संक्रमणकाल पार लगाउनका लागि देउवा र पौडेलको भुमिका आवश्यक छ : मिनेन्द्र रिजाल

इनेप्लिज २०७४ फागुन २२ गते ११:५७ मा प्रकाशित

नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला देउवा नै अझै शक्तिशाली बनेका छन् । अब कांग्रेस कसरी अगाडि बढ्नुपर्छ ? संसदमा कांग्रेसको भूमिका लगायतका विषयमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजालसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रमा नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तृत गरिएको छ ।

संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवालाई तपाईहरुको सहयोग भयो हैन ?
गोप्य मतदान भयो । यसका बारेमा केही बोल्न चाहन्न । तर जुन किसिमले बाहिर टिप्पणी भयो त्यो उचित होइन ।

देउवालाई तपाईको बलियो समर्थन थियो रे ? तपाईकै कारण उहाँ दलको नेता चुनिन सफल हुनुभयो ।
मैले गोप्य मतदान गरेको हुँ । मेरा कारणले उहाँ दलको नेता हुने भए त विगतमा उहाँ सभापति नै बन्नुहुन्थेन । सभापतिको चुनावमा त म उहाँको विपक्षमा थिएँ ।

पछिल्लो समय त तपाई देउवा समुहमा जानुभयो भन्ने चर्चा छ नि ?
म यसबारेमा टिप्पणी गर्न चाहन्न । आफूलाई अन्तरयामी ठान्ने संचारकर्मीलाई यति मात्रै भन्न चाहन्छु कि राजनीति मेरा लागि सय मिटर दौड होइन । म पहिलोपटक जेल परेको ४१ वर्ष भएको छ । यसअर्थमा मेरा लागि राजीतिक म्याराथुन रेस हो । लामो यात्रामा छु । जसरी आजसम्म चलेँ, त्यसरी नै चाल्छु । चाट मसाला जसरी समाचार बेच्नेहरुको पेशा राम्रोसँग चलोस् । मेरो शुभकामना छ ।

प्रमुख सचेतक बन्नका लागि तपाई देउवातिर गएको आरोप छ नि ?
अहिले कांग्रेस संसदमा सानो आकारमा उस्थित छ । संसदमा मेरो भूमिका प्रभावकारी हुन्छ भन्ने विश्वास सबैलाई छ । त्यसैले मलाई प्रमुख सचेतक बनाउनुपर्ने आवश्यकता छैन । अरु कोही साथी बन्नुहुन्छ ।

तपाई प्रमुख सचेतक बन्नुहुन्न ?
बन्दिन । मेरो भूमिका प्रभावकारी हुन्छ भन्ने अपेक्षा पार्टीले राख्ला । तर मेरा लागि प्रमुख सचेतकको पद कुनै आकर्षकको पद होइन । यो पदका लागि मेरो मत विक्रि हुँदैन । तर कांग्रेस चुनौतिको सामान गर्नुपर्ने बेलामा एकअर्कालाई कालो पोतेर हिँड्नु हुँदैन । आगामी १४आँै महाधिवेशनबाट कांग्रेस नयाँ नेतृत्वमा पुग्छ । त्यसका लागि म क्रियाशिल हुन्छु । त्यसैले नयाँ नेतृत्वमा पुग्नुअघि शेरबहादर र रामचन्द्रको भूमिका महत्वपूर्ण हुन्छ । उहाँहरुलाई अपमान गरेर होइन, सम्मान गरेर अहिलेको संक्रमणकालको अन्त्य गर्नुपर्छ । कसैलाई गाली गलौज गरेर राम्रो हुँदैन ।

संसदीय दलको निर्वाचनमा सर्वसम्मत गराउनका लागि तपाईले किन पहल गर्नुभएन ?
कांग्रेसभित्रको गुट अन्त्य गर्नका लागि मैले धेरै प्रयास गरेको छु । कांग्रेसभित्र स्थायी प्रकृतिको गुट बनेको छ । किसुनजीको पालादेखिको गुट अझै छ । पार्टीमा विचार समुहहरु बन्छन् । तर हामीकहाँ विचारमाभन्दा व्यक्तिमा केन्द्रित गुट बनेको छ । आगामी महाधिवेशनदेखि यस्ता गुट रहँदैनन् भन्ने संकेत अहिले नै देखिएको छ ।

१४ आँै महाधिवेशनबाट गुटको अन्त्य हुने आधार के छ ?
मैले १३आँै महाधिवेशन सकिएलगत्तै बोलेको थिएँ, अबको महाधिवेशनमा देउवा र रामचन्द्रबिच प्रतिस्पर्धा हुँदैन । अहिले पनि यो रेकर्ड छ । १४ आँै महाधिवेशनमा नयाँ पुस्ताबिच नेतृत्वका लागि प्रतिस्पर्धा हुन्छ । यसका लागि म क्रियाशिल हुन्छु । समग्र कांग्रेस पनि त्यही बाटोमा हिँडेको छ । तर अहिलेको संक्रमणकालमा देउवा र पौडेलको भूमिका आवश्यक छ ।

कांग्रेसले चुनाव हारेपछि किन समिक्षा हुन सकेन ?
कांग्रेसले हारेको छैन भनेर कसैले भन्न सक्दैन । भविष्यमा कांग्रेसलाई बलियो बनाउनका लागि धेरै आधार छ । अहिले त दुईवटा कम्युनिष्ट पार्टी मिल्दा पनि ४७ प्रतिशत जति मत ल्याएका छन् । हामीले अरु ८ प्रतिशत जति मत थप्न सक्नुपर्छ । यति गर्न सकिएन भने जनताको प्रिय पार्टीको रुपमा स्थापित हुन सकिदैन । तर यसका लागि शेरबहादुर देउवा वा रामचन्द्र पौडेललाई गाली गरेर हुँदैन ।

अब संसदमा कांग्रेसको भूमिका कस्तो हुन्छ ?
समृद्धिको यात्रामा अगाडि बढ्नका लागि दरो र खरो प्रतिपक्षको भुमिका आवश्यक छ । त्यसैले कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्छ । संविधानका संरचनालाई भत्किन नदिने गरी कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्छ । यसका साथै कांग्रेसले आफ्नो संक्रमणलाई पनि पार लगाउनुपर्ने छ ।

कांग्रेसभित्र अर्ली महाधिवेशनको चर्चा पनि छ । यसमा तपाईको धारणा के हो ?
महाधिवशेनका लागि त २५ प्रतिशत सदस्यहरुले पार्टी सभापतिप्रति विश्वास छैन भनेर लेखेर दिने हो भने विशेष महाधिवेशन भइहाल्छ । तर त्यतातर्फ म जान्न । तत्काल हामीलाई निर्वाचनको समिक्षा चाहिएको छ । केन्द्रिय कार्यसमितिमा केही गृहकार्य गर्नुपर्ने छ । कांग्रेसको संरचना देशको नयाँ संरचनाअनुसार रुपान्तरण गर्नुपर्ने छ । यसतर्फ ध्यान केन्द्रित गर्नुपर्ने छ । वैशाखसम्ममा महासमितिको बैठक बोलाएर विधान संशोधन गरेर नयाँ संरचनामा जानुपर्ने अहिलेको आवश्यकता हो । यो सबै कामका लागि देउवा र पौडेलको आवश्यकता हुन्छ । तर १४आँै महाधिवेशनमा उहाँहरुले नयाँ पुस्तालाई नेतृत्व लिने वातावरण बनाउनुपर्छ ।

प्रतिक्रिया