चितवनको कालिका ५ पदमपुरमा धनधान्याञ्चल सप्ताह शुरु, विकास निर्माणमा सधै साथ रहने – सांसद कृष्णभक्त पोख्रेल

इनेप्लिज २०७४ फागुन १३ गते १६:२५ मा प्रकाशित

शिशिर सिंखडा
पदमपुर, चितवन, १४ फागुन ।
चितवनको कालिका नगरपालिका वडा नं. ५ पदमपुरमा आजबाट श्रीमद् भागवत धनधान्याञ्चल सप्ताह ज्ञान–महायज्ञ शुरु भएको छ । जिल्लाकै पौराणिक देवताको रुपमा रहेको भिमवली मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको हो ।

महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य लिइएको छ । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, ब्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय र बाल उद्यान समेत निर्माण गर्ने लक्ष्य रहेको छ । सोही रकमबाट यस क्षेत्रका विपन्न बोटे, दलित, चेपाङ छात्रछात्रालाई छात्रवृत्ति समेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका संयोजक नन्द प्रसाद भट्टराईले बताए । फागुन २० गतेसम्म संचालन हुने महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोख्रेलबाट श्रीमदभागवत कथा वाचन गर्ने छन् । सो मन्दिरको १३ कठ्ठा क्षेत्रफल रहेको छ । सो परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर रहेको छ ।

धनधान्याञ्चल सप्ताह महायज्ञको अवसरमा शुभ विवाह, ब्रतबन्ध, चौरासी पुजा गर्न चाहनेको लागि समेत आयोजकले व्यवस्थापन गरेको मूल समारोह समितिका महासचिव भिष्म प्रसाद खनालले जानकारी दिए । सो कार्यका अतिरिक्त भक्तजनहरुले नगद रकम, तुलादान गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ भने महायज्ञमा धान, चामल लगायत खाद्यान्नहरु पनि सहयोग गर्न सकिने महासचिव खनालले बताए ।

महायज्ञमा स्थानीय, स्वदेश तथा विदेशमा रहेका धर्मानुरागीले सहयोग गर्ने वचनवद्धता प्राप्त भएको प्रचारप्रसार समितिका संयोजक विष्णु सिंखडाले बताए । सहयोगीदाताहरुलाई कार्यक्रम स्थलमा नै सम्मान गर्ने समेत उनले बताए । मूल समारोह समितिका संयोजक नन्द प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोख्रेलले स्थानीयले आयोजना गरेको धनधान्याञ्चलको सफलताको कामना गर्दै विभिन्न विकास निर्माण र सामाजिक कार्यमा आफु सधै स्थानीयवासीसँगसँगै रहने बताए । सामाजिक र नैतिक विकासको लागि हिन्दु धर्मको महत्वपूर्ण भूमिका रहेको समेत पोख्रेलले बताए ।

कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले मन्दिर निर्माण र विभिन्न सामाजिक कामको लागि नगरपालिकाको तर्फबाट सहयोग रहने बताए । कार्यक्रममा वाचन प्रविण दिनबन्धु पोख्रेल, कालिका वडा नं. ५ का वडा अध्यक्ष जियन महतो, कालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, ब्रह्मकुमारी राजयोग सेवा केन्द्र पदमपुरकी प्रमुख पार्वती, भिमोदय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष रामचन्द्र पौडेल, भिमवली सामुदायिक वनका अध्यक्ष मच्छिन्द्र श्रेष्ठ, मन्दिरका उपाध्यक्ष नारायण बहादुर भट्टराई लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।


महायज्ञ शुरु हुनु अगाडि आज आइतबार बिहान पदमपुरको विभिन्न क्षेत्रमा बाजागाजा, थारुहरुको झाम्टा नृत्य सहितका सयौं भक्तजनहरुले कलश यात्रा गरी महायज्ञ स्थलमा पुगेका थिए ।

प्रतिक्रिया