बस दुर्घटनामा एकको मृत्यु

इनेप्लिज २०७५ जेठ ९ गते १२:२७ मा प्रकाशित

इटहरी, ९ जेठ : सुनसरीको धरानबाट इटहरी हुँदै पश्चिम सिराहाका लागि हिँडेको ना४ख ४२५८ नंको बस इटहरी–४ हलगडामा आज दिउँसो दुर्घटना हुँदा एक यात्रुको मृत्यु भएको छ । उक्त घटनामा अन्य १६ जना यात्रु सामान्य घाइते भएका छन् ।

पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार उक्त दुर्घटनामा सोही बसमा यात्रारत सिरहा नगरपालिका– १९ का ६५ वर्षीय रामआशिष यादवको घटनास्थलमा नै मृत्यु भएको छ । बस दुर्घटनामा सामान्य घाइते भएका सबै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर फर्किसकेको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

घटनामा परी मृत्यु भएका यादवको शव परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । दुर्घटनामा परेका बसका चालक सिरहा नगरपालिकाकै ३२ वर्षीय गङ्गाराम महतोलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया