बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २०:४९ | Washington DC: 11:04

जावलाखेलमा डाक्टर र प्रत्यारोपण गरेका विरामीबीच फूटबल खेल हुने !

काठमाडौं । राजधानीमा अंग प्रत्यारोपण गरेका नागरिकलाई हौसला प्रदान गर्न खेलकुद कार्यक्रम आयोजना भएको छ । बुधबारदेखि राजधानीको बालाजु स्थित ‘बालाजु डो–प्रतिष्ठानमा शुरु भएको ‘नऔँ नेपाल राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगीतामा’ अधिकांश प्रत्यारोपण गरेका व्यक्तिहरु सहभागी छन् ।

विहिबार प्रतिष्ठानको हलमा ‘ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय कराते प्रशिक्षक ध्रुव विक्रम मल्लका अनुसार विहीबार लगनखेल स्थित नेपाली सेनाको खुलकुद मैदानमा अन्य विधाको खेल प्रतियोगिता हुने छ ।

‘यो प्रतियोगिता जनचेतना अभियान अन्तर्गत गरेका हौं । एक पटक अंग प्रत्यारोपण गरपछि पनि सरल मान्छेले जस्तै सक्रिय हुनसक्छन् भन्ने हौसला प्रदान गर्न हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने,‘मृगौला लगायत अंग प्रत्यारोपाण गर्नु सामान्य हो । र यो गरेपछि खेलकुद लगायत गतिविधिमा सक्रिय हुनसक्छौँ भन्ने अभियान हामीले थालेका छौँ ।’

मल्लका अनुसार अन्य काममा समेत अंग प्रत्यारोपण गरेका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अधिकांश मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले भाग लिएका छन् । यो प्रतियोगिता पोखरा धरान, बुटवल लगायत ठूला शहरमा समेत भइसकेको छ ।

बुधबार शुरु भएको ‘ब्याटमिन्टन’ प्रतियोगितामा ४० वर्ष माथिका पुरुष र ४० वर्ष मुनिका महिलाबीच छुट्टा छुट्टै प्रतिष्पर्धा भइरहेको छ । विहीबार फेरी लगनखेल सैनिक मैदानमा सय मिटरदेखि ४ सय मिटरसम्मको दौड प्रतियोगिता र फूटबल खेल हुने छ । फूटबल खेलमा भने डाक्टरको समुह र प्रत्यारोपण गरेका विरामीबीच खेल हुनेछ । मल्लका अनुसार विहीबार नै विजयी खेलाडीलाई पुरस्कार वितरण गरिनेछ ।

‘प्रत्यारोपण गरेका अधिकांश व्यक्ति कुनै कुनै काममा हुन्छन् । तर, उनीहरुलाई भेट गराउने र खेलकुदमा सक्रिय बनाउने यो माध्यम हो,’ उनले भने,‘मैले मृगौला ट्रान्सप्लान गरेको १९ वर्ष भयो । मेरो क्रियाकलाप देखेर उहाँहरु सबै खुसी हुनुहुन्छ । हामीलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी अधिकृत डा. पुकारचन्द्र श्रेष्ठ र गायीका अनिछोइङ डोल्माले हौसला प्रदान गर्नु भयो ।’ प्रतियोगिताका लागि आरोग्य प्रतिष्ठान र मानव अंग प्रत्यारोपण केन्द्रले प्रायोजन गरेको हो ।

२०७४ फागुन २३ गते ११:३२ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी