आइतबार, असार १० २०७५ | Sun, June 24, 2018
नेपालको समय: ११:०७ | Washington DC: 01:22

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त

नयाँ दिल्ली, २२ जेठ । भारतीय हवाई सेनाको एक लडाकू विमान पश्चिम भारतीय राज्य गुजरातमा मङ्गलबार दुर्घटनामा परेको जानकारी दिइएको छ ।

भारतीय हवाई सुरक्षा बलको सो विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको रक्षा मन्त्रालयको समाचार स्रोतले मङ्गलबार जानकारी दिएको छ । जामनगर वायु शिविरबाट उडान भरेको केही मिनेटमा नै सो दुर्घटना भएको बताइएको छ । गुजरातको स्थानीय अदालतले यस दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

यस विमानमा रहेका एकजना विमान चालकको मृत्यु भएको छ । उनको नाम सञ्जय चौहान रहेको अधिकारीहरुले जनाएका छन् । यस वर्षमा भारतीय हवाई बलका विमान पटक पटक दुर्घटनामा परेका छन । गत अप्रिलमा उत्तराखण्ड राज्यमा एम १७ हेलिकोप्टर दुर्घटना भएको थियो तर यसमा सवार भएका ६ जना यात्रु नै बाँचेका थिए ।

त्यसैगरी भारतको पूर्वी राज्य उडिसामा गत मार्चमा एक विमान दुर्घटना भएको र यसमा विमान चालक घाइते भएका थिए । गत फेब्रुअरीमा भारतीय उत्तरपूर्वी राज्य असामको मजुली द्वीपमा वायु बलको एक हेलिकोप्टर दुर्घटना हुँदा दुई जना चालकको मृत्यु भएको थियो । –रासस/सिन्ह्वा

२०७५ जेठ २२ गते २१:३४ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी