सिरहामा दुई केन्द्राध्यक्ष र एक निरीक्षक निष्कासित

इनेप्लिज २०७४ चैत ८ गते ११:२४ मा प्रकाशित

लहान, चैत ८ । बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मर्यादित ढंगबाट सन्चालन नगरेको भन्दै सिरहाका दुईओटा परीक्षा केन्द्रका केन्द्राध्यक्ष र एक निरीक्षकलाई बिहीबार निष्कासन गरिएको छ ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा खटिएको परीक्षा अनुगमन टोलीले मर्यादित तरिकाबाट परीक्षा सन्चालन नगरेको भन्दै लहानस्थित पशुपति आदर्श मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष परमेश्वर राय र ब्रह्माण गोर्छारी परीक्षा केन्द्रका केन्द्राध्यक्ष रामभजन साहलाई निष्कासन गरिएको सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए ।

यस्तै, परीक्षामा परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै ब्रह्माण गोर्छारी परीक्षा केन्द्रमा खटिएका परीक्षा निरीक्षक गौरीनारायण यादवलाई पनि निष्कासन गरिएको जिशिअ महतोले बताए ।

निष्कासन गरिएको स्थानमा शुक्रबारदेखि अर्काे केन्द्राध्यक्ष र निरीक्षकले परीक्षा सन्चालन गर्ने जिशिअ महतोको कथन छ ।

त्यस्तै, सिरहाका तीनओटा परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई सचेत गराइएको र अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा बिहीबारको परीक्षा सम्पन्न भएको उनले बताए ।

यस वर्षको एसइई परीक्षामा जिल्लाका ७६ सामुदायिक र ५७ संस्थागत विद्यालयसहित १३३ विद्यालयका नियमिततर्फ ९ हजार २८४ र एक्जाम्टेडतर्फ ५९३ गरी ९ हजार ८७७ परीक्षार्थी सहभागी भएको जिशिअ महतोले बताए ।

प्रतिक्रिया