बिहीबार, असोज ४ २०७५ | Thu, September 20, 2018
नेपालको समय: २०:२० | Washington DC: 10:35

सेमिनारमा दुई छाक भात खानको लागि सांसदलाई दातृ निकायको सहयोग आवश्यक छैन : शर्मा

काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले भने, ‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन ।’

उनले भने, ‘युएनडिपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आफ्नै पैसाले खाएरपनि प्रशिक्षण लिन सक्छौं ।’

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने, ‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस् ।’

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए । उनले भने, ‘व्यक्ति÷व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन् ।’ सांसदलाई अब कसैलेपनि ‘डिक्ेटट’ गर्न नपर्ने शर्माको जिकिर छ । उनले भने, ‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ ।’

दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ ।

२०७५ जेठ ३१ गते ११:२७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी