सामाजिक काम गर्दा आत्मसन्तुष्टि हुन्छ – खनाल

इनेप्लिज २०७५ जेठ १० गते १०:३२ मा प्रकाशित

शिशिर सिंखडा

चितवन, १० जेठ ।
कुनैपनि धार्मिक स्थान होस् या शैक्षिक संस्था, त्यहाँ केही असुविधा वा समस्या परेको छ भन्ने थाहा पाए भने सहयोग गर्न वचन दिन्छन्, उनी । चितवनको रत्ननगर १४, पिठुवा स्थायी घर भएका बलराम खनाल विगतमा बेलायत बसेर आएका हुन् । विदेशमा भन्दा आफ्नै स्वदेशको माटोमा केही गर्ने सोचले ४ वर्षको विदेश बसाइ पछि नेपाल फर्केर सामाजिक काममा जुटेका छन् उनी ।

चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ भोर्लेमा निर्माण सम्पन्न हुन नसकेको चन्द्रसूर्य गुम्बामा उनले करिव १५ लाख रुपैया सहयोग गरेका छन् । गुम्बाको ढलान गर्न र ट्रस हाल्न उनले सहयोग गरेको स्थानीय ज्ञान बहादुर गुरुङले बताए । खनालले गुम्बा निर्माणमा मात्र नभई स्थानीयहरु हिँडडुल गर्ने पहाडी बाटोमा सिढी निर्माणमा पनि साथ दिए । सो बाटो मात्र होइन, बाटोमा बत्ती जडानका कार्यहरुमा पनि उनले सहयोग गरेको गुरुङले बताए । स्थानीयको कुनैपनि दुःखसुखका साथी जस्तै रहेका खनाल स्थानीयको कुनैपनि समस्यामा सधै साथ दिने गरेको स्थानीय समाजसेवी समेत रहेका ज्ञान बहादुर गुरुङले बताए ।

हामीलाई हाम्रो आस्थाको धरोहर सो गुम्बा निर्माण सम्पन्न गर्न कठिनाई भएकोमा वहाँको सहयोगले हाम्रो भवन निर्माण सम्पन्न भएको छ, गुरुङले भने । सो भवन निर्माण पछि स्थानीयहरु हर्षित समेत भएको उनको भनाइ थियो । सोही स्थानको राष्ट्रिय आधारभूत विद्यालयमा निजी शिक्षिका र कार्यालय सहयोगीलाई तलव खुवाउन विद्यालयलाई समस्या भएको थाहा पाई मासिक तलवमा समेत उनले रकम थपिदिएको सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर गुरुङले बताए ।

विगत २ वर्ष अगाडि जिल्ला प्रहरी कार्यालय चितवनमा निर्माण भएको नवनिर्मित भवनको लागि समेत उनले ५० हजार रुपैया नगद र निर्माण सामग्री समेत उपलब्ध गराएका थिए । भवन निर्माणमा उनको सहयोग महत्वपूर्ण रहेको तत्कालिन चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

बुबा रमाकान्त र आमा रुकमिणी खनालका सुपुत्र बलराम खनाल वि.सं. २०२५ साल चैत ८ गते गोरखामा जन्मिएका हुन् । उनका श्रीमती १ छोरा र १ छोरी छन् । हाल ढुवानी व्यवसायका अतिरिक्त अन्य पेशा व्यवसाय र सामाजिक क्षेत्रमा समेत संलग्न खनालले आफुलाई विभिन्न क्षेत्रमा सामाजिक काममा सेवा गर्न र सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि हुने बताउँछन् ।

प्रतिक्रिया