नेपाली साहित्यमा युरिया मलको प्रयोग र मलेखुका माछा

इनेप्लिज २०७५ वैशाख १० गते १०:३५ मा प्रकाशित

नेपाली साहित्यमा सम्भवत सवभन्दा पुरानो, नाम चलेको र गनिएको प्रकाशन नेपाली भाषा प्रकाशिनी समिति हो । त्यो संस्थाले जुनी फेरेर साझा प्रकाशन भयो र अद्यापि त्यो चलेकै छ विविध कठिनाई र समस्याका वावजूद । नीजि क्षेत्रको कुनै वेला सर्वत्र राज गर्ने प्रकाशन हो रत्न पुस्तक भण्डार । यो पनि आफ्नो पुख्र्यौली विंडो थामेर अस्तित्वमा छ । तर पछिल्लो चरणमा नीजि क्षेत्रमा निकै प्रकाशन संस्थाहरु देखा परे नेपाली साहित्यको क्षेत्रमा । यो साहित्य प्रवद्र्धनका लागि र विकासका लागि ठूलो र राम्रो सूचक हो ।

प्रकाशनको क्षेत्रमा नीजि क्षेत्रको पछिल्लो आगमनसँग यौटा नयाँ संस्कृति पनि भित्रियो, कृति सम्पादन गर्ने कुरा । लेखक सवै व्याकरणविद हुँदैनन्, पुस्तक शुद्ध रुपमा पाठकको हातमा पु¥याउन व्याकरणको एकरुपताको लागि सम्पादन हुनुपर्छ । सम्भवत यो कुरामा कसैको दुइमत हुनै सक्दैन, चुडामणि रेग्मीको जस्तो एकाध एकल अपवाद वाहेक । तर जहाँसम्म कृति सम्पादनको नाममा कृतिको आमूल परिवर्तन दोश्रो व्यक्तिले गर्दछ, यहींनेर प्रश्न उठ्तछ, के त्यो कृति मूल लेखकको हो कि सम्पादकको ? लेखक निमित्त नायक मात्र हो ?

हो, मैले यसलाई नेपाली साहित्यमा युरिया मलको प्रयोग भनेको हुँ । युरिया मल पश्चिमा देशमा वनाइएको हो । इसं.१७२७ मा डच वैज्ञानिक हर्मन वूर्हावेले पत्ता लगाएको यो मल भारत हुँदै नेपाल निकै पछि मात्र आएको हो । त्यस्तै साहित्यमा सम्पादनको यस्तो पछिल्लो प्रवृत्ति वा नवसंस्कार पनि हालै आएको हो, प्रेत लेखनको साथसाथै ।

कुनै पनि प्रकाशकले धेरै संख्यामा किताव विकोस् नै भन्ने चाहन्छ । किनभने त्यो उसको पेशा हो र पेशागत धर्म पनि । लेखक पनि यसमा खुशी नहुने प्रश्न नै भएन । किताव धेरै विकेपछि उसले पनि वढी रोयल्टी पाउने सम्भावना रहन्छ । तर किताव विकाउनकै लागि लेखकले आफ्नो मौलिकता सखाप पार्न तयार हुने कि नहुने ? यो यौटा अहम् प्रश्न हो ।

म आफैंले भोगेको एकाध घटना यहाँ सम्झन्छु । मैले मेरो यौटा उपन्यास अँग्रेजी भाषामा अनुवाद गराउन चाहें र विभिन्न माध्यमद्वारा विभिन्न अनुवादकहरुसँग सम्पर्क भयो । ती मध्ये केहीले भने, तपाईंको उपन्यासको आधारमा म पूरै नयाँ उपन्यास लेखिदिन्छु, तपाईंको नाममै किताव छाप्नोस् मलाई पैसा भए पुग्छ । अझ एकजनाले त के अनुवाद गराइरहनु हुन्छ, पैसा दिनोस् म नयाँ उपन्यास लेखिदिन्छु अँग्रेजीमा आफ्नो नाममा छाप्नोस् भने । यो मेरो कल्पनाभन्दा पूरै विपरित मात्र होइन एक प्रकारले अकल्पनीय कुरा थियो जससँग सहमत हुन सम्भव नै थिएन ।
अहिले नेपाली लेखनको क्षेत्रमा पछिल्लो चरणमा केही लेखकहरु तथा केही सम्पादकहरु पूरै हावी भएका देखिन्छन् । तिनको काम प्रकाशकको इशारा अनुसार विकाउ माल तयार पारिदिनु हो । यसलाई पेशा नै वाएपछि, उनीहरुले पनि पेशागत धर्मै निभाएका होलान् । तर लेखकको मौलिकता कहाँ कुन पानामा खोज्ने ? यसरी युरिया मल साहित्यमा हालेपछि नेपाली साहित्य गतिला गतिला कृतिहरुले हराभरा त देखियो तर युरिया मलले सप्रेको तरकारी झैं यसको मौलिक स्वाद भने वेपत्ता ।

यो प्रसङ्गमा म मलेखुको माछा भल्झली सम्झन्छु । मलेखुका माछा पसलमा मलेखुका माछा खानेहरुको धुइरो लाग्छ । सव स्वाद मानी मानी मलेखुको माछा खान्छन् । तर त्यो मलेखुको माछा नभई जनकपुरको माछा हुन्छ । मलेखुको खोलाको माछाहरु पोखरीमा पालेका माछा झैं एकनासको आकारको कसरी हुनसक्छ भनेर सोच्दै सोच्दैनौं । मलेखुको माछाको भ्रममात्र खान्छौं । पसले पनि दङ्ग, जनकपुरको माछालाई मलेखुको माछा भनेर वेच्न पाउँदा, ग्राहकहरुलाई उल्लू वनाउन पाउँदा । ग्राहकहरु पनि मख्ख मलेखुमा मलेखुको माछा खान पाइयो भनेर ।

नेपाली साहित्यको सवभन्दा पछिल्लो स्थिति त्यही मलेखुको माछा झैं भएको छ । लेखक लेखिकाहरु मेरो किताव भनेर दङ्ग । कितावमा उनकै नाम छ । प्रकाशक पनि दङ्ग विकाउ माल वनाउन पाइयो , पाठकलाई मूर्ख वनाउन पाइयो भनेर । तर लेखक लेखिकाको मौलिकता भने कपूर झैं उडेर वेपत्ता । अझ कतिपय पुस्तकमा त सम्पादकको मौलिकताले पूरै मुण्टो उठाएको झल्को पाइन्छ, सम्पादकको शैलीको झझल्को पाउन सकिन्छ ।
प्रेत लेखन त प्रेत लेखन भैहाल्यो, त्यहाँ मूल लेखकको टिपोटको आधारमा वन्ने पुस्तक हो । तिनको लेखनको इतिहास हुन्छ, न भविष्य नै ।

युरिया मलको आविष्कारक पश्चिमाहरु भए झैं अहिले अग्र्यानिक खानुपर्छ स्वास्थ्यको लागि भन्ने मान्यता पनि पश्चिमाहरुले नै विकास गरेका छन् । अहिले धनी मानीहरु, स्वास्थ्यमा वढी चनाखोहुनेहरु अग्र्यानिक खानेकुरा, फलफूल, तरकारी खान लागेका छन् । अग्र्यानिक सामान मात्र वेच्ने स्टोरहरु धमाधम वढिरहेका छन् । हामी पनि युरिया मल नहुँदा अघोषित रुपमै अग्र्यानिक खाना खान्थ्यौं । हाम्रै गाइवस्तुका भकारो, पत्कर कुहाएर मल वनाएर खेती गथ्र्याैं । पश्चिमाहरु रातारात मौलाउने युरिया मल प्रयोग गर्न सिकाइदिए र अग्र्यानिक संसारलाई ध्वस्त वनाइदिए । अव पश्चिमाहरु अग्र्यानिकमा रमाउन थालेको वेला हामी युरिया मलमा दङ्ग परिरहेका छौं ।

साहित्यमा युरिया मलको प्रयोग कति सुखद वा घातक होला ? गम्भिरतापूर्व सोच्नुपर्ने ठान्दछु म । ध्रुवचन्द्र गौतमको लेखनमा युरिया मल हाल्दा ध्रुवचन्द्र गौतमको मौलिकता कति वाँकी रहला ? शेक्सपियरका रचनाहरु सम्पादन गरिएका थिएनन् । महाकवि देवकोटाका रचनाका पनि सम्पादक थिएनन् । लेखनाथका रचनाहरुमा युरिया मल परेको थिएन । नयाँ पुस्ता युरिया मलमा रमाउने कि अग्र्यानिकपथमा लाग्ने, यो आफैंले निर्धारण गर्ने , निर्णय गर्ने, फैसला गर्ने कुरा हो । जनकपुरको माटालाई मलेखुको माछा भनेर कतिञ्जेल रमाउने त्यो पनि आआफ्नै सोच र विषय हो ।

(अनलाइन खवर डटकममा पहिलोपल्ट प्रकाशित)

प्रतिक्रिया