मिडियाबाट टाढा भागेर गुमनाम बसेको छैन : कलाकार बिपिन कार्की

इनेप्लिज २०७५ जेठ १३ गते १३:०२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। भस्मे डन उर्फ विपिन कार्की अहिलेका नेपाली रजतपटका सबै निर्देशक तथा निर्माताका पहिलो रोजाइका कलाकार हुन् भने दर्शकका प्रिय पात्र। चलचित्र पशुपति प्रसादबाट आफूलाई अब्बल चरित्र अभिनेताका रुपमा स्थापित गरेका उनले जात्रा मार्फत आफ्नो सशक्त अभिनय कलाको पुष्टि गरे। त्यस अघि उनले छड्के मार्फत आफूलाई दर्शक माझ नोटिस गराएका थिए । उनी आफ्नो डेब्यु चलचित्र भने ‘छड्के’ लाई नै मान्दछन्।

‘छड्के’ खेलिसकेपछि विपिनसामु थुप्रै स्क्रिप्ट आइपुगे। पशुपतिप्रसाद पछि त झन् ओइरो नै लाग्यो। जात्रा पछि त उनले सेतो पर्दाकै एक नम्बरका चरित्र नेताका रुपमा आफूलाई उभ्याए।

अफरको ओइरो लागे पनि उनले आफूसम्म आइपुगेका सबै स्क्रिप्टलाई स्वीकार गरेनन् । आफू वर्षको दुईटा मात्रै तर राम्रा चलचित्र गर्ने भन्दै आएका छन् र त्यही अनुसार काम पनि गर्दै आएका छन् ।

२०४० सालमा विराटनगरमा जन्मिएका विपिन २०५६ सालमा काठमाडौं छिरेका थिए । काठमाडौंको आरआर क्याम्पसमा पढेका उनले कहिल्यै पनि थिएटर आर्टिस्ट र सेतो पर्दाको ‘डन’ हुने सपना देखेनन् । उनी भन्छन् ,’मलाई समयले डोयाएको हो रंगमञ्च र सिनेमाको पर्दातिर।’

२०६३ सालमा विपिन पहिलोपटक थिएटर छिरे । हेरे, ‘ताराबाजी लै लै’ नाटक । यो नाटक हेरिसक्दा पनि उनलाई अभिनयको भूत सवार भएन । साथी संगतिका लागिमात्रै उनी बेलाबेलामा रंगमञ्च छिर्थे । उनकै जिल्लाका कमलमणि नेपालसँग भेटभएपछि उनीसँगको उठबसले भने विपिनलाई रंगमञ्चको स्वाद चखायो । उनी बिस्तारै नाटक सिक्न थाले । विश्वमै नाटकका राम्रा प्रशिक्षक मानिने मोटन क्रोगबाट उनले रंगमञ्चमा अभिनयकला सिके । विभिन्न समयमा विभिन्न देशबाट आउने प्रशिक्षकले दिने र नेपालकै अग्रजले गराउने वर्कसपमा बस्न थाले ।

‘कुमारी’ बाट रंगमञ्चमा डेब्यु गरेका बिपिनका परिवारलाई शुरुवातका वर्षमा रंगमञ्चमा लागेको मन परेको थिएन । धेरैपटक उनलाई रंगमञ्चबाट छुटाउने प्रत्यक्ष÷परोक्ष प्रयास परिवारबाटै भयो । तर उनको ढिटका अगाडि परिवारको केही लागेन । त्यसैले पछिपछि परिवारको पनि साथ मिल्दै गयो।

कुनै समय थिएटरमा ‘रि–कास्ट’ गरिएका विपिनले लुटमा पनि अभिनय गरेका थिए तर त्यहाँ उनलाई सकैले नोटिस गरेन । उनी छड्केबाट नोटिस भए । लुट २ मा पित्तले डन बनेका विपिनले सबैलाई हँसाए । कालो पोथीमा कथाकथित दलितको भूमिकामा देखिएका उनलाई कमैले मात्रै चिन्छन् ।

अहिले ‘हरी’ नामक चलचित्रमा देखिएका छन् बिपिन कार्की। सफल केसी र प्रतिक गुरुङको संयुक्त निर्देशन रहेको फिल्म ‘हरी’ मा बिपिन सँगै कमलमणी नेपाल,सुनिता ठाकुर, थिन्ले ल्होमो,लक्ष्मी वर्देवा, लोकनाथ आचार्य, प्रकाश गन्धर्व, रामभजन कामत र सुनिशा बजगाँइको अभिनय रहेको छ । ‘हरी’ मा योगेश्वर पौडेल, थक्पा तामाङ र माधव थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्म जेठ १८ मा ‘अमेरिका बोईज’ सँग प्रदर्शनमा आउदै छ ।

‘हरी’ चलचित्र एक युवकको कथाव्यथा बोकेको चलचित्र भएको बिपिन कार्कीको भनाई रहेको छ। सबै दर्शकले पहिला जस्तै आफुलाई यो भूमिकामा पनि रुचाउने छन् भन्ने कुरामा उनी विश्वस्त देखिन्छन्।

प्रतिक्रिया