सोमबार, साउन ७ २०७५ | Mon, July 23, 2018
नेपालको समय: २१:३६ | Washington DC: 11:51

पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि

लण्डन, ३ वैशाख । पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले फ्रेन्च लिग वान फुटबलको उपाधि उचालेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा साबिक विजेता मोनाकोमाथि ७–१ को प्रभावशाली जित निकाल्दै पिएसजीले लिगका पाँच खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा नेइमार बिनाको पिएसजीले साबिक विजेतामाथि गोलको वर्षा नै गरेको हो । पिएसजीको जितमा लो सेल्सोले १४ र २७ औँ मिनेटमा गरी दुई गोल गरे ।

यस्तै एन्जल डी मारियाले २० र ५८ औँ मिनेटमा गरी दुई गोल नै गरे । स्टार खेलाडी एडिसन काभानीले १७ तथा जुलियन ड्रेक्सलरले ८६ औँ मिनेटमा गोल गरे । यस्तै ७६ औँ मिनेटमा मोनाकोका राडामेल फाल्काओले आत्मघाती गोल गरे ।

मोनाकोका लागि रुनी लोपेसले ३८ औँ मिनेटमा एक गोल फर्काएका थिए । विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी गएका नेइमार अहिले चोटका कारण मैदान बाहिर छन् । नेइमार मैदान बाहिर रहे पनि घरेलु लिगमा पिएसजीले आफ्नो लय गुमाएको छैन ।

लिगका पाँच खेल बाँकी हुँदै उपाधि जितेको पिएसजीको ८७ अंक भएको छ । दोस्रो स्थानको मोनाकोको ७० अंक छ । पिएसजी मोनाको भन्दा १७ अंकले अघि रहेको छ ।

२०७५ वैशाख ३ गते १०:५८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी