मेरील्यान्डमा नयाँ बर्षमा सत्य नारायण पूजा, जुर शितलको साथै लाख बत्ती आरती गर्दै सम्पन्न

इनेप्लिज २०७५ वैशाख २ गते २२:४१ मा प्रकाशित

तस्बिर : राजिव श्रेष्ठ

विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकाको मेरिल्याण्ड स्थित नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्र (एनईसीसी) स्थित पशुपति बुद्ध मन्दिरमा नयॉ बर्ष २०७५ भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा बुद्ध पुजा , सत्य नारायण पुजा, लाख बत्तीको आरती ,जुर शितल सहित बिबिध कार्यक्रमको आयोजना गरियो । उक्त मन्दिर तथा सामुदायिक केन्द्रमा नयाँ बर्षलाई भव्य रुपमा स्वागत गर्दै डिसी महानगर क्षेत्र वरपर बसोबास गर्ने नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

बिहान देखि नै ध्यान तथा बुद्ध पूजा बाट सुरु गरिएको उक्त कार्यक्रम पश्च्यात सत्य नारायणको पूजाको आयोजना गरिएको थियो । सत्य नारायण पूजा सामूहिक रुपमा गरिएको थियो । पहिलो पटक जनकपुर मैथिली समुदायमा हजारौ बर्ष देखि मनाउदै आएको जुर शितल समुदायको बाक्लो उपस्थितिमा मनाईएको छ । जुरको अर्थ मेलमिलाप/समन्वय र शितलको अर्थ शान्ति भएको जानकारी अमेरिका नेपाल तराई संघ (एन्टा )का अध्यक्ष विजय कुमार सिंहले बताए ।

नेपाल का एक मात्र अर्ब पती बिनोद कुमार चौधरीले प्रदान गरेको बिशाल बुद्धको प्रतिमा वरपर बसेर बुद्ध ध्यान गरिएको थियो। यसै गरि सत्य नारायणको पूजा नेपाल सांस्कृतिक तथा सामुदायिक केन्द्र (एनईसीसी)भवनमा सामूहिक रुपमा गरिएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिद्या वारिधि ) ले औपचारिक कार्यक्रममा एनईसीसिको मुख पत्र (नमस्ते )पत्रिकाको बिमोचन गरेका थिए । यसको साथै बालबालिकाहरुले आफ्नो प्रस्तुति पनि गरेका थिए ।

यसको साथै डिसी क्षेत्रमा रहेका विभिन्न संघ/संस्थाहरुले शुभकामना आदान प्रदान समेत गरेका थिए । यसको साथै सामुदायिक भवन छेउ मै भर्खर निर्माण गरिएको मण्डप को उदघाटन फित्ता (रिवन ) काटेर राजदुत कार्कीले उद्घाटन गरेका थिए । मन्दिरमा आएका श्रद्धालु भक्तजन तथा नेपाली समुदायलाई भोजन गराइएको थियो ।

प्रतिक्रिया