‘ओली-मोदी केमेष्ट्री मिल्यो, भाषण र सम्झौता कार्यान्वयनमा जानुपर्छ’

इनेप्लिज २०७५ वैशाख २९ गते १८:११ मा प्रकाशित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको विषयमा विभिन्न खाले टिका टिप्पणी भएका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरुको पनि एउटै प्रकारको धारणा आएको छैन । मोदीको नेपाल भ्रमणको विषयमा कांग्रेसका नेता तथा पूर्व मन्त्री डा. रामशरण महतसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपाल–भारत सम्बन्धमा कस्तो सुधार हुने अपेक्षा गर्नुभएको छ ?
भारतका सरकार प्रमुख नेपाल आउँदा जनताले राम्रो स्वागत गरे । मोदीजीले पनि नेपाल र नेपालीप्रति सद्भाव राख्नुभएको छ । दुई देशबीचको सम्बन्ध त पहिलेदेखि नै राम्रै थियो । यसपटकको भ्रमणले थप उचाईमा पुग्यो वा घटायो भन्ने होइन । तर दुई देशबीचका समस्या अझै समाधान भएको छैन ।

दुवै प्रधानमन्त्रीले दुई देशबीचको असमझदारी हटेको बताएका छन् । यसलाई कसरी लिनुहुन्छ ?
असमझदारी हटेको त राम्रो कुरा हो । यसलाई हामी स्वागत गर्छौँ । तर अझै पनि असमझदारी छन् । समाधान हुँदै जानुपर्यो नि । आगामी दिनमा मूल्याङ्कन हुँदै जान्छ । अहिले नै सबै समस्या समाधान भयो भन्न चाँही मिल्दैन ।

नेपालबिना भारत अधुरो रहन्छ भनेर मोदीले भनेको कुरालाई कसरी बुझ्ने ?
त्यो राम्रो अभिव्यक्ति हो । यसपटक पनि उहाँले धेरै राम्रा कुरा गर्नुभएको छ ।
यस्ता अभिव्यक्ति पहिला पनि सुनेका थियौँ । नेपालको संसदमा नै उहाँले कस्तो राम्रो बोल्नुभएको थियो । तर दुई देशबीचका समस्याहरु पनि समाधान हुँदै जानुपर्छ । समस्या समाधान हुनेमा हामी आशावादी छौँ ।

तीनै तहको निर्वाचन सम्पन्न गरेको पनि प्रशंसा गर्नुभयो नि ?
भन्नुभयो त । पहिला संविधानका बारेमा उहाँले असन्तुष्टी जाहेर गर्नुभएको थियो । नाकाबन्दी भयो । त्यसबेला भएका गल्तीहरुलाई अहिले महसुस गरेको पाएँ ।

तर त्यसबेला सरकारमा हुँदा नाकाबन्दी शब्द प्रयोग गर्न नसकेको कांग्रेसले अहिले आएर बल्ल गर्यो नि ?
म आफैँ अर्थमन्त्री भएका बेला अन्तराष्ट्रिय समुदायलाई बोलाएर नाकाबन्दीका कारण नेपालको अर्थ व्यवस्थामा यति नोक्सान भयो भनेर भनेको थिएँ । नाकाबन्दीका कारण समस्या बढेको भनेर अन्तराष्ट्रिय समुदायसँग सहयोग मागेको थिएँ । मैले भारतमै गएर पनि भनेको थिएँ । कांग्रेसका अरु साथीहरुले पनि बोलेका थिए । विधिवत रुपमा निर्णय गर्दा नाकाबन्दी भन्ने शब्द प्रयोग गरेन होला, त्यो बेग्लै कुरा हो ।

अरुण तेस्रो आयोजनाको शिलान्यास भएको छ । यसलाई कसरी लिने ?
आजभन्दा २४–२५ वर्ष अगाडि नै सुरु हुनुपर्ने आयोजना अहिले शिलान्यास भएको छ । हाम्रो आन्तरिक समस्याले विगतमा हुन सकेन । चार वर्षअघि शुशील कोइराला प्रधानमन्त्री हुँदा अरुण तेस्रो आयोजनाका बारेमा नेपाल–भारतबीच समझदारी भएर हस्ताक्षर भएको हो । बल्ल अहिले शिलान्यास भयो । अब चाँडो निर्माण सम्पन्न हुनुपर्यो । शिलान्यास भयो भन्दैमा चमत्कार भयो भन्ने होइन ।

नेपाल भारतबचि धेरै सम्झौता भएका छन् । यसले नेपालको विकासमा कत्तिको भूमिका खेल्ने देख्नुहुन्छ ?
१५ वर्षदेखि हुलाकी राजमार्ग जस्तको त्यस्तै छ । अगाडि बढ्न सकेको छैन । १८ वर्ष भइसक्यो महाकाली सन्धी भएको । यस्ता कतिपय विगतका सम्झौता अगाडि बढ्न सकेको छैन । सिमा समस्यादेखि व्यापार घाटासम्मका समस्या समाधानका लागि कुनै कार्यान्वयन भएको छैन । यस्ता कुरामा नेपाल र भारत दुवै पक्ष गम्भीर बन्नुपर्छ । भाषण र सम्झौताले मात्र हुँदैन, कार्यान्वयनमा जानुपर्छ ।

मोदीको नेपाल भ्रमणलाई समग्र रुपमा कसरी लिनुभएको छ ?
नेपाल र भारतबीचमा अहिले पनि धेरै समस्याहरु छन् । मोदीको नेपाल भ्रमणले ति समस्या समाधानका लागि महत्वूर्ण भूमिका खेलोस् । मोदीको भ्रमणलाई नेपाली कांग्रेसले स्वागत गरेको छ । तर समस्या समाधानतिर जानुपर्छ । नेपाल–भारतबीचको ६ खर्बको व्यापार घाटा, सिमा समस्या, डुबान समस्या, हवाईमार्ग कार्यान्वयन हुन नसकेको योजना र सम्झौता लगायतका विषयमा पनि गम्भीर हुनुपर्छ । भ्रमण गरेर मात्रै हुँदैन ।

ओली र मोदीबीचको केमेष्ट्री मिलेको हो ?
मिल्यो । मैले त केपी ओली भारत जाने बेलामा पनि भनेकै हुँ । उहाँहरु दुईजनाबीचमा केमेष्ट्री राम्रो भयो । सद्भावना राम्रो भयो । यो सकारात्मक कुरा हो । तर कामका आधारमा आगामी दिनमा मूल्याङ्कन गर्दै जाउँला ।

प्रतिक्रिया