अमेरिकामा नेपालीहरु पाँच पटक किन दुखि हुन्छन ?

इनेप्लिज २०७५ जेठ ११ गते १:२७ मा प्रकाशित

 

विजय थापा ,सुख र दुख नै जीवन हो । मानिसको जीवनमा कहिले उकाली कहिले ओराली । कहिले घाम कहिले छाया । केही समय अगाडी आफूले अमेरिकामा नेपाली ७ पटक खुशी किन हुन्छन भनि लेखेको लेखलाई पाठकले अत्यधिक मनपराई दिनु भएकोमा धन्यवाद नदिई रहन आफू सक्ने कुरै भएन ।

त्यो सकारात्मक र अमेरिकन जीवनको एक पाटो भयो । अमेरिका आएका अधिकांश खुशी हुन्छन । तथापी कहिलेकाही दुखित हुनु पर्ने अवस्था आई लाग्छ । अमेरिकामा धेरै पटक दुखि पनि हुने दिन नआउने भने चाही हुदैन । तर औसतमा अमेरिका छिरेका मानिस गदगद नै हुन्छन ।

अमेरिका आएका मानिस कम्तिमा ५ पटक दुखित हुन्छन । मुख्य मुख्य बिषयमा ब्याख्या गर्न चाहन्छु ।

पहिलो : भोलि देखि तपाई जागिरमा नआउनु /बर्खास्त : भर्खर आएका नेपालीहरु नेपाल जस्तो पनि सोच्ने गर्दछन् । अमेरिकामा काम लगाउने साहुले उस्ले भने झै कामको परिणाम प्राप्त गर्न नसकिने देख्यो भने जतिखेर पनि कामबाट मुक्त गरि दिन्छ । अमेरिका आए पछि काम बल्ल तल्ल पाइएको मात्र के हुन्छ हाम्रो लोसोपन थाहा पाए पछि नजानिँदो पाराले भोलि देखि नआउनु है भन्न कुनै दुख मान्दैनन । यस्तो बेलामा साह्रै चित्त दुख्छ । मनमा खुल्दुली मचिन्छ । झोक्रिने ,रिसाउने ,झनक्क हुने ,चिढचिढापन हुने आदि हुने हुन्छ । आफुलाई धिक्कार लाग्दछ । अनेक कुरा मनमा खेल्दछ । मष्तिस्कले काम गर्दैन । के भयो होला ? किन यसो गर्यो भन्ने पर्दछ । अनि घर गए पछि पिरले जौ मदिरा तथा खोया बिर्के अथवा जे छ त्यो सेवन गरिन्छ ।

दोश्रो : सम्बन्ध बिच्छेद /छोड पत्र : अमेरिका अनेक गरेर परिवारलाई ल्यायो केही दिन या समयको चक्र संगै जाने क्रममा सम्बन्ध बिच्छेद /छोड पत्र प्रकृया अगाडी बढाउने भएमा ज्यादै दुखित हुईञ्छ । पुरुषले आफ्नी जीवन संगिनी तथा महिलाले आफ्नो जीवन साथी लाई अब एउटा घरमा संगै बस्न सकिदैन भने आभास दिए पछि मन साह्रै दुख्छ ।

कसो गरु के गरु हुन्छ । तर यतिमै जीवन नसकिने हुनाले जीवन चल्दछ । तर पनि कति सपना बुनेर के के योजना सहित अमेरिका ल्याएको पति या पत्नीले बेईमानी गरि दिए पछि हृदय भारी हुन्छ । कल्पना नै नगरेको कुरा हुन्छ । कुरा नमिल्नु भनेको एउटा कुरा हो तर सात जन्म सम्म म तिम्रो र तिमि मेरो भन्ने प्रतिज्ञा र प्रतिबद्धता पानीमा जाने हुनाले यस्तो अवस्थामा पिडित पुरुष या महिला दुवै ज्यादै भावुक ,चिन्तित तथा मन अशान्ति हुन्छ । नेपाली समाजमा झन् झन् बढ्दो छ यो क्रम । कसैको पनि यस्तो परिवारमा नपरोस । कसैलाई यस्तो घटना नघटोस ।

