ फागुन ७ गते २३:४९ मा प्रकाशित

१९९२ वैशाख ३ गते काठमाडौँ मरुटोलमा जन्मिएका मोहनविक्रम सिंह २०१० सालदेखि निरन्तर नेपाली कम्युनिस्ट आन्दोलनमा छन् । तर पछिल्लो समय उनको राजनीति छायाँमा पर्दै गएको छ । उनै सिंहसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि लिइएको अन्तरवार्ताको सम्पादिन अंश यहाँ प्रस्तुत गरिएको छ ।

नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर जान सक्छन् ?
वैचारिक विवादहरुलाई समाधान गर्न सक्ने हो भने एकतावद्ध हुन सकिन्छ ।

एमाले र माओवादीबिचको एकता सम्भव होला ?
हाम्रो शुभकामना छ । एकता प्रक्रिया ढिलाई हुँदा हामीलाई दुःख लागेको छ । उनीहरुकोबिचमा एकता भयो भने राम्रो हुन्छ । तर उनीहरुबिचमा माओवाद र बहुदलीय जनवादको समस्या छ । पद व्यवस्थापनमा पनि समस्या छ । एकता नभए पनि सरकारको गठन चाँही दुई दलबिच मिलेर गर्नुपर्छ ।

तपाईको पार्टी सरकारमा सहभागि हुने कि नहुने ?
सरकारमा सहभागि हुने हाम्रो कहिल्यै पनि नीति भएन । तर ओली नेतृत्वको सरकारले के कस्ता कार्यक्रम ल्याउँछ, त्यो हामी हेर्छौँ ।

एमाले र माओवादीसँग तालमेल गरेर दुर्गा पौडेललाई सासंद बनाउनुभयो । अब मन्त्री नबनाउने ?
अहिले नै केही निर्णय गरिएको छैन । दुर्गा पौडेललाई मन्त्री बनाउने चाहना पनि छैन । सरकारको नीति तथा कार्यक्रममा आधारमा पार्टीले निर्णय गर्छ ।

तपाईले एमाले माओवादीको आलोचना गर्नुहुन्थ्यो । अहिले त शुभेच्छुक बन्नुभएछ है ?
एकता होस् भनेको हुँ । एकताका लागि कामना गर्दैमा एमाले र माओवादीहरु कम्युनष्टि भए भन्ने होइन । एकता हुनु राम्रो भन्नुको अर्थ उनीहरुलाई मैले कम्युनिष्टको रुपमा स्विकार गरेको होइन । उनीहरु दक्षिणपन्थी संसदवादी हुन् ।

तपाईको दलले एमाले र माओवादीसँग चुनावमा तालमेल गर्यो । अब एकता गर्न सक्दैन ?
चुनावमा तालमेल त जोसँग पनि गर्न सकिन्छ । तालमेल र एकता एउटै कुरा होइन । एकताका लागि सैद्धान्तिक रुपमा बहस हुनुपर्छ भन्ने हाम्रो सोचाई छ । एकता भन्ने कुरा त कहिले कोसँग हुन्छ, समयले फैसला गर्दै जान्छ ।

नेपालमा एउटै कम्युनिष्ट पार्टी बन्न सक्दैन ?
यसका लागि राजनीतिक सिद्धान्त निर्भर हुन्छ । इच्छाले मात्रै हुने कुरा होइन । एमाले र माओवादीसँग तत्काल पार्टी एकता गर्ने हाम्रो कुनै एजेण्डा छैन । तर सबै कम्युनिष्ट एक हुनुपर्छ भन्ने मान्यता हो ।

एउटै कम्युनिष्ट पार्टी बानाउन तपाईले किन पहल गर्नुभएन ?
हामीले सैद्धान्तिक बहस गर्न सक्छौँ भनेर भन्दै आएका छौँ । बहस नभै त त्यसै एकता हुँदैन ।

मोहन वैद्य र नेत्रविक्रम चन्द नेतृत्वको पार्टीसँग एकता गर्न लाग्नुभएको हो ?
मोहन वैद्यजिसँग हाम्रो वार्ता चलिरहेको छ । कतिपय रणनीतिहरुमा हाम्रा विचार मिल्छन् । तर तत्कालिन राजनीतिक विषयमा धेरै विमति छ । त्यसैले एकता गर्ने वा नगर्ने विषयमा निर्णय गरिसकेका छैनौँ । एकताको सम्भावनाको विषयमा छलफल भइरहेको छ ।

संघीयताको विषयमा तपाईको धारणा के हो ?
नेपालमा संघियता उपयुक्त छैन । व्यवहारिक रुपमा प्रमाणित भएको छ । खर्च धान्न सकिने अवस्था छैन । विखण्डनको खतरा बढेको छ । संघियताको विराधीहरु समाप्त भएका छैनन् । हाम्रा कुरा जनताले विस्तारै बुझ्दै गएका छन् ।

प्रतिक्रिया