२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप

इनेप्लिज २०७५ जेठ ३ गते १२:५० मा प्रकाशित

काठमाडौँ, ३ जेठ : पछिल्लो समय धेरै नेपालीलाई उच्च रक्तचापको समस्या देखिन थालेको छ ।

स्वस्थकर खानपान, शारीरिक व्यायाम, मानसिक तनावजस्त कारणले उच्चरक्तचापलाई बढाइरहेको छ । मसिनी विकले उच्च रक्तचापको समस्या भएर औषधि खान थालेको वर्ष दिन भयो । सिक्रे नुवाकोटकी विक गाउँमै औषधि नपाइने भएकाले काठमाडौँ आएर औषधि लाने गरेको बताउनुहुन्छ । उहाँले चिकित्सकको सल्लाहानुसार नियमित रुपमा औषधि सेवन गर्दै आउनुभएको छ ।

चालीस वर्षीय कपिल थापाले भने रक्तचाप उच्च देखिएको लामो समयसम्म आफँै निको होला भन्ने सोचेर औषधि नखाए पनि पछि झन् बढ्दै गएपछि चिकित्सकको सल्लाहमा नियमित औषधि सेवन गर्दै हुनुहुन्छ ।

वीर अस्पतालका मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी अहिले २० देखि ३० वर्षका युवामा साइलेण्ट किलर रक्तचापको समस्या देखिन थालेको बताउनुहुन्छ । उच्च रक्तचापका कारणमध्ये करीब २ देखि ३ प्रतिशतको मात्रै कारण प्रष्ट देखिएको छ । बाँकी ९७ प्रतिशतको कारण अझै पत्ता लागेको छैन ।

स्वास्थ्य जनसांख्यिक सर्वेक्षण २०१६ अनुसार २३ दशमलव ४ प्रतिशत पुरुष र १६ दशमलव ८ प्रतिशत महिलामा उच्च रक्तचापको समस्या रहेको पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१३ मा गरेको नसर्ने रोगको जोखिम पक्षसम्बन्धी सर्भेले पनि २५ प्रतिशत नेपालीमा उच्च रक्तचाप भएको देखाएको थियो ।

परिषद्का अनुसन्धान अधिकृत डा कृष्ण अर्याल बदलिँदो जीवनशैली, अव्यवस्थित खानपान र रहनसहनका कारण अहिलेका युवा पुस्तामा उच्च रक्तचाप र यसका कारण हुने हृदयाघात, मतिष्काघात र मिर्गौला खराबीका समस्या दिन प्रतिदिन बढ्दै गएको बताउनुहुन्छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल भन्नुहुन्छ, “पछिल्ला दिनमा मानिसको खानेबानीमा आएको परिवर्तन, शारीरिक निष्क्रियता, नुनको अत्यधिक प्रयोग, पत्रुखाना र फास्टफुड खाने बानी, मानसिक तनाव, धूमपान र रक्सी सेवनजस्ता कारणले उच्च रक्तचापको समस्या बढ्दै गएको हो ।”

नेपालमा गरिएका पछिल्ला सर्वेक्षणअनुसार युवामा हुने हृदयाघातको ५० प्रतिशत कारण उच्च रक्तचाप हो । मस्तिष्काघातमा ७४ प्रतिशत र मिर्गौला खराबी हुनुमा ९० प्रतिशत कारण पनि उच्च रक्तचाप भएको पुष्टि गरेको चिकित्सक अनिलको भनाइ छ । उहाँले यस्ता पीडितले नियमित औषधि खानुपर्ने र हरेक एक वर्षमा रगतमा चिल्लो चिनीको मात्रा र उच्च रक्तचापको मात्रा जाँच गराउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया