ब्ल्याक बक्स, ककपिट भ्वाइस रेकर्ड अध्ययन नगरी पाइलटलाई दोष लगाउन मिल्दैन : महानिर्देशक गौतम

इनेप्लिज २०७४ फागुन २९ गते १०:४२ मा प्रकाशित

सोमबार त्रिभुवन विमानस्थलमा भएको ठूलो दुर्घटनापछि नेपालको हवाई आकाश र विमानस्थलको सुरक्षामाथि नै प्रश्न उठेको छ । त्यसो त नेपालमा भएको सोमबारको दुर्घटना पहिलो होइन । तर पनि हरेक दुर्घटनापछि नेपालको आकाशको सुरक्षाका बारेमा चर्चा हुने गर्दछ । यसै सन्दर्भमा ऋषि धमलाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जिव गौतमसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाको कारण के रहेछ ?
उक्त दुर्घटनाबारे सत्य तथ्य पत्ता लगाउनका लागि जाँच आयोग गठन भइसकेको छ । उक्त आयोगले नै सबै कुरा पत्ता लगाउँछ । अहिले नै केही भन्न सकिने अवस्था छैन ।

तपाई नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक भएको नाताले केही जानकारी त लिनुभयो होला नि ?
दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स, ककपिट भ्वाइस रेकर्ड लगायतका सम्बन्धित उपकरणहरुको अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्न सक्छ । यि दुई सामग्रीको सुक्ष्म अध्ययन गरेपछि मात्रै खास कारण पत्ता लाग्छ । पाइलटको कमजोरी, प्राविधिक गडबडी, इन्जिनमा खराबी वा अरु कुनै समस्या थियो अहिले नै भन्न सकिदैन । ब्ल्याक बक्स र ककपिट भ्वाइस रेकर्डको अध्ययनबिना भनिने सबै कुरा अनुमान मात्रै हुन् ।

विमानस्थलको कन्ट्रोल रुमले भनेअनुसार पाइलटले निर्देशन नमान्दा दुर्घटना भएको भनिएको छ नि ?
पाइलटले जहाज अवतरण गर्ने क्रममा समस्या भएको भन्ने कुनै पनि जानकारी गराएको थिएन । त्यसैले पाइलटले टेरेन र दुर्घटना भयो भन्ने अवस्था पनि रहेन । त्यसैले ब्ल्याक बक्स र ककपिट भ्वाइस रेकर्डको अध्ययनबिना भनिने सबै कुरा अनुमान मात्रै हुन् ।

बिमानस्थलमा अवतरण गर्न कुनै समस्या भएकाले दुर्घटना भएको हो त ?
जहाज जसरी आउनुपथ्र्यो, त्यसरी आएको देखिदैन । रनवेलाई बिचमा पारेर जहाज अवतरण गर्नुपर्नेमा अर्कैतिरबाट अवतरण गर्न खोजेको देखिन्छ । तर वास्तविक कारण के थियो भन्ने कुरा त सम्पूर्ण रुपमा विश्लेषण नगरी भन्न सकिदैन । यो ठूलो प्राविधिक विषय हो ।

विमानस्थल साँघुरो भएकाले दुर्घटना भएको भन्ने तर्क गरेका छन् नि ?
विमानस्थल साँघुरो भएकाले दुर्घटना भएको भन्ने कुरामा हामी विश्वास गर्दैनौँ । एकपटकमा एउटा जहाज उडान र एउटा अवतरण मात्रै गर्ने हो । विमानस्थलका कर्मचारी र पाइलट वेल ट्रेन्ड हुन्छन् । हामीसँग पर्याप्त आवश्यक पूर्वाधार र आपतकालिन अवस्थामा चाहिने सामग्रीहरु छन् ।

नेपालमा एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएकाले पनि आपतकालिन अवस्थामा समस्या त थपिन सक्छ नि ?
हो । माग बढिरहेको छ । विमानहरुको चाप पनि बढि छ । वर्तमान भौतिक संरचनाले धान्न सक्ने अवस्था छैन । त्यसैले अरु ठाउँमा पनि विमानस्थल बनाउने काम भइरहेको छ ।

नेपालमा हुने हरेक दुर्घटनापछि छानविन हुन्छ, प्रतिवेदन सार्वजनिक गरिन्छ । तर दुर्घटना रोकिदैन । किन होला ?
नेपालमा धेरै हवाई दुर्घटना भएको छ । जति पनि प्रतिवेदन बनेका छन्, तिनको कार्यान्वयन भएन भन्ने होइन । सबै प्रतिवेदनको अध्ययन गरेका छौँ । कार्यान्वयनका लागि सिफारिस गरिएका सुझाबहरु ८० प्रतिशत लागु गरिएको छ । १० प्रतिशत सिफारिस आंशिक रुपमा लागु भएका छन् । बाँकी १० प्रतिशत सिफारिसहरु विभिन्न कारणले लागु गर्न सकिएको छैन ।

जुन किसिमको प्रतिवेदन आउँछ, त्यसलाई कार्यान्वयन गर्न प्राधिकरण सक्षम छ त ?
हामी प्रतिवेदनअनुसार आएका सिफारिसअनुसार कार्यान्वयन गर्न तयार छौँ ।

कन्ट्रोल रुम र पाइलटबिचको सम्वाद नै सार्जजनिक भएको छ । यो कसरी भयो ?
उक्त सम्वाद कसरी सार्वजनिक भयो भन्ने कुरामा हामी चकित छौँ । त्यो बाहिर आउनुपर्ने विषय होइन । कन्ट्रोल रुम र पाइलटबिचको संवाद भनेको एकदमै गोप्य हुनुपर्छ । उक्त संवाद दुर्घटना जाँच आयोजबाहेक अरुले हेर्न,सुन्न पाउँदैनन् ।

संवाद सार्वजनिक हुनुमा त विमानस्थलकै कर्मचारी जिम्मेवार होलान् । अब के गर्नुहुन्छ ?
सार्वजनिक हुनु राम्रो कुरा होइन । कसले सार्वजनिक गर्यो भन्ने विषयमा छानबिन गरिरहेका छौँ ।

प्रतिक्रिया