‘झमकबहादुर’ सुनकाण्डमा आधारीत फिल्म हो ‘मुम्बई एक्सप्रेस’ बाट चोरिएको होइन: निर्देशक कटुवाल

इनेप्लिज २०७५ असार २ गते १३:४१ मा प्रकाशित
काठमाडौँ: केहि समयअघि चलचित्र झमकबहादुरको ट्रेलरमा प्रयोग गरिएका अधिकांश दृश्य ‘मुम्बई एक्सप्रेस’का दृश्यसँग हुबहु मिलेको कारण विवादमा तानिएको थियो। चलचित्रको कथा चोरिएको कुरा मिडियामा आएपश्चात पहिलोपटक पत्रकारहरुसँग कुरा गर्दै चलचित्र निर्माण पक्षले यसको खण्डन गरेको छ।
श्रावण १८ देखि देशभरको सिनेमाघरमा एकैपटक प्रदर्शन हुने चलचित्र झमकबहादुर मुम्बई एक्सप्रेसको कपि नभएको चलचित्रका निर्देशक भोमन कटुवालले दावी गरेका छन। राजधानीमा केहि फिल्मी पत्रकारसँग कुरा गर्दै निर्देशक कटुवालले चलचित्र भित्र पनि चलचित्र भएको र त्यसमा गरिएको अभिनय बलिउड चलचित्र मुम्बई एक्सप्रेससँग मिल्न गएको बताएका हुन्।
चलचित्रमा अहिले नेपालमा सर्वाधिक चर्चामा रहेको सुनकाण्डमा आधारित रहेको निर्माण पक्षले जनाएको छ। चलचित्र हुबहु कपि गरिएको हल्ला मिथ्या मात्र भएको भन्दै निर्देशक कटुवालले भने, ‘मुम्बई एक्सप्रेसको सवालमा चलचित्रको एक पात्रले रिभेन्ज लिनको लागि अपहरण गरेको सिनलाई झमकबहादुरमा अभिनय मात्रै गराइएको हो।’ उनले थपे, ‘२ मिनेटको ट्रेलर हेरेर २ घन्टाको चलचित्रलाई त्यसै अरु चलचित्रसँग दाज्न मिल्दैन। ‘
मनोरंजन लिन चाहने जुनसुकै उमेर्समुहको दर्शकले हेर्न सक्ने सस्पेन्स कमेडी जनाराको चलचित्र भएको निर्देशक कटुवालले बताए। बिशुद्द नेपालीपन र नेपालमा भएका समसामयिक घटनाक्रमलाई चलचित्रमा दुरुस्तै उतारिएको समेत उनले दावी गरे। दर्शकले हलसम्म गएर चलचित्र हेर्दा पूर्ण रुपमा पैसा असुल चलचित्र बनेको भन्दै निर्देशक कटुवालले थपे, ‘पूर्ण मनोरन्जनात्मक चलचित्र बनेको छ। कुनै पनि सिनमा कम्प्रमाइज गरिएको छैन । दर्शकले चलचित्र हेरिसकेपछि हलबाट निस्कदा नेपाली चलचित्र यस्तो पनि बन्न सक्छ भनेर अचम्ममा पर्नेछन।’
‘झमकबहादुर’को रिलिज मिति आगामी श्रावण १८ लाई तोकिएको छ । कल्याण अधिकारीको कथामा बनेको यो फिल्ममा अनुपसँगै यादव देवकोटा, राजु कमेडी, सुजता थापा, मिनकुमार तामाङ, नियोना गुरुङ, राजन महर्जन, कोनिका घिमिरे लगाएत कलाकारहरु मुख्य भुमिका रहेको छ । चलचित्रको शिर्ष भूमिकामा नायक अनुप विक्रम शाही छन् ।
दियालो इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मलाई भोमन कटुवालले निर्देशन गरेका हुन् । यो फिल्मलाई मिनकुमार तामाङले निर्माण गरेका हुन् । यो फिल्ममा रञ्जित गजमेरको संगीत रहेको छ । फिल्ममा राजु किरातको एक्शन रहेको छ ।

प्रतिक्रिया