विवाहको १० लाख गुणस्तरीय शिक्षालाई

इनेप्लिज २०७५ जेठ ४ गते ८:०३ मा प्रकाशित

काठमाडौँ, ४ वैशाख : अमेरिकामा बस्दै आएका विभुषण शाक्य र शिल्भा श्रेष्ठले आफ्नो विवाहको खर्चबाट रु १० लाख ‘टिच फर नेपाल’ शैक्षिक अभियानलाई सहयोग गरेका छन् ।

करिब १४ वर्षदेखि अमेरिकामा बस्दै आएका उनीहरूले आफ्नो विवाहमा मितव्ययिता अपनाउँदै सार्वजनिक शिक्षा सुधारको अभियानका लागि उक्त रकम सहयोग गरेका हुन् ।

“टिच फर नेपाललाई सहयोग गर्ने ठूलो सपना थियो, शिक्षा क्षेत्रमा सहयोग गर्दा धेरै विद्यार्थीको जीवन परिवर्तन हुने महसुस गरेर सहयोग गरेका हौँ,” शाक्यले भन्नुभयो । सन् २०१३ मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट भौतिक विज्ञानमा विद्यावारिधी गर्नुभएका उहाँ हाल अमेरिकाकै मिसिगन विश्वविद्यालयमा अनुसन्धानरत हुनुहुन्छ ।

यस्तै श्रेष्ठ अमेरिकाको मिसिगन विश्वविद्यालयमा जीव विज्ञान अन्तर्गत विद्यावारिधी गर्दैहुनुहुन्छ । दाइजो प्रथा हटे पनि विवाहको बेला बेहुलीको लागि अनावश्यक रूपमा गहनाको प्रयोग हुने गरेको भन्दै श्रेष्ठले उक्त चलन परिवर्तन गर्नका लागि सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अरूले पनि यस्तो सहयोग गर्नेछन् भन्ने विश्वास लिएका छौँ ।”

टिच फर नेपालले मुलुकका दुर्गम भेगका सार्वजनिक विद्यालयमा शैक्षिक अभियान सञ्चालन गर्दैआएको छ । शाक्य र श्रेष्ठले अध्ययन गर्दा गर्दै जम्मा गरेको रकम सो शैक्षिक अभियानलाई सहयोग गरेका हुन् ।

शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा स्थानीय सरकारसँगको साझेदारीमा टिच फर नेपाल अभियान २०७० वैशाखदेखि ललितपुर, सिन्धुपाल्चोक, धनुषा, पर्सा, लमजुङ र दाङका सार्वजनिक विद्यालयमा सञ्चालन गरिँदैआएको छ ।

प्रतिक्रिया