खानेपानीको हाहाकार

इनेप्लिज २०७५ जेठ १३ गते १२:०३ मा प्रकाशित

डडेल्धुरा, १३ जेठ:लामो समयदेखि वर्षा नहँुदा परेको खडेरीका कारण गर्मी बढेसँगै. खानेपानीका मुहान सुक्न थालेका छन् ।
पानीका मुहान सुक्न थालेपछि चुरे क्षेत्रका साथै डडेल्धुरा सदरमुकाम र दर्जनौंंँ पहाडी गाउँका बस्तीमा खानेपानीको हाहाकार भएको छ । सदरमुकाममा नै पानीको हाहाकार भएपछि अमरगढी नगरपालिकाले प्रत्येक व्यक्तिलाई ५० लिटरका दरले दमकलमा खोलाको पानी ल्याई वितरण गरिरहेको छ । करीब एक हप्तादेखि खानेपानीको चरम अभाव भएपछि नगरपालिकाले जिल्ला सदरमुकामका बासिन्दालाई पानी वितरण गर्न थालेको छ । खानेपानी समस्या देखिएपछि नजीकका खोलाबाट पानी ल्याई वितरण गरिएको अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी गराउनुभयो ।

फागुन–चैतदेखि नै खानेपानीका मुहान सुक्न थालेपछि जिल्लाभर पानीको समस्या देखिएको छ । परशुराम नगरपालिका–७ स्थित बड्डीमलासको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो पानी भर्न समस्या भएको स्थानीयवासीको दुखेसो छ । बड्डीमलासमा मात्र नभई जिल्लाका विभिन्न ग्रामीण बस्तीमा पनि खानेपानीको समस्या छ । मलास क्षेत्रमा रहेका पिलकोट, भूमिथला, काजीगडा, कसान, बस्न्यौटा, गौरीखान, दधिगडा, खोरिया, जामिरगडा, पुरानपानी, आइडुग्रा, सुवाखान, पल्गडी, सिमलबण्डलगायत डेढ दर्जनभन्दा बढी बस्तीमा खानेपानीको हाहाकार मच्चिएको छ । जिल्लाको पहाडी भेग अजयमेरु, वेलापुर चिपुर, देवल, भागेश्वर, रुपाल, अशिग्राम, मणिलेक, कोटेलीका गाउँमा पनि खानेपानीको हाहाकार शुरु भएको स्थानीयवासी बताउँछन् ।

परशुराम नगरपालिकाको चुरै क्षेत्रसँगै आलिताल गाविसअन्तर्गत चुरे क्षेत्रमा रहेका बस्तीमा समेत खानेपानीको सङ्कट देखिएको छ । आलितालका फल्लेखर्क, दोबाटा, कुजरयानीलगायत बस्तीमा समेत खानेपानीको सङ्कट उत्पन्न भइरहेको स्थानीय अगुवा रघुवीर धामीले बताउनुभयो ।

त्यसैगरी खानेपानीको मुहान मर्मत नहँुदा र पानीको मूल सुकेर जाँदा अभाव भई हाहाकार भएको रुपालदान टमटाले जानकारी दिनुभयो । बाह्र महिना प्रशस्त पानी हुने मुहानमा समेत अहिले गाग्रो पानी भर्न पनि घण्टाँैं लाग्ने भएपछि चुरे क्षेत्रका बासिन्दा गाग्रो बोकेर पानीको मुहानको खोजीमा भाँैतारिने गरेको स्थानीयवासी अंगवीर धामीले बताउनुभयो । उहाँले भन्नुभयो,“डेढ घण्टा ओरालो झरेर खोरिया खोलाबाट पानी बोक्नुपर्ने अवस्था आएकोे छ ।”

गाउँमा रहेका खानेपानीका पुराा मुहानलगायत कुवा, नौलासमेत सुक्न थालेपछि घण्टौं पैदल हिँडेर खानेपानी बोक्नुपरेको आलितालका बासिन्दा नन्दसिंह विष्टले राससलाई बताउनुभयोे । मलास क्षेत्रका झण्डै दुई सय घरपरिवारका लागि खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई पानीको जोहो गर्न समस्या भएको हो । लामो समय पानी नपरेपछि जमीन सञ्चित हुन नपाएको र मुहान सुकेर जान थालेपछि समस्या आउन थालेको खानेपानी डिभिजन कार्यालयले जनाएको छ ।

वर्षाैँ पहिले निर्माण गरिएको खानेपानीका योजना मर्मत नहुँदा पनि धेरैजसो गाउँमा खानेपानी समस्या देखिएको खानेपानी कार्यालय डडेल्धुराले जनाएको छ । परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान कुवा, नौलासमेत सुकेपछि महिला तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका छन् । अत्यन्तै संवेदनशील मानिने चुरे क्षेत्रलगायत सरकारी तथा सामुदायिक वनमा वर्षेनी भइरहेको वन विनाशका कारण पानीका मुहान सुकेको स्थानीय अगुवा बताउँछन् ।

वनजङ्गल क्षेत्रमा जथाभावी सडक निर्माणले पनि पानीको मूल सुकेको स्थानीयवासीको भनाइ छ । सडक निर्माणका कार्यका लागि ठूलाठूला डोजर, स्काइभेटरजस्ता साधनको कम्पनले मूल सुकेको खानेपानी कार्यालयले जनाएको छ । समयमा नै खानेपानीका मूल संरक्षंण नगर्ने हो भने जिल्लाको उच्च पहाडी क्षेत्र महाभारत र चुरे आसपासका बस्तीसँगैं सदरमुकाम र अन्य ग्रामीण बस्तीमा अझै समस्या उत्पन्न हुुने देखिन्छ ।

प्रतिक्रिया