राष्ट्रबादी नेता बाँच्नु पर्छ : रामप्रसाद खनाल

इनेप्लिज २०७४ चैत १५ गते १:२८ मा प्रकाशित

हल्लै हल्लाको देशमा !
सल्लै सल्लाहको देशमा
फुटै फुटको देशमा
लुटै लुटको देशमा !
पालै पालो
कहिले उसलाई
कहिले यसलाई
कहिले एक्लै
कहिले मिलिजुली
खान दिएकै हो !
जे जे भन्छन उनीहरु
हामीले ताली पिटेकै हो !
चौबाटोको बिचमा बसेर
लोकतन्त्र गणतन्त्र सँघीयता भन्दै
उनिहरुकै नाराको
जोक्कर सहित तास फिटेकै हो !
कहिले १६ बुँदे भने
कहिले १२ बुँदे

तीन बुँदे
चार बुँदे
सात बुँदे
नौ बुँदे
बुँदै बुँदा भन्दा भन्दै
म बुँदा बिर्सिने भैसकें !
लिखित सहमति
भद्र सहमति
नौ महिनाका खेल
यताका खेल
उताका खेल
बामपन्थी
दामपन्थी
खामपन्थी
काङपन्थी !
कतै फुटे जस्तो
कतै जुटे जस्तो !
खेलै खेल खेल्दा
दिन बिते
महिना बिते
बर्ष बिते !
हजुर बा बिते
बा बिते
अब मेरै पालो आउन थाल्यो !
सम्झना छैन मलाई सबै
कति भए बुँदै बुँदाका सहमतिहरु
गर्लान नि केही भन्दै
थाँती राखेँ मेरा असहमतीहरु !
३० बर्ष देखी तिर्खाएको घाँटी
मेलम्चीको पानीले भिजाउँला भन्दा भन्दै
भाखा फेरिरहेको मेलम्ची पनि
आज आउँछु भोलि आउँछु भन्दै
मलाई ककाकुल बनाईरहेछ !
अँस्ती भर्खर भन्देखिलाई
एउटा ठुला तर
बोली नफुटेका नेतालाई बिदा गरेँ !
अर्का राष्ट्रबादी नेताको स्वागतमा
रातो कार्पेट बिच्छाएँ !
अर्का धुर्तलाई पनि
पालो कुराएकै छु क्यारे !
एउटा महान नेता निस्के
राजनेता निस्के
चमत्कार गर्छु भन्ने चटकेलाई पनि
बिर्साउने नेता निस्के
घिर्साउने नेता निस्के
उनका भासण सुने
उखान टुक्का सुने
हावाबाट निस्किने बिजुली
चुलो चुलोमा ग्यास पुर्याइदिने
आश्वाशन सुने
छुकछुके रेल चढेर
पानी जहाजमा
नेपालको झन्डा हल्लाउन
समुन्द्र हानिने बिचार गरेँ
मैले सोंचिन त्यो बेला
समुन्द्र कहाँ छ र जहाज चलाऊने ??
यत्तिकैमा
फेरी नेताले भासण छोडे
दुई बर्ष भित्र रेल चलाऊँछु
पानी जहाजमा यात्रु
यता उती गराउँछु
छक्कै पार्छु
सबलाई देखाउँछु !
तै फेरी चुला चुला ग्यास पनि भन्लान कि भनेको
भुलेछन क्यारे भासणमा !
हुन त दिनक्कै उनका यस्ता भासण
कति सुनिन्छ कति
छुट भए फेरी थप्ने होलान !
यत्तिकैमा अर्को समाचार सुनेँ
देख्दा काला काला
धेरै राम्रा भनिने नेता मन्त्रीज्यूले
बिदेशमा रगत र पसिना बेचेर कमाउने
रेमीट्यान्स जती देश चलाऊन
वहाँहरुलाई नै थमाउने
वाध्य, बिबश नेपालीहरुलाई
भूपु नेपाली भनेको !
आफु महान बनेको !
आफुहरु मात्र बर्तमान नेपाली भनेको !
धुलो, धुँवा, अन्याय, अत्याचार
घुसखोरी, भ्रस्टाचार सबै सबै
हर क्षेत्रमा अराजकता
अन्यत्र त कुरै छोडौं
अदालत भित्रै पसिसक्दा पनि !
तर
उखान टुक्का भासणको बहार छ !
म दाश बनेर ताली पिटिरहेकै छु ।
नेता जुवाड गरेको किड्नीमा मस्त छन
तर आफ्नै किड्नी भएर के नापियो मेरो !
म बिरामी छु देश जस्तै !
थाहा छैन
कुन बेला आर्यघाटले बोलाउँछ !
किनकी
म बिसादी युक्त खाना खान्छु
मिनिरल वाटर भन्दै जहर पिउँछु !
एक दिन होइन
एक महिना होइन बर्सै भरी !
ए काल अाइज
लैजा मलाई
बँचा नेताजीलाई !
किनकी
राष्ट्रबादी नेता बाँच्नु पर्छ
राजनेता बाँच्नु पर्छ !
म जिउँदै मरेको मान्छे
अब साँच्चै मर्न चाहन्छु
अाइज काल मलाई लैजा
अरुले नलैजा भन्छन
म लैजा भन्छु !
काल तिनछक परिस होला हैन ??
अाइज एक दिन जनतो भएर त बाँच
अनी बल्ल थाहा पाउलास !
मैले किन बोलाएको रहेछ भनेर !!
– रामप्रसाद खनाल, मार्च २३, २०१८

प्रतिक्रिया