साहित्यकार खत्रीलाई लाखको पुरस्कार

इनेप्लिज २०७४ चैत १ गते २२:१० मा प्रकाशित

समाचारदाता

१५ मार्च , बोस्टन अमेरिका

साहित्यकार गीता खत्रीलाई यसवर्षको “अनेसास भवन भट्ट विशिष्ट महिला साहित्य पुरस्कार ” प्रदान गरिने भएको छ ।

बिदेशमा रहेर नेपाली साहित्यको उन्नयनमा विशिष्ट योगदान दिए वापत खत्रीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो |

नेपाली साहित्यलाई विश्वव्यापिकरण गर्न सकारात्मक किसिमले बिशेष योगदान गर्ने एकजना नेपाली महिला साहित्यकारलाई हरेक दुई-दुई बर्षमा उक्त पुरस्कार प्रदान गर्ने गरिन्छ |

एनआरएन अध्यक्ष भवन भट्टद्वारा स्थापित उक्त पुरस्कारको रकम अमेरिकी डलर एकहजार ( नेरु. एकलाख भन्दा बढी ) रहेको छ ।

अनेसास केन्द्रीय कार्यसमितिद्वारा समालोचक लीला लुइँटेलको संयोजकत्वमा गठित विन्दिया सुब्बा र उन्नती बोहरा शीला रहेको पुरस्कार छनोट समितिले साहित्यकार खत्रीलाई पुरस्कारका लागि छनोट गरेको हो ।

यही मार्च २४ र २५ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा भारतको सिक्किममा हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मेलनका अवसरमा उक्त पुरस्कार समर्पण गरिनेछ । पुरस्कृत अनेसासका पूर्व अध्यक्ष तथा बोर्डअफ ट्रष्टीका उपाध्यक्ष गीता खत्रीका कथा, कविता, गजल, नियात्रा, गीतलगायतका विधामा कृति प्रकाशित छन् ।

यसैगरि सम्मेलनमा नेपाली साहित्यमा विशेष योगदान गर्ने साहित्यकार डा.शान्ति प्रधान क्षेत्री (भारत), कविता पौडेल (नेपाल), प्रमिला शर्मा (अमेरिका) र शकुन्तला ज्ञवाली (अमेरिका) लाई अनेसास विशिष्ट सम्मान प्रदान गरिने भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको जानकारी महासचिव गोवर्धन पूजाद्वारा प्रेषित बिज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया