बालकृष्ण ढुङ्गेललाई संविधानअनुसार नै जेल मुक्त गर्छौँ : संचारराज्य मन्त्री बाँस्कोटा

इनेप्लिज २०७५ जेठ ११ गते २३:१७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पूरा भएको छ । सरकारले यो अवधिमा केके काम गर्यो त ? आगामी दिनमा के कस्ता कामलाई प्राथमिकतामा राखेको छ ? यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले संचारराज्य मन्त्री गोकुल बाँस्कोटासँग छोटो कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकार गठन भएको एक सय दिन पुगेको छ । यो अवधिलाई कसरी समिक्षा गर्नुहुन्छ ?
सरकारको सय दिनको अवस्थाका बारेमा सरकारले धारणा सार्वजनिक गरेको छैन । तर म व्यक्तिगत रुपमा के भन्छु भने सरकारले विकास निर्माण र सुशासनको बाटो समातेको छ । यसअघि प्रि बजेटमाथि ससंदमा छलफल गर्ने चलन थिएन । यसपटक हामीले प्रिबजेटमाथि संसदमा छलफल चलायौँ । प्रधानमन्त्रीको भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । भ्रमणले विगतमा दुई देशबीचमा हुने आशंकाको अन्त्य भएको छ । दुई देशबीचमा बराबरी हैसियतको सम्बन्ध स्थापित भएको छ । विराटनगरको फिल्ड अफिस राखेको थियो । त्यो हटायौँ । नीति तथा कार्यक्रम ल्याएको छ । नेपालको मात्रै होइन, संसारकै इतिहासमा पहिलोपटक जनताद्धारा निर्वाचित कम्युनिष्ट पार्टीको बहुमतको सरकारले बजेट प्रस्तुत गर्दैछ । यातायात क्षेत्रको सिन्डिकेट सय दिनभित्रमा नै अन्त्य गरिएको छ । अरु क्षेत्रका सिन्डिकेटको अन्त्य गर्ने तयारी भइरहेको छ । वैदेशिक रोजगारका क्षेत्रमा भएका विकृति हट्दै गएका छन् ।

समृद्धि नेपाल सुखी नेपालीको एजेण्डामा केके काम भए ?
समृद्धि नेपाल सुखी नेपाली अभियानको मूल्याङ्कन गर्ने बेला भएको छैन । लोकतन्त्रमा जादुले काम हुँदैन । हामी पद्धतिअनुसार काम गर्दैछौँ । समृद्धिका लागि केके काम गर्ने भनेर नीति तथा कार्यक्रममा समावेश गरेका छौँ । पूर्वाधार, जलविद्युत, उत्पादन, वितरण जस्ता कुराहरुको योजना बनिसकेको छ । हामी गर्छौँ । अहिले नै एउटा नीति र कार्यक्रमसमेत पास गर्न भ्याएको छैन, अहिले नै के काम गरिस् भनेर हुन्छ ? भ्रष्टाचार र सिन्डिकेट अन्त्य गर्दै सुशाषन कायम गर्नका लागि काम भइरहेको छ । सबै विकृतिलाई ठेगान लगाउँछौँ । अहिले नै नतिजा देखिदैन ।

हत्याको आरोपमा जेल परेका बालकृष्ण ढुङ्गेललाई रिहाई गर्न लागिएको हो ?
हाम्रो संविधानमा नै त्यस्ता केही कुराहरु छन्, खास अवधिसम्म जेल बसेपछि, विशेष प्रकारको रोग लागेपछि जेलमुक्त गर्न सकिने छ । मैले सबै कानुनी व्यवस्था हेरेको त छैन । तर संविधान मिचेर कुनै पनि काम गरिदैन । ढुङ्गेल रिहा भइहाले पनि त्यो कानुन र विधिभित्र रहेर हुन्छ ।

संसदमा नीति र कार्यक्रममागि छलफल भइरहेको छ । तर सासंदहरुको उपस्थिती देखिएन नि ?
म पनि गइरहन्छु प्रायः । मन्त्रीहरुलाई को कुन दिन जाने भनेर पालो लगाएको छ । बजेटको समय छ । विभिन्न मन्त्रालयसँग जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न लागिपरेका होलान् । आ–आफ्ना योजना र फाइल लिएर हिँडिरहनुभएको होला ।

प्रतिक्रिया