तेश्रो : सन्तानले लात हानेर मातापितालाई बाटोमा छोडे भने : अमेरिकाको हावा लागेको सन्तानहरुले यस्तो पनि गर्छन । नेपालमा आमाबुवाले दुख गरेर हुर्काएर बढाएर पढाएर अमेरिका ल्याएका सन्तानले लात हानेर सडकमा पारे पछि मन ज्यादै रुन्छ । नेपालमा घर या अन्य चिजको कुनै सर सापट त्यति हुदैन तर अमेरिकामा सबै उधारोमा चल्ने हुनाले सन्तानले बेईमानी पनि गर्ने गर्छन । हड्डी खिईएका उमेर पुगेका बुवाआमालाई बिल्लीबाठ बनाएर तिमीहरुको घरको किस्ता ३० बर्ष सम्म म तिर्ने हु भनि छोड्ने छोरा या छोरीहरु भेटिन्छन ।

तिमीहरुको सवारी साधन को ऋण मुक्त गर्ने म हु भन्ने छोराहरु पनि हुन्छन । सुको सहयोग नगर्ने बरु उल्टै नेपालबाट ल्याएको सम्पतिको भाग खोजि आफ्नो दुनो सोझ्याउने सन्तान को दुर्ब्यबहार को शिकार भएमा अधिक मुटु चसक्क दुख्छ । यस्तो दिन किन आएछ भन्ने भगवानको नाम पनि लिने बुवाआमा अमेरिकामा जीवन यापन पनि गरि रहेका छन् । अनि अन्त्यमा बृद्ध माता पिता नेपाल फर्की बस्ने गर्दछन ।

चौथो : मादक पदार्थ या पटक पटक सवारी साधन नियम उल्लघंन गरि प्रहरी कारवाईमा परेमा : हिन्दीमा एउटा उखान छ ,हम कभी नही सुधरेंगे ? अर्थात् म कहिले सुध्रिने वाला छैन । अमेरिका ल्याएका किशोर किशोरीलाई लगाम लगाएन भने अभिभावकको बुई चढ़छन् । यस्ता सन्तानलाई चाबुक अर्थात् कोर्रा हान्नु पर्ने अवस्था पनि हुन्छ । भौतिक कारवाई भन्ने अर्थमा हैन । नियन्त्रण गर्ने भन्ने आशय हो ।

अमेरिका आए पछी के के नै हो भनी फुर्किने कलिलो उमेरकाबाट साबधान हुनु जरुरि हुन्छ । बिग्रने र साथी सङ्गत को चियो गर्नु पर्छ । यस्ता किशोर किशोरी र केहि हुदैन भनि २१ बर्ष मुनि हुँदा पनि मादक पदार्थमा सरिक गराउदा उत्तेजित हुन्छन । धेरै पटक वयस्क तथा युवाहरु सवारी साधन चलाउदा समेत प्रहरीको कारवाईमा पर्दा साह्रै दुख आफैले भोग्नु पर्छ ।

सवारी साधन पटक पटक नियम तोडे पछि अनुमति पत्र समेत खारेज गर्ने कानुन भएकोले यस्तो कारवाईमा वयस्क तथा युवाहरु फसेका छन् । यो जस्तो घाटा केही हुदैन । कहिँ जान नपाए पछि हात बानिन्छ । कसले काममा पुर्याई दिने ? समयमा नपुग्दा जागिर चैट हुन्छ । यस्तो अवस्थामा प्रहरीले हत्कडी लगाएर या तिम्रो अनुमति चालक पत्र खारेजी गरिएको छ भने पछि छाँगाबाट खसेको जस्तो हुन्छ । नेपाली समुदाय पनि यस्ता बाट अपबाद हुन् सकेका छैन । यस्तो हुदा पनि अत्यधिक दुखित हुईञ्छ ।

पाचौ : घर लिलाम हुँदा या घर किन्न आफ्नो नाम ननिस्कदा : कानुनी रुपमा अमेरिका आएको केही बर्ष भित्र सबैले घर किन्ने गर्छन । ढिलो या चाडोको कुरा मात्र हो । जव घर किन्ने सुर कसिन्छ । घर को खोजि कार्य सुरु हुन्छ । अमेरिका मा घर किनबेच अभिकर्ता (एज्नेट ) मार्फतबाट मात्र किन्ने प्राबधान छ । साथी साथी दाजुभाई या आफन्तमा कहिलेकाही सट्याक सुटुक हुन्छ । तर अधिकांसले अभिकर्ता मार्फत घर खोज्ने गरिन्छ ।

अमेरिकामा घर किन्न रहरले हुदैन । कानुनि रुपमा अमेरिका आएको र उत्तम ख्याती (क्रेडिट) प्राप्त गरे पछि बैंक (धनागर) ले पत्याउने गर्छन । अनि घर किन्ने बाटो खुल्छ । प्रारम्भिक चरणमा केही प्रतिसत रकम पनि नहुने र राम्रो श्रोत बैंकले भेटेन भने माफ गर्नु होला भनि दिन्छ ,अर्थात् ऋण अस्विकार गरि दिन्छ । अर्को उपाय गर्नु पर्छ ।

परिवारको आम्दानी बढाउन अतिरिक्त काम पनि गर्नु पर्ने अवस्था आई पर्छ । नेपालमा हुनेखाने वाला भएर अमेरिकामा काम गर्दैन । यहाँ सम्पत्ति कमाउनु पर्छ । अचेल धमाधम नेपाल बाट घर बेचेर यहाँ लगानी गर्ने गरिन्छ । कम रकम आफू संग संचित छ भने घर पाउने कि न पाउने भन्ने हुन्छ । घर मन पर्यो भन्दैमा त्यहि घर किन्न पाइदैन अमेरिकाम । बैंक ले खोजेको कमाई र भरपर्दो आर्थिक श्रोत देखे पछि मात्र ऋण प्रदान गर्छ ।

अमेरिकामा कुनै पनि मानिसले कम्तिमा ८-१० वटा घर हेरे पछि मात्र कुन भाग्यमा छ त्यो हाम्रो कमाई र अर्को किन्ने मान्छे भन्द हामी बलियो भयौ भने मात्र सिफारिस गर्छ । यसरी पटक पटक हेर्दा घर अर्कै मानिसको हातमा पर्छ । आफु चिल्लै र निल्ल परिन्छ ।

जति घर हेर्यो आफुलाई पर्दैन । अर्कोलाई पर्छ । अरुले लान्छ । तपाईलाई यो घर हुदैन भने पछि दुखि हुइञ्छ । निक्कै चित्त दुख्छ । मन रुन्छ ।खिन्न परिन्छ । कहिले घर आफूलाई नपर्ने हो कि जस्तो पनि लाग्छ । के गरौ कसो गरौ हुन्छ । आफूलाई धिक्कार लाग्छ । आफ्नो पुर्पुरोमा छैन कि अमेरिकामा घर किन्ने भन्ने जस्तो पनि मनमा कुरा आउछ ।

दिक्क लाग्छ । हनहनी ज्वरो पनि आउछ । रक्तचाप पनि बढ्छ किनभने आफ्नो छत अथवा ओत कहिले हुन्छ भनेर चिन्तामा डुबिन्छ । आफू भन्दा कम आम्दानी हुने साथीले घर किनेर तरकारीबारी समेत बनाई सकेको अवस्थामा आफूलाई निकै सकस हुन्छ ।

यसै गरि जागिर गयो या आफू रोगि भएमा काम गर्न सकिदैन । परिवार मध्ये मै अरुको जागिर गयो भने पनि निकै नराम्रो अवस्था आउछ । अन्त्यमा आफ्नो घर बैंकलाई बुझाउनु पर्ने हुन्छ । अर्को राज्यमा सरुवा भएर जाँदा पनि यस्तो अवस्था धेरैलाई आई लाग्छ । यस्ता अवस्थामा नेपालीहरु मात्र हैन अन्य समुदाय पनि दुखि हुन्छन ।

अमेरिकामा मानिस धेरै पटक खुशी पनि हुन्छन तर ५ पटक चाही दुखि पनि हुन्छन । हिन्दि चलचित्र कभी खुशी कभि गम भने जस्तै जीवन तल माथि भै रहन्छ । जीवन चलि रहन्छ ।

प्रतिक्रिया