गायक तथा संगीतकार दीपक बज्राचार्यले ‘मन मगन’ नामक गीत सार्बजनिक

इनेप्लिज २०७५ वैशाख ५ गते १०:४२ मा प्रकाशित

नयाँ वर्ष २०७५ को शुभारम्भमा चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यले ‘मन मगन’ नामक अति सुमधुर र रमाईलो गीत युट्युब मार्फत् बजारमा ल्याएका छन् । सुन्दा मात्र पनि जिउ हल्लाउँ हल्लाउँ लाग्ने यो गीतले लाखौंको मन अहिल्यै छोई सकेको छ ।

नेपाली संगीतको आकाशमा दुई दशक भन्दा बढी समयदेखि दीपक बज्राचार्यले आफ्नै गायन शैली, संगीत, लोक बाजा, लोक बोल र तालको प्रयोग गरेर आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् ; साथै, यति लामो कालखण्ड सम्म सहजरुपमा टिकेका छन् । उनको ‘अमिरा’, ‘काली काली’, ‘मायाको डोरीले’ गीतहरू आज पनि अघिल्ला पुस्ता र अहिलेका पुस्ताले उत्तिकै मन पराएको छ भने ‘सानी’ र ‘अल्लारे’ पनि उत्तिकै चर्चित रहेको छ ।

यो ‘मन मगन’ गीतमा नेपाली लोक बाजा धीमे, भुस्या, मादल, ढ्याङ्ग्रो, सारङ्गीको अति मीठो संगीत संयोजन भएको छ । अझ, धीमे बाजाको ताल र बोलमा गीतका सरल शब्दहरू उनीएको छ र साथमा धीमे बोल पनि सुन्न पाईन्छ । शायद धीमेको बोल भएको यो पहिलो नेपाली गीत हुनुपर्छ ।धीमे र भुस्या विशेष गरेर काठमाडौं खाल्डो र वरपरका नेवार समुदायको अभिन्न सांस्कृतिक बाजा हो । गीतको भिडियोमा विभिन्न नेपाली समुदायको ज्यापू नाच, लाखे नाच, पश्चिम नेपालको छलिया नाच, झाँक्री नाचका साथै स्थानीय पोशाक भरपूर हेर्न पाईन्छ । विशेष गरेर ठिटीहरूले लगाएको ‘हाकु पटासी’ नीक्कै सुहाएको र आकर्षक छ ।

यस्तै आकर्षक नाच, पोशाक र बाजागाजाका बीच विशेष जोस, उमंग र उर्जाकासाथ दीपक बज्राचार्यले प्रस्तुत गरेको गायन र नृत्य अभिनय हेरौं हेरौं, सुनौं सुनौं र नाचौं नाचौं छ । गीतले मन मगन पक्कै बनाउँछ । उनका अन्य गीतहरू जस्तै यो ‘मन मगन’ गीत पनि अहिलेका र आगामी पुस्ताले लामो समयसम्म सम्झी रहने छन् । साथै, यो आकर्षक गीतले नेपाल, नेपाली संस्कृति र संगीतलाई विश्वसामु चिनाउने कुरामा कसैको दुई मत नहोला ।।

शब्दहरु: रिक्की बज्राचार्य

स्वर: दीपक बज्राचार्य

लय/संगीत: दीपक बज्राचार्य, रिक्की बज्राचार्य

भिडियो निर्देशन: सुब्रतराज आचार्य

प्रतिक्रिया