हामी शिक्षामा आमूल परिवर्तन गर्न चाहन्छौँ : मन्त्री पोख्रेल

इनेप्लिज २०७५ वैशाख ३ गते १०:५१ मा प्रकाशित

सरकारले शिक्षक तथा सार्वजनिक पद धारण गरेका सबैलाई आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न आव्हान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै यस्तो आहृवान गरेका हुन् । कार्ययोजनामा दई वर्ष भित्र साक्षर नेपाल घोषणा गर्ने उल्लेख छ ।
हरेक प्रदेशमा एक एक वटा आवासीय मातृभाषी विद्यालय स्थापना गर्ने र विद्यालय तहको पाठ्यक्रममा परिमार्जन गरिने भएको छ । शिक्षा क्षेत्रको सुधारका लागि मन्त्री पोखरेलले धेरै योजना समेटेका छन् । समग्र शिक्षा क्षेत्रको विषयमा केन्द्रित रहेर ऋषि धमलाले मन्त्री पोखरेलसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

तपाईहरुले हरेक वर्ष विद्यार्थी भर्ना अभियान चलाउनुहुन्छ । तर सार्वजनिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या बढ्न सकेको छैन । किन ?

नेपालको शिक्षा क्षेत्रमा अहिले ७८ प्रतिशत सार्वजनिक विद्यालय र २२ प्रतिशत निजी विद्यालयको योगदन छ । पछिल्लो सयम सामुदायिक वा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुँदै गएको छ । यद्यपी निजी विद्यालयको तुलनामा पुग्न सकेको छैन ।

सरकारी कर्मचारीले आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्छ भनेर निर्देशिका बनाउनभयो । कार्यान्वयन गराउन सक्नुहुन्छ ?

मुख्य कुरा हाम्रो मुलुकको शिक्षा कतातिर जानुपर्छ भन्ने हो । हामी समाजवादतर्फ जाँदै गर्दा सोही अनुसारको शिक्षा नीति चाहिन्छ । त्यसैले राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधी, नेताहरुले आफ्ना सन्तानलाई सामुदायिक वा सार्वजनिक विद्यालयमा पढाउनुभयो भने शिक्षाको अवस्था परिवर्तन गर्न ठूलो योगदान हुन्छ । यो कुरा नैतिकताको विषय पनि हो । यसमा सबैले सहयोग गर्नुपर्छ ।

तर निर्देशिकाको पालना नगर्नेहरु नै धेरै छन् नि ?

अटेर गर्ने पक्ष एउटा होला, सरकारको निर्देशन मान्ने पक्ष पनि छन् । हामीले पनि वातावरण बनाउनुपर्छ । शिक्षक, पठनपाठनमा पनि सुधार गर्नुपर्छ । सुधार ल्याउन सक्यौँ भने केही वर्षभित्रमा पहिलो रोजाई सरकारी विद्यालय नै हुन्छन् । हामी सबैले नयाँ ढंगले काम गर्नुपर्छ । स्थानीय सरकारले पनि सहयोग गर्यो भने दुई वर्षभित्रमा सरकारी विद्यालयको शिक्षामा सुधार आउँछ ।

अब मन्त्रीका छोराछोरी पनि सामुदायिक विद्यालयमा पढ्छन् त ?

हामीले यस अभियानमा प्रधानमन्त्रीदेखि, मन्त्रीहरु, नेताहरु, सांसदहरु सबैलाई जोड्न खोजेका छौँ । सबै तहका जनप्रतिनिधिहरुलाई हामीले यो प्रक्रियामा ल्याउन खोजेका छौँ । यो विषय बाध्यात्मक नभै नैतिक हो ।

सरकारी विद्यालयका शिक्षक राजनीतिमा लाग्छन्, अनि कसरी शिक्षामा सुधार हुने अपेक्षा गर्न सकिन्छ ?

विद्यालयमा गर्नुपर्ने काम नगरेर राजनीतिक गर्ने, ट्रेड युनियनमा लाग्ने, पार्टीका कार्यसमितिमा बस्ने, सदस्यता वितरण गर्दै हिँड्ने शिक्षकका विरुद्धम अब अभिभावक र विद्यार्थी जाइलाग्छन् । जनचेतना धेरै बढेको छ । त्यसैले अब शिक्षा क्षेत्रमा पनि सुशासन दिनुपर्छ । शिक्षा ऐनको आठौँ संशोधनले पनि केही व्यवस्था गरेको छ । त्यसलाई अझै विकसित गरेर लैजानुपर्छ । अब त हामी नयाँ परिस्थितीमा आएका छौँ । शिक्षामा गुणात्मक काम गर्न सक्ने शिक्षकलाई भर्ती गर्नुपर्छ ।

सरकारी विद्यालयको जागीरप्रति आकर्षण बढ्न सकेको छैन । कसरी गुणात्मक काम गर्न सक्ने जनशक्ति ल्याउन सक्नुहुन्छ ?

विगतमा शिक्षालाई रोजगारी र उत्पादनसँग जोड्न सकेनौँ । त्यसले गर्दा धेरै आकर्षणको थलो भएन । तर अहिले २८ सालको शिक्षा नीतिलाई बदलेर नयाँ, वैज्ञानिक र जिवनउपयोगि बनाउनुपर्छ । माध्यमिक शिक्षा पूरा गरेको विद्यार्थीले कुनै एउटा काम गर्न सक्ने बनाउनुपर्छ । तर यि परिवर्तनका लागि केही समय चाँही लाग्छ ।

मानिसमा निजी विद्यालय र सरकारी विद्यालयबिचको धारणा नै फरक छ । यसलाई कसरी चिर्न सकिन्छ ?

हामीले राम्रा सरकारी विद्यालयको उदाहरण निजीसँग जोड्ने र राम्रा निजी विद्यालयहरुको उदाहरण सरकारी विद्यालयसँग जोड्न खोजिरहेका छौँ । दुवै खाले विद्यालयका राम्रा संचालकहरुलाई एक आपसमा जोड्ने प्रयास गर्दैछौँ । यसो र्न सकियो भने निजी विद्यालय मात्रै राम्रो भन्ने धारणा परिवर्तन हुन सक्छ ।

तपाईले शिक्षा क्षेत्रको परिवर्तनका लागि पाँच वर्षे मार्गचित्र प्रस्तुत गर्नुभएको छ । यसले नेपालको शिक्षा क्षेत्रमा कस्तो सुधार ल्याउँछ ?

हामी शिक्षामा आमूल परिवर्तन गर्न चाहन्छौँ । राजनीतिक क्रान्ति जस्तै शिक्षामा पनि क्रान्ति गर्नका लागि खाका प्रस्तुत गरेको हुँ । मार्गचित्रका बारेमा आएका सुझाबका आधारमा त्यसलाई अन्तिम रुप दिनेछौँ ।

डा. गोविन्द केसी पुनः अनशन बस्ने कुरा आएको छ । चिकित्सा शिक्षा विधेयकमा अझै समस्या छ ?

मैले त चिकित्सा शिक्षा अध्यादेश प्रतिस्थापनसहित संसदबाट पास गराइसकेँ । अब संसद बसेपछि प्रतिस्थापन गर्ने विषय आउँछ । चिकित्सा शिक्षालाई राम्रो बनाउनुपर्छ भन्नेमा दुईमत छैन । म यसैमा लागेको छु । डा. गोविन्द केसी नेपालको शिक्षा क्षेत्र सुधारका लागि लाग्नुभएको छ । समग्र शिक्षा क्षेत्रलाई गुणात्मक रुपमा अगाडि बढाउने कुरामा म प्रतिवद्ध छु ।

प्रतिक्रिया