म पाँच वर्षभित्र राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्छु-प्रचण्ड

इनेप्लिज २०७५ जेठ १९ गते १:०१ मा प्रकाशित

आज गणतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापना भएको दश वर्ष पूरा भएको छ । गणतन्त्र स्थापनाका एक प्रमुख पात्र हुन्, पुष्पकमल दाहाल प्रचण्ड । जनयुद्धमार्फत गणतन्त्रको जग बसालेका प्रचण्ड नै गणतन्त्र, संघियता र समानुपातिकका सुत्रधार हुन भन्दा फरक नपर्ला । उनै प्रचण्डसँग ऋषि धमलाले अन्तरवार्ता लिएका छन् । गणतन्त्र दिवसका अवसरमा लिइएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

जब फलाम तातेको महसुस गर्छु तब घन ठोक्ने गरेको छु

ऋषि धमलाको कुरालाई सबैले आत्मसाथ गरेर जान थालेका छन्

 

नेपालमा गणतन्त्र आएको एक दशक भएको छ । यो अवधिलाई कसरी लिनुहुन्छ ?
गणतन्त्र आम नेपाली जनताको चाहना र आवश्यकता भएकाले नै आएको थियो । एउटा पार्टीको नेताको हैसियतले नेपालमा गणतन्त्र ल्याउने भूमिका खेल्ने अवसर मलाई मिल्यो । मलाई गर्व छ । लामो समय संविधान निर्माण र निर्वाचन सम्पन्न गर्न समय लाग्यो । त्यसकारण गणतन्त्रपछिको उपलब्धि र राहत पाउन ढिलो भएको महसुस जनताले गरे । तर अब संघीय लोकतान्त्रिक गणतन्त्रका सबै उपलब्धिहरु जनताले महसुस गर्ने गरी प्राप्त हुन्छ ।

गणतन्त्रलगायतका परिवर्तनको पुष्टभूमिलाई कसरी स्मरण गर्नुहुन्छ ?
जनयुद्धबाट संघियता, गणतन्त्र, समावेशिता, समानुपातिक, धर्म निरपेक्षता जस्ता कुराको विजारोपण भएको हो । त्यस्तो परिस्थिती नबनेको भए संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार हुने थिएन । नेपाली कांग्रेस लगायत त्यसबेलाका सात राजनीतिक दलसँग समझदारी नभएको भए यो परिस्थिती आउने थिएन । १२ बुँदे समझदारीपछि जनयुद्ध र ६२–६३ को जनआन्दोलनको संयोजन नभएको भए पनि यो परिवर्तन सम्भव थिएन । मैले शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग हस्तास्क्षर गर्दा नै यो कुरा राखेको थिएँ । अहिले पनि सत्य के हो भने माओवादी विद्रोहबिना अहिलेको परिवर्तनको आधार बन्दैनथ्यो ।

माओवादीले विद्रोह नगरेको भए देशमा केही पनि परिवर्तन हुने सम्भावना थिएन ?
परिवर्तन नै हुँदैनथ्यो पनि म भन्दिन । तर जुन समयमा संविधानसभाको चुनाव भयो, त्योचाँही सम्भव थिएन । वर्षौँपछि के हुन्थ्यो भन्ने आइपोथेसिसको कुनै अर्थ छैन ।

तपाईले गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेर महान काम गर्नुभयो भन्दा हुन्छ ?
त्यो ऐतिहासिक र युगान्तकारी परिवर्तन हो । तत्कालिन सात दल र नेकपा माओवादीबीचको सम्झौताकै कारण यो परिवर्तन सम्भव भएको हो । यसलाई हामी गौरवको रुपमा लिन सक्छौँ । इतिहासले पनि त्यो कुरा स्विकार गरिसकेको छ ।

तपाईले नेपाली राजनीतिक इतिहासमा धेरैपटक क्रमभङ्ग गर्नुभयो । अहिले नेपाल कम्युनिष्ट पार्टी गठन गर्नुभएको छ । यसले देशलाई के फाइदा हुन्छ ?
मैले धेरैपटक ठूला ठूला निर्णय र जोखिमहरु उठाएको छु । अहिले पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाउने क्रममा एउटै विचार र एउटै प्रवृत्तिले काम गरेको छ । तर कतिबेला के गर्दा जनताको हित हुन्छ भन्ने कुराले मेरा निर्णयहरु निर्देशित छन् ।

