टेण्डर हर्टस् फाउण्डेसनद्वारा विमान दुर्घटनामा दिवँगतहरुको सम्झनामा दीप प्रज्वलन

इनेप्लिज २०७४ चैत ५ गते २३:२९ मा प्रकाशित
टेण्डर हर्टस् फाउण्डेसनको आयोजनामा भर्जिनियाको राजधानी मन्दिरको परिसरमा हालै नेपालमा युएस वाङ्गला विमान दुर्घटनामा दिवँगतहरुको सम्झनामा मैनवत्ती वालेर तथा तिनका नाममा वेलून उडाएर श्रध्दा अर्पण गरियो । सो अवसरमा राजधानी मन्दिरका नेपाली पण्डित मोतीलाल शर्माले बैदिक मन्त्रोच्चारण गर्दै श्रध्दा अर्पण गरिएको थियो ।
साथै आयोजकका तर्फवाट र केही उपस्थित मध्येवाट समेत श्रध्दा व्यक्त गरिएको थियो । सो अवसरमा हालै दिवङगत भएका हर्डन निवासी सुदर्शन सिग्देलप्रति पनि शोक व्यक्त गरिएको थियो ।
कार्यक्रमको अन्तमा दिवङ्गतहरुको नाममा उडाइएका वेलुनहरु माथिमाथि आकाशमा पुग्दा ती दिवङ्गतहरु त्यसरी टाढा टाढा गऐको जस्तो मानेर उपस्थितहरुले हेरेको दृश्य निकै भावुक देखिन्थ्यो ।
 तर कार्यक्रमको आयोजनामा केही खट्केका कुराहरु पनि रहेका थिए । आयोजकहरुले  विमान दुर्घटनामा दिवङ्गत भने पनि सो विमानमा दिवङ्गत विद्यार्थीहरुको लागि मात्र सो आयोजना गरेको वुझिन्थ्यो । किनभने तिनका मात्र तस्वीर त्यहाँ देखिन्थे ।
सो दुर्घटनामा दिवङ्गत कोको हुन् सो समेत कसैले त्यहाँ वताइदिएको भए कार्यक्रमको सार्थकता वढ्ने थियो । आगामि दिनमा कार्यक्रम गर्दा थप गृहकार्य गर्नुपर्ने देखिएको सहभागीहरुको मत रहेको वुझिन्थ्यो ।
(www.vpkonlinenews.com को सौजन्य)

प्रतिक्रिया