वाङ्मयसेवी नगेन्द्र शर्मा रहेनन्

इनेप्लिज २०७४ फागुन २५ गते २२:१७ मा प्रकाशित
नेपाली वाङ्मयका दीर्घ साधक नगेन्द्र शर्माको आज २५ फागुनका दिन काठमाडौंको ओम हस्पतालमा उपचारको क्रममा निधन भएको छ । वि.सं.१९९१ मंसिर ६ का दिन भारतको खरसाङ्, दार्जीलिङमा  माता हरिप्रिया र पिता नन्दप्रसाद सर्माका सुपुत्रका रुपमा जन्मेका उनले अँग्रेजीमा एमए तथा कानूनमा एलएलवी गरेका थिए ।
३० वर्षे केटाको रुपमा घुम्न आएका उनी नेपालमै वसे ।
साहित्यको क्षेत्रमा उनी नगेन्द्र , नगेन्द्र शर्माका नामले रचना प्रकाशन गरेका छन् र उनी नगेन्द्र शर्मा ढुँगानाको रुपमा समेत चिनिन्थे ।
उनको पहिलो प्रकाशित कृति नगेन्द्रका निवन्ध(२०२६) थियो । उनका अरु कृतिहरुमा अण्डादेखि भ्यागुतासम्म(२०४२), वनारसमा वेचिएकी वहिनी(२०४७),इसाई पुराण नेपाल खण्ड(२०४५), तर्क वितर्क(नेपाली र नेवारीमा २०४०), छासमिस मासमिस(सन् २००५), सम्झाउनी विर्साउनी( सन्२००५), कथा क्यानादा (२०६६) , अनुसंस्मरण(आत्मकथा २०६८) तथा नगेन्द्रका २५ निवन्ध(२०७४) रहेका छन् ।
उनको कलम अँग्रेजीमा पनि प्रखर रुपमा चल्दथ्यो । हँग्रजी भाषामा उनका मौलिक कृतिका साथै लोकगीत समेत रहेका छन् । उनको फोल्क टेल्स अफ नेपाल भारत तथा सिंगापुरवाट समेत प्रकाशित भएको थियो र जापानी भाषामा समेत अनुवाद भै प्रकाशित भएको थियो ।
उनका अँग्रजी भाषाका अरु कृतिहरुमा दिस इज नेपाल(सन् १९७७), नेपाल एट ए ग्लान्स(सन् १९८७), नेपाल ए टू जेड( सन् १९७८), नेपाली लिटरेचर इन ए नटसेल(सन् १९८३), नेपाल: सम टेल्स, सम ट्रुथस्( सन् १९७७), सेक्ेटस् अफ साँग्रीला( सन् १९९२), सिट अफ स्नो (नेपाली कथाहरुको अनुवाद सन् १९९७) नेपाल्स रिलेसन विथ सिक्किम एण्ड भुटान(सन् २००२) रहेका छन् ।
रेडियो नेपालकी ख्यातिप्राप्त गायिका सोफिया शर्मा यिनकी धर्मपत्नी थिईन् जो झण्डै ४२ वर्षे दाम्पत्य जीवन पछि २०६६ साल वैशाख १० गते वितेपछि यिनी एक्लो भएका थिए ।
आफ्नो जीवनकालमा शाही नेपाल वायुसेवा निगम, गोरखापत्र संस्थान, औद्योगिक व्यवस्थापन लिमिटेड जस्ता संस्थाहरुमा सफल
कार्यकाल विताएका यिनी पछिल्लो समय शुभश्री फाइनान्स तथा शुभश्री कलेजमा समेत रहेका थिए र शुभश्री फाइनान्स धराशायी भएपछि लगभग यिनको एकान्तवास शुरु भएको थियो ।
उनका भतिजा नरोत्तम ढुँगानाले मार्च ६ का दिन फेसवुकमा स्टाटस लेखेका थिए” मेरो काकाको सवै साथीहरुमा जनाउन चाहन्छु कि उहाँको स्वास्थ्य धेरै खराव भैसकेकोले आइसियूमा हुनुहुन्छ ” ।
उनी मृगौला रोगी थिए र डायलासिस गराइरहेका थिए ।
(सौजन्य: www.vpkonlinenews.com)

प्रतिक्रिया