तुलसी साहित्य पुरस्कार राज र खानलाई

इनेप्लिज २०७४ चैत १८ गते २:२६ मा प्रकाशित

बज्जिका भाषा र साहित्यको पुरानो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । समाजसेवी धर्मनाथप्रसाद जयसवालद्वारा स्थापित तुलसी साहित्य पुरस्कार २०७३ र २०७४ दुईजना युवाकविलाई प्रदान गर्ने निर्णय गरिएको छ । बज्जिकार्पण साहित्यिक पत्रिकाको एक वर्षमा प्रकाशित सम्पूर्ण अङ्कमा प्रकाशित कवितामध्ये उत्कृष्ट कविताका कविलाई सम्मानपत्रका साथै पाँच हजार एक रुपैयाको तुलसी साहित्य पुरस्कार प्रदान गरिन्छ । २०७३ सालको तुलसी साहित्य पुरस्कार युवाकवि संजय महतो राज र २०७४ सालको तुलसी साहित्य पुरस्कार युवाकवि रेहान खानलाई प्रदान गर्ने निर्णय गरिएको छ । पत्रिकाका प्रधान सम्पादक सञ्जय मित्र र पुरस्कार संस्थापक जयसवालको संयुक्त निर्णयले दुई वर्षको पुरस्कार एकैचोटि प्रदान गरिने भएको हो ।

आधा दशकभन्दा बढी समयदेखि बज्जिका भाषा र साहित्यको क्षेत्रमा सक्रिय राजका कविता, गीत तथा नाटक–एकांकी प्रकाशित छन्् । राजद्वारा लिखित नाटक बारम्बार प्रदर्शन पनि भइरहेको छ । बज्जिका भाषामा पहिलो गीति एल्बमसमेत निकाल्ने गायक तथा गीतकार, नाटककार र कवि तथा अभिनेता एवं निर्देशकसमेत रहेका बहुमुखी प्रतिभाका धनी राज रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियाका बासिन्दा हुन् । स्नातक अध्ययनरत कवि राजको नेपाली र बज्जिका भाषामा विभिन्न विधाका रचना प्रकाशित छन् । आफ्नो मातृभाषाको रीति तथा संस्कृतिमा लगाव रहेकोले बज्जिका साहित्यमा रुचि जागेको बताउने राजलाई प्राप्त हुने पहिलो औपचारिक पुरस्कार यही हो । पुरस्कार प्राप्त हुने निर्णयले आफूलाई खुसी तुल्याएको राजले बताएका छन् ।

सर्लाहीको पर्सा गाउँका युवा सर्जक रेहान खानको नेपाली भाषामा एउटा कविता सङ्ग्रह प्रकाशित छ । नेपाली भाषामा लेखिएका खानका कविताहरु राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित भइरहेका छन् । बज्जिकार्पण र गोरखापत्र दैनिकमा खानका दर्जनभन्दा बढी बज्जिका कविताहरु प्रकाशित छन् । नवयुवा पुस्ताका चर्चित कवि खान बज्जिका भाषालाई आफ्नो मातृभाषा बताउँदै मातृभाषा सबैलाई प्यारो हुने भएकोले मातृभाषाको सेवा गर्न बज्जिकामा कविता लेख्न थालेको बताउँछन् । बज्जिका भाषाको साहित्यसेवा गरेर पहिलो पुरस्कारको रुपमा तुलसी साहित्य पुरस्कार प्राप्त हुन लागेको सुनेर आफूलाई निकै खुसी लागेको खान बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं वरिष्ठ समाजसेवी जयसवालले पुरस्कारको अक्षय कोषमा डेढ लाख रुपैया जम्मा गरेका छन् । अक्षय कोषको ब्याजले नै पुरस्कार, सम्मानपत्र तथा वितरणको व्यवस्थापन गरिन्छ । केही समयमा पुरस्कारको रकम तथा अक्षय कोषमा थप वृद्धि गर्ने पनि जयसवालले जानकारी गराएका छन् ।

प्रतिक्रिया