हिंसा र बेचबिखन रोक्न ‘पुरुष रक्षक समूह’

इनेप्लिज २०७५ वैशाख ३० गते १२:०० मा प्रकाशित

रत्ननगर, चितवन, ३० वैशाख : स्थानीय पदमपुरमा हिंसा र बेचबिखनका घटना हुने गरेका छन् ।
विगतमा यहाँको एउटै गाउँबाट बेचिन पुगेका चार चेलीको उद्धारसमेत गरिएको थियो । हिंसा र बेचबिखनविरुद्ध धेरै कार्यक्रम महिलाले चलाए पनि घटना रोकिएका छैनन् । त्यसैले अहिले हिंसा र बेचबिखन रोक्न पुरुषको सहभागिता बढाउन ‘पुरुष रक्षक समूह’ ले काम थालेको छ ।

महिला हिंसा र बेचबिखिनका विरुद्ध काम गर्दै आएको संस्था केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराई यस्ता घटना रोक्न महिलाको प्रयास मात्रै सम्भव नहुने भएकाले पुरुषलाई समेत सहभागी गराउन खोजिएको बताउनुहुन्छ । अहिले चितवनमै पहिलो पटक २२ जना सम्मिलित हिंसा र बेचबिखनविरुद्ध ‘पुरुष रक्षक समूह’ गठन गरिएको छ ।

अब पुरुषलाई पनि सँगसँगै नलगे कार्यक्रम सफल हुन्न भन्ने निष्कर्षका साथ नयाँ अभियान थालिएको भट्टराई बताउनुहुन्छ । कालिका नगरपालिका वडा नं २ का वडाध्यक्ष सोमबहादुर गुरुङको अध्यक्षतामा बनेको उक्त समूहले अब गाउँमा हिंसा र बेचबिखनविरुद्ध अभियान चलाउने छ ।

समूहले तालीम प्रशिक्षण, स्कूल शिक्षाका कार्यक्रमसहित गाउँमा चेतना दिने काम गर्छ । कालिका नगरपालिकाले आगामी दुई वर्षभित्र नगरलाई हिंसामुक्त बनाउने अठोट गरेको छ ।
‘पुरुष रक्षक समूह’ नयाँ अवधारणा भएकाले अभियान सफल हुनेमा महिला अधिकारकर्मी संगीता भट्टराई विश्वस्त हुनुहुन्छ । पहाडी गाउँपालिका हिंसा र बेचबिखनका दृष्टिले उच्च जोखिममा छ । अशिक्षा र चेतनाको कमीका कारण दलालले पहाडी क्षेत्रका महिला तथा किशोरीलाई सजिलै प्रलोभनमा पार्ने गरेका छन् ।

एक अध्ययनले चितवनका साविक १६ गाविस बेखबिखनको उच्च जोखिममा छन् । साविक माडीका चार गाविस, जुटपानी, शक्तिखोर, सिद्धि, पदमपुर, कोराक, लोथर, राप्ती, कुमरोजलगायत जोखिम पहिचान भएको केआई नेपाल चितवन संयोजक केमिका घिमिरे बताउनुहुन्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालअनुसार पछिल्लो समयमा महिलाको संलग्नता वृद्धि भए पनि तथ्यांकका हिसाबले हिंसा र बेचबिखनका घटनामा पुरुषको सहभागिता अधिक देखिएको छ । ढकाल पुरुषलाई सहभागी गराउन सके घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुहुन्छ ।

केआई नेपालको सहयोगमा चितवनको कालिका नगरपालिका र कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पहिलो पटक पुरुष रक्षक समूह गठन गरेर घटना न्यूनीकरणमा पुरुषको सहभागिता गराइएको छ । अरु पाँच जिल्लामा समेत गठनको तयारी गरिएको छ ।

पहिलो चरणमा चितवन र कपिलवस्तुपछि नवलपरासी, रुपन्देही, पर्सा, मोरङ, ललितपुर र बाँकेमा पुरुष रक्षक समूह बनाउने योजना बनाइएको भट्टराईले बताउनुभयो । चेली नेपालका कार्यक्रम निर्देशक सुरेन्द्र चापागार्इं यसरी हिंसा र बेचबिखन रोक्ने अभियान सफल पार्न आफूहरु पनि हातेमालो गर्दै अघि बढेको बताउनुहुन्छ । पुरुष रक्षक समूहका सचिव प्रेमनाथ अधिकारी शुरुआत आफँैबाट गर्नुपर्छ भनेर अभियानमा सरीक भएको स्पष्ट गर्नुहुन्छ ।

प्रतिक्रिया