क्यानाडामा नेपाली बौद्दिक कार्यशाला गोष्ठी सम्पन्न

इनेप्लिज २०७५ वैशाख २७ गते १०:५५ मा प्रकाशित

नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टन, क्यानाडाले संयुक्त रुपमा यहि मे ५, शनीबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा “तेस्रो नेपाली कार्यशाला गोष्ठी”  सम्पन्न गरेको छ। क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ६० जना नेपाली बिज्ञ र अनुसन्धानकर्मीहरुको उपस्थिती थियो।

अनुसन्धान र नबिन प्रयोगको माध्यमबाट शिक्षा, प्राज्ञिक तथा व्यावसायिक व्यक्ति र नेपाली समुदायलाई जोड्ने (Linking academia, professional and community through research and innovation) नाम दिइएको उक्त  कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न बिषयमा अनुसन्धान गरिरहनु भएका १४ जना अनुसन्धानकर्ताहरुले आ-आफ्नो कार्यपत्रहरु प्रस्तुत गर्नु भएको थियो। अल्बेर्टा र सस्काचुवान , क्यानाडाका नेपाली मुलका अनुसन्धानरत विद्यार्थी, बिभिन्न सरकारी निकाए र कम्पनीमा कार्यरत बिज्ञहरु  तथा प्राज्ञिक व्यक्तित्वहरुले नेपाल सम्बन्धी र अन्य रोचक बिषयमा खोजमुलक प्रस्तुती दिईरहँदा कार्यक्रमस्थल नेपालमय भएको थियो। ईन्जिनियरिङ्ग, स्वास्थ्य बिज्ञान र पशुचिकित्सा, बिकास तथा सामाजिक बिज्ञान र प्राकृतिक तथा वातावरणिय बिज्ञान गरी ४ वटा सत्रमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु ति नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए ।

आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक उज्वल तिवारीले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक ब्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गर्नु भएको थियो।

अल्बेर्टा राज्यको भौतिक पुर्वाधार मन्त्रालयमा उर्जा तथा बातावरण बिशेषज्ञरुपमा कार्यरत डा. अर्जुन बहादुर केसीले नेपालमा बिद्युतिय सवारी साधनको आवश्यकताको बारेमा प्रस्तुती दिनु भएको थियो । राष्ट्रको ब्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदुषण काम गर्न, चाइना र भारतले पनि आगामी दशकमा पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनको बेचबिखन न्युन वा अन्त्य गर्न कदम चालिसकेको अवस्थामा नेपालले पनि बिद्युतिय सवारी साधनको प्रबर्ध्दन गर्न आवश्यक निती नियम र संरचनाहरु बनाउन ढिला भइसकेको अौल्याउनु भएको थियो । चाइना, अमेरिका, नर्वे जस्ता देशहरुले बिद्युतिय सवारी साधनको प्रबर्ध्दन गर्न लिएका नितीहरु र बनाइएका संरचनाहरुको चर्चा गर्दै नेपालले लिनु पर्ने नितीहरु उल्लेख गर्नु भएको थियो । बिद्युतिय सवारी साधनको प्रयोग बढाउन बिद्युतिय सवारी साधनमा कर कम लिने, सरकारीले सवारी साधन किन्दा बिद्युतिय सवारी साधन किन्ने, अहिलेका पेट्रोल पम्पहरुमा बिद्युतिय सवारी साधन चार्ज गर्न कम्तिमा २ वटा स्टेशन बनाउने, बिद्युतिय सवारी साधन किन्दा सस्तो ब्याजदर लोन दिने आदी कार्य गरेमा नेपालमा आफ्नै देशमा उत्पादित बिजुली प्रयोग गरेर सवारी साधन चलाऊन सकिने बताउनु भयो ।

अल्बेर्टा सरकारमा बाँध (ड्याम) बिज्ञको रुपमा कार्यरत मोहनाथ आचार्यले बाँध (ड्याम) तथा हाइड्रोपावरमा हुन सक्ने बिपदको आपातकालीन तैयारी र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुती दिनु भएको थियो। उत्तर अमेरिकामा बिशेष गरी क्यानाडा र अमेरिकामा ड्यामको डिजाईन तथा निर्माणको बेलामा भविष्यमा हुन सक्ने जोखिमलाई कसरी अध्ययन गरिन्छ र जोखिमलाई न्युनिकरण गर्न के कस्तो आपातकालीन तैयारी र व्यवस्थापन गरिन्छ त्यसको उदाहरण दिदै नेपालमा अहिले सम्म पनि ड्याम तथा हाइड्रोपावरमा निर्माण गर्दा तल्लो तटिय क्षेत्र हुने जोखिमलाई अध्ययन गरिएको नदेखिएको र हाम्रो जस्तो उच्च भुकम्पिय जोखिम भएको क्षेत्र यस्तो सम्भावित बिपदको  आपातकालीन तैयारी र व्यवस्थापन अत्यन्त महत्पूर्ण भएको बताउनु भयो। साथै नेपालको दक्षिणी सिमाक्षेत्रमा भारत कयौँ ड्यामहरु निर्माण गरेको भएता पनि त्यसले निम्त्याउने डुबानको कुनै अध्ययन नभएको र त्यसको जोखिम न्युनिकरण गर्न कुनै पहल नगरिएको बताउनु भयो ।  विश्वको बढ्दो तापक्रमको असर हिमालय क्षेत्र उच्च रहेको कारणले हिमतालहरु फुट्ने जोखिम पनि बढ्दो भएको हिमतालका तल्लोक्षेत्रमा आपातकालीन तैयारी र व्यवस्थापनको कार्यक्रम बनाउने पर्नेमा बिज्ञ आचार्यले जोड दिनु भएको थियो ।

ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्रध्यापक रहिसक्नु भएका रिजाइना शहरका शहरी योजनकर्ता डा. पुण्यसागर मरहट्टाले राजनैतीक रुपमा नेपाल कसैको पनि उपनिबेश नभएता पनि सास्कृतिकरुप हामी उपनिबेशबाट मुक्त हुन नसकेको बताउनु भएको थियो । नेपालका बिषेश गरी काठमाडौंमा बिकासको नाममा कसरी हाम्रो संक्रिती र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुको कसरी बिनास गरियो, हाम्रो बैज्ञानीक निर्माण पद्धती तथा शहरी बिकासलाई कसरी अपहरण गरियो भनेर रानीपोखरीको उदाहरण सहित आफ्नो प्रस्तुती दिनु भएको थियो।

डा. जनकराज आचार्यले नेपालीमुलका क्यानाडाबासीहरुले आफ्नो अवकाश जीवन क्यानाडा वा नेपालमा बिताउदा कस्तो आर्थिक अवस्था रहन्छ भनेर क्यानाडा र नेपालको तुलनात्मक अध्ययन गर्नु भएको थियो । उँहाले ५५, ६० वा ६५ बर्षमा अवकाश लियर बाँकी जीवन क्यानाडा र नेपाल बिताउन लाग्ने अनुमानित खर्च प्रस्तुत गर्दै अवकाशमा क्यानाडामा पाइने सुबिधा लिएर नेपाल बस्न अार्थिक रुपले धेरै सहज हुने तथ्याङ प्रस्तुत गर्नु भएको थियो ।

युनिभर्सिटी अफ अल्बेर्टामा अध्ययनरत प्रशन्ना पोखरेलले उत्तरी अमेरिकाको रातो लोखर्केको बिभिन्न जीवनचरण गरिएको ब्यवहारको अनुसन्धान प्रस्तुत गर्दै नेपालमा पनि रातो पाण्डा लगायत अन्य लोपोन्मुक जनावारहरुलाई संरक्षण गर्न ति जनावारहरु ब्यवहारको मिहिन अध्ययन गरी तिनीहरुको संख्या ब्रिध्दी गर्न आवश्यक वातावारण निर्माण गर्न सकिने कुरामा जोड दिनु भएको थियो ।

उक्त कार्यक्रमको बिभिन्न चरणमा डा. रेमन्त केसीले क्यान्सर, युवराज पौडेलले नेपालमा बाल विवाह र परीवार नियोजन, प्रेम पोखरेलले प्रतिकुल वातावरण र नयाँ माटोमा उर्कन सक्ने बिरुवाको बिकास, अनिमेश केसीले सौर्य उर्जा, डा. दिपक पुडासैनिले विषाक्त बायुको नियन्त्रण, डा. कृष्ण काफ्ले गाई, उज्वल तिवारीले नेपाली मनसुनको गतिशिलता, मधुसुदन रिमालले प्राचिन नेपालको स्वास्थ्य पध्दती र डा. भरतमान श्रेष्ठले नेपालमा जमिन प्रयोगको परीवर्तनको बारेमा आ-आफ्नो प्रस्तुती दिनु भएको थियो ।

साथै यस कार्यक्रममा जुनेली नेपाली बिद्यालय एडमन्टनका बिद्यार्थीहरुली आफ्नो कला र ज्ञानलाई पोस्टरमा उतारेर कार्यक्रम सहभागीहरुलाई देखाएका थिए । कार्यक्रमको अन्त्यमा नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टनका अध्यक्ष रामकृष्ण शर्माले कार्यक्रम सहभागी सबैलाई धन्यवाद दिदै  आफ्नो संस्था र ब्यक्तीगत रुपमा यस्ता बौध्दिक कार्यक्रमलाई निरन्तर सहयोग गर्न बचन ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया