आशा लाग्दा मन्त्री रविन्द्र अधिकारी भन्छन्, “छोटो अवधिमा नै जनताको विश्वास जित्छु” (अन्तरवार्ता)

इनेप्लिज २०७४ चैत ३ गते १०:४८ मा प्रकाशित
 केपी ओली नेतृत्वको सरकारमा आशा लाग्दा नेता रविन्द्र अधिकारी पर्यटन मन्त्री बनेका छन् । नेपालमा पर्यटन क्षेत्रको विकास गर्न सके समग्र आर्थिक अवस्थामा सुधार हुने सम्भावना प्रबल छ । तर अहिलेसम्म प्रभावकारी काम हुन सकेको छैन । नवनियुक्त पर्यटनमन्त्री अधिकारीसँग ऋषि धमलाले पर्यटन क्षेत्रको सुधारका लागि केके गर्न सकिन्छ भन्ने विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको छोटो कुराकानीको सम्पादति अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई मन्त्री बन्नुभएकोमा जनता उत्साहित छन्, काम गर्न सक्नुहुन्छ ?
जनताको अपेक्षाअनुसार काम गर्नैपर्छ । म काम गर्न सक्छु । छोटो अवधिमा नै जनतामा विश्वास हुने गरी काम गर्नेछु ।

पर्यटन क्षेत्रको विकासका लागि केके योजना छन् ?
मन्त्रालय र त्यससँग सम्बन्धित निकायहरुकाबिच समन्वय गरेर रोडम्याप तयार पार्नेछु । के काम गर्ने, कहिलेसम्म गर्ने भन्ने सबै कुरा पारदर्शी बनाउँछु । कुनै पनि योजनाको सत्य तथ्य विवरण सबैल थाहा पाउने सयन्त्र बनाउँछु ।

नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउनुपर्ने चुनौति कसरी पार लगाउनुहुन्छ ?
नेपालमा आउने पर्यटनको संख्या अहिलेको भन्दा दोब्बर तेब्बर बनाउनुपर्नेछ । कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई २५ प्रतिशतमा पुर्याउनुपर्नेछ । चाहे विमानस्थलको कुरा होस्, चाहे जहाजको कुरा होस्, तथा होटल लगायतका पर्यटनसँग सम्बन्धित पूर्वाधार । यि सबै सन्तोषजनक नभएकाले यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

पर्यटन संख्या बढाउन के गर्नुहुन्छ ?
अन्तर्राष्ट्रिय पर्यटक ल्याउने लैजाने संघ संस्थाहरुसँगको सहकार्यमा पर्यटक संख्या बढाउन सकिन्छ । अहिलेसम्म नेपालमा पर्यटक आउने भनेको सामान्य प्रचारका आधारमा मात्रै हो । अब ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा नेपालमा पर्यटक संख्या बढाउने योजना ल्याउँछु ।

नेपालमा विमानस्थलको समस्या छ । हवाई असुरक्षा छ । कसरी समस्या समाधान गर्नुहुन्छ ?
दोस्रो अन्तराष्ट्रिय निजगढ विमानस्थल म संसदको विकास समितिमा हुँदा नै आयोजना कार्यालय राख्ने, सिमा निर्धारण गर्ने र व्यवस्थापकिय कामलाई अगाडि बढाउनका लागि मैले भूमिका निर्वाह गरेको हूँ । मलाई विश्वास छ, अब हामी कसरी अगाडि बढ्ने भन्ने योजना बनाउँछौँ ।

योजनाहरु कार्यान्वयन हुन त समय लाग्ला । अहिले तत्काल गर्न सकिने कामहरु केके छन् ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरउन्नतिको काम भइरहेको छ । त्यसलाई तत्काल गति दिने काम गर्छु । नेपाली आकाश सुरक्षित छ भन्ने विश्वास सृजना गर्छु ।

अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थल एकै ठाउँमा हुनुहुँदैन भन्ने आवाज उठेको छ । यसका लागि के गर्न सकिन्छ ?
जहाँ उडान सुरक्षित हुँदैन, त्यहाँ विमानस्थल हुनुहुँदैन । यसका लागि हवाई सुरक्षा नीति अपनाउनुपर्छ । तर भैरहवा विमानस्थल एक वर्षमा, पोखराको तीन वर्षमा निर्माण सकिन्छ । त्यसैगरी निजगढ विमानस्थललाई ६ वर्षभित्र निर्माण सकिन्छ । त्यसपछि समस्या समाधान हुन्छ । अहिले भने तत्काल एयर ट्राफिक समस्या समाधान गर्न सकिदैन । यद्यपी सबै सम्भावनाको खोजी गरिनेछ ।

प्रतिक्रिया