चितवनको कालिकामा ३ दिने पशुपालन तालिम समापन

इनेप्लिज २०७४ चैत ७ गते १६:२९ मा प्रकाशित

खोलेसिमल, चितवन, ७ चैत्र ।
चितवनको कालिका नगरपालिका वडा नं. ६ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका किसानहरुलाई ३ दिने गाईभैसीपालन तालिम दिइएको छ । कालिका नगरपालिका पशु सेवा शाखाको सहयोगमा भएको कार्यक्रममा संस्थाका ४० जना किसानहरुको सहभागीता रहेको थियो । तालिममा किसानहरुलाई पशु स्वास्थ्य, रोगहरु, आहार व्यवस्थापन, घास उत्पादन र गोठ व्यवस्थापनका विषयमा जानकारी दिइएको थियो । तालिममा जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डा. चेतनारायण खरेल, पशु सेवा शाखा कालिकाका पशु चिकित्सक सीताराम मरहठ्ठा, पशु सेवा प्राविधिक ईश्वरी पौडेल र रुद्रराज पन्तले सहभागीहरुलाई सहजीकरण गरेका थिए । आज बुधबार आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईको अध्यक्षतामा समापन भएको थियो ।

त्यसैगरी कालिका नगरपालिका र राष्ट्रिय अपाङ्ग कोषको सहकार्यमा आज नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहायक सामाग्री नापजाँच शिविर सम्पन्न भएको छ । उनीहरुलाई निशुल्क रुपमा सामाग्री उपलब्ध गराउने उद्देश्यले सो शिविर गरिएको हो । नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुलाई आज गरिएको परीक्षण पश्चात निशुल्क रुपमा आवश्यक पर्ने ह्विल चेयर, बैशाखी, सेतो छडी, जुत्ता, कृत्रिम हातखुट्टाहरु समेत उपलब्ध गराइने जनस्वास्थ्य शाखा कालिकाका प्रमुख विश्वनाथ रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया