देउवा र प्रकाशमान दुवैले छोड्नुस्, मलाई सर्वसम्मत दलको नेता बताउनुस् : डा. शशांक कोइराला

इनेप्लिज २०७४ फागुन १७ गते १०:५० मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि २१ गते चुनाव हुँदैछ । दलको नेताका लागि सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिने बताइसकेका छन् । प्रकाशमान सिंहले पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने आफू दलको नेता बन्न चाहेको तर सर्वसम्मति भए मात्रै अघि सर्ने बताएका छन् । यसै सन्दर्भमा ऋषि धमलाले कोइरालासँग अन्तरवार्ता लिएका छन् । अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

संसदीय दलको नेतामा सभापति शेरबहादर देउवा र नेता प्रकाशमान सिंहबिच प्रतिस्पर्धा हुने देखिएको छ । तपाईको समर्थन कसलाई हुन्छ ?
मैले त सर्वसम्मतिका लागि प्रयास गर्दैछु ।

तर दुवैजना मैदानमा आइसके नि ?
संसदीय दलको नेताका लागि २१ गते चुनाव हुँदैछ । म अन्तिमसम्म पनि सर्वसम्मतिकै लागि प्रयास गर्छु ।

सर्वसम्मत हुनै सकेन भने कसलाई समर्थन गर्नुहुन्छ ?
राजनीतिमा एस र नोमा जवाफ हुन सक्दैन । मेरो भनाई के हो भने दुवैजना उम्मेदवारसँग कुरा गर्नुपर्छ । पाँच दिन बाँकी छ । दुवै पक्षसँग मेरो कुरा हुन्छ । त्यसपछि म निर्णय गर्छु । मैले अहिले नै कसलाई भोट गर्ने भन्ने कुरा निरर्थक छ ।

दुईजनामध्ये एउटालाई समर्थन गर्छु भनेर घोषणा गर्न सक्नुहुन्न ?
राजनीतिमा यो कुरा सजिलो छैन । व्ल्याक एण्ड ह्वाइटको राजनीति भएको भए सजिलो हुन्थ्यो । राजनीति गर्ने व्यक्तिले धेरै कुरा मूल्याङ्कन गरेर निर्णय लिनुपर्छ ।
सर्वसम्मत हुने सम्भावना कति छ ?
सम्भावना छ । म सर्वसम्मत गराउन सक्छु भनेर नै लागेको छु ।
कांग्रेसले चुनावमा हार बेहोरेको अवस्थामा सभापति देउवाले आफै दलको नेता बन्नु राम्रो हुन्छ कि अरुलाई बनाउनुपर्छ ?
म पहिलो उहाँहरुसँग प्रत्यक्ष रुपमा कुार गरेर मात्रै निष्कर्षमा पुग्छु ।

अब कांग्रेस कसरी अगाडि बढ्छ ?
अब कांग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्छ । यसका लागि म अग्रसर छु । आफ्नो शक्ति प्रयोग गरेर एकढिक्का बनाउने प्रयास गर्छु ।

यतिबेला नेतापिच्छे गुट छ । कसरी एकढिक्का बनाउन सक्नुहुन्छ ?
म सबै नेताहरुसँग परामर्श गरेर कांग्रेसको आवश्यकता अनुभूति दिलाउन सक्नुपर्छ । गुट र समुहको राजनीतिले नै पार्टीलाई कमजोर बनाएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । अब यसको अन्त्य गरौँ । मैले यो कुरा गिरिजाप्रसादको पालादेखि नै गरेको हुँ ।

चुनाव हारिसकेपछि पनि किन कांग्रेसले चेत्दैन । एकढिक्का हुनुपर्नेमा झन आन्तरिक कलहमा फसेको देखिन्छ नि । किन ?
हो, अहिले हामी प्रतिपक्षमा छौँ । यो बेला संगठित भएर अगाडि बढ्नुपर्छ । यसअघि सत्तामा जानेदेखि अरु विभिन्न कारणले गुटगत राजनीति भए होला । तर अब संगठन धराशायी बनाउनु हुँदैन । अब पनि गुटगत राजनीतिको अन्त्य गरिएन भने पार्टी राम्रो बन्न सक्दैन ।

अब त संसदीय दलको नेता बने पनि सरकारमा जाने सम्भावना छैन । तर पनि किन दलको नेतामा सहमति हुन सक्दैन ?
त्यसैले मैले सभापति देउवालाई प्रधानमन्त्री बन्ने सम्भावना छैन भनेर संसदीय दलको नेता नलड्नस् भनेको हुँ । प्रकाशमान सिंहलाई पनि त्यही भनेको छु ।
तपाई संसदीय दलको नेता बन्न चाहनुहुन्छ ?
चाहन्छु ।

देउवा र सिंहसँग कुरा गर्नुभयो त ?
मैले देउवालाई भेट्दा नै सुरुमा नै भनिदिनुभयो कि, म नै चुनाव लड्छु भनेर । मैले भन्नुभन्दा पहिला नै देउवाले मलाई समर्थन गर्नुस् भन्नुभयो । त्यसपछि त मेरो वाणी नै फुटेन । प्रकाशजिसँग पटकपटक कुरा भएको छ । तर अन्तिम समयसम्म पनि चुनाव नहोस् भन्ने चाहना मेरो छ ।

तपाई महामन्त्री भएपछि पनि कांग्रेसभित्रको कलह मिलाउन सक्नुभएन नि ?
विपी कोइरालाले बनाएको पार्टी । मेरो दायित्व पनि छ । नम्बर वान पार्टी बनाउने मेरो लक्ष्य हो । विपीले ३६ सालमा भन्नुभएको थियो कि अबको प्रधानमन्त्री परशुनारायण चौधरी । अनि मैले के भनेँ भने तपाईलाई हेरेर मान्छेले भोट हाल्दैछन् । उहाँले मलाई भन्नुभयो, तैँले के बुझेको छस् ? गिरिजाबाबुले पनि ५१ सालमा शेरबहादुरलाई संसदीय दलको नेता बनाउनुभयो । त्यसैले अब शेरबहादुरले पनि सोच्नुपर्छ ।
म प्रकाशमान सिंहलाई पनि भन्न चाहन्छु कि, उहाँले संसदीय दलको नेतामा जितेर पनि पार्टी त विभाजित हुन्छ नि । त्यसैले विभाजित मनस्थितीबाट हामी उम्किनुपर्छ ।

प्रतिक्रिया