दुर्घटनाका दृश्यहरु, आगोको मुल्सो भित्रबाट सकुशल मानिस निस्कने देखी मृत भनेको शब चल्नेसम्म(भिडियो)

इनेप्लिज २०७४ फागुन २९ गते १०:३४ मा प्रकाशित
करिब साढे २ बजेतिर प्रहरीको सञ्चार सेटमा जानकारी आयो, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भयो ।’ लगत्तै, एसएसपी पोखरेलको गाडी विमानस्थलतर्फ लाग्यो । विमानस्थल परिसरमा पुग्दा धेरै सञ्चारकर्मीहरु भित्र जाने अनुमतिको अभावमा बाहिरै बसिरहेका थिए । दुर्घटना भएको ठाउँमा पुग्दा त्यहाँ व्यापक भिड लागिसकेको थियो ।
सुरक्षाकर्मीले विमानबाट शव निकालेर लस्करै राखेको ठाउँमा पोको पारेर राखेको ठाउँमा एउटा शव हल्लिएको एक व्यक्तिले सुनाए । लगत्तै सबैको ध्यान त्यहीँ केन्दि्रत भयो । त्यसबेला प्रधानमन्त्री केपी ओली बोलिरहेका थिए । लगत्तै, प्रधानमन्त्री ओलीलाई छाडेर राष्ट्रिय/अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहित अन्य व्यक्ति त्यसतर्फ हानिए । हतार-हतार त्यो झोलालाई नै एम्बुलेन्समा हालियो
सेना लस्करै बसेर एक व्यक्तिबाट अर्को गर्दै सामान पास गरिरहेका थियो । त्यतिकैमा सेनाका एक जवानले समातेको ब्याग फुत्त अर्कोलाई पास गरिदिए । त्यहाँ हेर्दा ब्यागको एक भागमा मानिसको हातको टुक्रा टाँसिएको देखियो । उनीहरुले त्यो ब्यागलाई हतार-हतार अर्का सरकारी अधिकारीतर्फ सारे । र, सबै सामग्रीलाई एकीकृत गरेको ठाउँमा थन्क्याए ।उद्दारकर्ताहरु यात्रुलाई उद्दार गरेर निकाल्दै थिए, हठात् एक महिला सबैलाई चकित बनाउँदै विमानबाट फुत्त बाहिरिइन् । खाइलाग्दो मोटो ज्यान भएकी ती युवतीले निस्किने वित्तिकै मोबाइल झिकेर फोन डायल गर्न खोजिन् ।
नजिकै एम्बुलेन्सहरु राखिएका थिए । अलि अगाडि पुगेपछि उनी अत्ताल्लिँदै एम्बुलेन्समा चढिन् । उनी बंगलादेशी नागरिक सरिन अहमद रहिछिन् । उनको जिउको कपडामा आगो सल्किएको देखिन्थ्यो ।विमानबाट एक युवक खुट्टाले झ्याल फुटाएर बाहिर निस्किए । अर्का युवक रगत्ताम्मे थिए । यद्यपि, उनी चिच्याउँदै आफैं निस्किए.भिडियोमा हेर्नुहोस

प्रतिक्रिया