युद्धबाट नै परिवर्तन गर्ने लक्ष्य हुँदाहुँदै एकाएक राजनीतिक सहमतिको बाटोमा किन लाग्नुभयो ?
सुरुमा केही विद्रोह र आन्दोलन नगरी परिवर्तन सम्भव छैन भन्ने लाग्यो । त्यसकारण विद्रोहको बाटोमा गएँ । अब योभन्दा बढि गयो भने प्रत्युत्पादक हुन सक्छ भन्ने लागेपछि सहमतिको बाटोमा फर्किएँ । जुनबेला राजा निरङ्कुशतातर्फ अगाडि बढेको अवस्था थियो । संसदवादी दलहरु पनि झण्डै झण्डै भूमिगत अवस्थामा जानुपर्ने हो कि भन्ने अवस्था आयो । त्यही समयमा नै फलाम तातेको महसुस गरेँ । फलाम तातेको बेला हो, यही बेला हान्नुपर्छ भनेर सम्झौतातिर गएँ ।

अहिले त एमाले र माओवादी एक भइसक्यो । युद्धकालमा एमाले र माओवादीबीचमा कस्तो सम्बन्ध थियो ?
एमालेसँग पटक पटक पचासौँ वार्ता भएका थिए । अब भन्न त मलाई केही अप्ठ्यारो छैन । १२ बुँदै समझदारीभन्दा पहिला तत्कालिन एमालेसँग रोल्पामा धेरै कुरा भएको थियो । भूमिगत अवस्थामा म सुप्रिम कमाण्डरको हैसियतले घोडा चडेर विभिन्न स्थानमा गएर भेटिन्थ्यो । बामदेव गौतम र युवराज ज्ञवालीलाई पनि घोडा चढाएर रोल्पामा लगेका थियौँ । उहाँहरुलाई रोल्पाको हाम्रो आधारइलाकामा ल्याएर भेट्दा नै पहिलो सम्झौता भएको थियो । त्यही सम्झौताका आधारमा नै गिरिजाप्रसाद कोइरालासँगको १२ बँुदे सम्झौता सम्भव भएको हो ।

विगतमा एमालेका अरु नेताहरुसँग नजिक देखिनुहुन्थ्यो । तर केपी ओलीसँग भनाभन नै चल्थ्यो । अहिले चाँही कसरी मिल्नुभयो ?
यो सबै राष्ट्रको आवश्यकता हो । मैले मात्रै गरेर केही हुदैनथ्यो । कमरेड केपी ओली र म विगतमा त अलि बढि नै तुतुमैमै गथ्र्यौँ । आरोप प्रत्यारोपमा उहाँ पनि उस्तै । पानी बाराबारकै स्थिती देखिन्थ्यो । हामी दुवैजना एकअर्काको चित्त नबुझेका कुरा भन्ने गथ्र्यौँ । तर केपी र प्रचण्डको केमेष्ट्री मिल्ने पनि त्यहीभित्र रहेछ । आवश्यकताअनुसार हामी दुवै जना निर्णय लिन सक्ने रहेछौँ । हामी शान्तिपूर्ण तरिकाले सरकारको नेतृत्व गरेर समृद्धि र सुशासन दिँदै समाजवादतिरको यात्रामा जाने विषयमा सहमत भयौँ ।

तपाईले माओवादीलाई एमालेमा मिसाएपछि केही कार्यकर्ता त असन्तुष्ट छन् नि ?
म दुरद्रष्टा हुन्छु भनेर कुनै पनि निर्णय गरेको छैन । मैले यतिबेला यो देशलाई र जनतालाई यसरी फाइदा हुन्छ भनेर निर्णय गरेको हुँ । म दुरद्रष्टा हुन्छु कि हुन्न, राजनेता हुन्छु कि हुन्न भनेर मैले कहिल्यै पनि सोचेको छैन । अहिले पनि त्यही गरेको हुँ । अर्को कुरा मैले हरेकपटक नयाँ कदम चाल्दा असन्तुष्ट देखिने गरेको छ । यो पटक चाँही मैले सबैभन्दा कम असन्तुष्टी देखेको छु ।

पार्टी एकतासँगै माओवाद छोड्नुभएको हो ?
हामीले माओवाद छोड्ने भनेको छैनौँ । यसलाई महाधिवेशनसम्म बहसमा राख्ने हो ।

नेपाल कम्युनिष्ट पार्टीको नीति के हुन्छ त ?
सुशासन, स्थिरता र विकास नै हाम्रो मुख्य नीति हो । देश र जनताको पक्षमा राम्रो काम गरेर जाने हो । नेपालमा राष्ट्रिय औद्योगिक पुँजीको विकास गर्न जरुरी छ । सम्पत्ति नभैकन समाजवाद हुँदैन । राष्ट्र र जनतालाई धनी बनाउने नै हाम्रो नीति हो ।

तपाई आफै प्रधानमन्त्री बन्ने आधार हुँदाहुँदै किन केपी ओलीलाई बनाउनुभयो ?
मलाई गहिरो गरी जिम्मेवारी बोध भयो । यो मेरो चरित्र र स्वभाव पनि हुन सक्छ । मैले राष्ट्र र जनताबाहेक अरु कहिले पनि सोचिन । मैले राजनीतिक गर्दा यो अवस्थामा पुग्छु भन्ने सोचेको पनि थिइन । अरु ठूला नेता हुन्छन्, हामी त पछि लाग्ने मात्रै हो भन्ने लाग्थ्यो । तर काम गर्दै जाँदा आफै ठूलो ठाउँमा आइपुँगे । मेरो लक्ष्य प्रधानमन्त्री वा राष्ट्रपति बन्ने होइन । तर यो परिवर्तनमा सबैभन्दा बढि संघर्ष गरेको पात्र भएको नाताले परिवर्तनको रक्षा होस भन्ने चाहन्छु । मैले दुईपटक प्रधानमन्त्री हुँदा आफैँ राजिनामा दिएको हुँ । प्रधानमन्त्रीको प्रस्ताव आउँदा म अहिले हुन्न पनि भनेको छु । निर्वाचनपछि पनि मलाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । उहाँहरुलाई धन्यवाद दिदै देश र जनताको हितमा लागेको हुँ । प्रधानमन्त्री हुने लोभ नगर्दा मलाई गर्व लागेको थियो । मैले जनता र कुनै पार्टीसँग गरेको बाचा तोडे भने त मेरै आत्माले गलत भन्छ नि । अहिले पनि केपीजीलाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्दा मलाई गर्व लागेको छ ।

अब प्रधानमन्त्री बन्ने सम्भावना कति छ ?
भोली कुनै दिन प्रधानमन्त्री बन्नुपर्ने अवस्था आयो भने वा राष्ट्रपति बन्नुपर्ने अवस्था आयो भने म भाग्छु भन्ने चाँही होइन । अब पाँच वर्ष त यही सरकारलाई प्रभावकारी बनाएर देश र जनताका हितमा काम गर्नुपर्छ । परिणामुखी बनाउनुपर्छ ।

केपी ओली पाँच वर्ष नै प्रधानमन्त्री हुने हो त ?
यो प्रश्न चाँही पार्टीले जे भन्छ त्यही हुन्छ । केपी ओली नै पाँच वर्ष प्रधानमन्त्री बन्दा मलाई कुनै आपत्ति छैन । एउटै पार्टी भएपछि टेन्सन नै भएन नि । नेपाल कम्युनिष्ट पार्टीको सरकार पाँच वर्ष चल्छ ।

कार्यकारी राष्ट्रपति बन्ने तपाईको चाहना हो ?
कार्यकारी राष्ट्रपतिको विधी राम्रो हुन्छ भन्ने हो । तर अहिले यस विषयमा बहस गर्ने समय होइन ।

अन्त्यमा, रिपोर्टस क्लबका ऋषि धमलाको पनि ठूलै नाम भइसक्यो । सबैले गम्भीर रुपले लिनुपर्ने ठाउँमा तपाई पुग्नुभएको छ । गणतन्त्रलाई संस्थागत गर्न र गणतन्त्रको उज्यालो प्रत्येक नेपालीको घरघरमा पुग्नेगरी तपाईको योगदान रहोस् ।

प्रतिक्रिया